क्यानभासमा उतारियो बुद्ध र देवदहको इतिहास [तस्बिरहरू]

विनोद परियार २९ वैशाख २०८१ २१:४८
40
SHARES
क्यानभासमा उतारियो बुद्ध र देवदहको इतिहास [तस्बिरहरू]

लुम्बिनी– बौद्ध ग्रन्थहरूमा सिद्धार्थ गौतम बुद्धको मावली देवदह भनेर उल्लेख छ। बौद्ध ग्रन्थअनुसार बुद्धकी आमा मायादेवी, सानीआमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म देवदहमै भएको हो।

कोलीय गणराज्यको राजधानी देवदहलाई पवित्रस्थलका रूपमा बौद्धमार्गीले मान्दै पनि आएका छन्। पुरातात्त्विक खोजअनुसन्धानले देवदह यही हो भनेर यकिन नगरे तापनि रुपन्देहीको देवदह नै बौद्धग्रन्थमा भनिएको देवदह भएको दाबी गरिँदै आएको छ।

हो, यही देवदहको ऐतिहासिकता क्यानभासमा उतारेका छन् कलाकारहरुले। देवदह नगरपालिका ९ स्थित प्राचीन र बौद्धकालीन संरचनासमेत भेटिएको खयरडाडामा सालको फेदमुनि बसेर २४ कलाकारले बौद्धकालीन समयको झल्को दिने गरी क्यानभासमा चित्र उतारेका छन्।

२५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा ड्रिम देवदह युनिटी फर चेन्जको आयोजनामा सञ्चालित दुईदिने कार्यशालाबाट क्यानभास बुद्धमय बनेको हो।

शनिबार समापन समारोहमा पुगेका उद्योग पर्यटन तथा सहकारीमन्त्री खड्ग बस्नेतसमेत ऐतिहासिक स्थलमा बुद्ध र देवदहसँग सम्बन्धित दृश्यहरुले लोभिए।

मन्त्री बस्नेतसँगै समापन समारोहका लागि पुगेका लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपाने, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व नगरप्रमुख हीराबहादुर खत्री, वडाअध्यक्ष मोहनबहादुर जीसीलगायतले २४ जना कलाकारले क्यानभासमा उतारेका चित्र हेरे।

ऐतिहासिक स्थल खयरडाडास्थित खालको रुखमुनि झुन्ड्याएर राखिएका क्यानभासका दृश्यमा बुद्धको जीवन र परिवारसँग जोडिएका चित्र कोरिएका छन्।

‘चराचुरुंगीको आवाजसँगै देवदहको ऐतिहासिक ठाउँमा बसेर क्यानभासमा चित्र उतार्न पाउँदा छुट्टै आनन्द आयो’, कलाकार एचबी रम्तेलले भने, ‘त्यसमाथि बुद्ध र देवदहसँग सम्बन्धित थिममा चित्र कोर्न पाउनु हाम्रो लागि अवसर पनि हो।’

उनले जंगलमा बसेर क्यानभासमा चित्र बनाउने काम जीवनकै नयाँ र नौलौ अनुभव रहेको बताए। त्यसो त कलाकारहरुले क्यानभासमा चित्र उतार्ने काम त्यति नौलौ होइन। तर देवदहको ऐतिहासिकता ऐतहासिक स्थलमै आएर बनाउने कार्य आफूहरुका लागि नयाँ अनुभूतिसँगै ऐतिहासिक काम गरेको बताएका छन्।

‘देवदहमा क्यानभासमा चित्र मात्रै कोरिएन, यसले देवदहको प्रचारका लागि अभियानको सुरुवात गराएको छ’, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोविन्द चौधरीले भने।

लुम्बिनी विकास कोषले गत वर्ष जेठ १७ गतेदेखि सुरु गरी असार १५ गतेसम्म करिब एक महिनासम्म गरिएको उत्खननबाट प्राचीन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इँटा, माटोको दियो भेटिएको थियो।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको इतिहासलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए। कलाकारहरुले उतारेका ऐतिहासिक चित्रहरुले देवदह र बुद्धको जीवनलाई उतारेको उनले बताए।

दुईदिने कार्यशालाबाट बनेका २४ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह युनिटी फर चेन्जका सचिव दीपेश बस्यालले जानकारी दिए। ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सहआयोजक र लुम्बिनी विकास कोष प्रवर्धक हुन्।

 

प्रकाशित: २९ वैशाख २०८१ २१:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =