नेम्वाङ बाबुछोराले छेकेको खड्काको संसदीय बाटो

किरण पौडेल १८ वैशाख २०८१ १५:०७
198
SHARES
नेम्वाङ बाबुछोराले छेकेको खड्काको संसदीय बाटो सुहाङ नेम्वाङ, डम्बर खड्का र स्व. सुवास नेम्वाङ।

काठमाडौँ-  २०७९ सालको आम-निर्वाचनमा इलाम प्रतिनिधिसभा क्षेत्र-२ मा सुवास नेम्वाङ लड्दै गर्दा प्रतिस्पर्धी थिए, नेपाली कांग्रेसका डम्बर खड्का। नेम्वाङ र खड्काबीच तीब्र प्रतिस्पर्धा भयो। खड्का र नेम्वाङबीच जम्मा ११४ मतान्तर थियो। नेकपा एमालेका तर्फबाट चुनाव लडेका नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०६ मत मात्र ल्याए। त्यसबेला चुनावी गणनामा रोचक थियो।

कहिले खड्का अघि पर्ने त कही नेम्वाङ। मतदाताको मन अशान्त बन्थ्यो। साँघुरो जितले फेरि पनि संसद् भवन पुगे नेम्वाङ। यता खड्का भने उनको जितमा असन्तोष पोख्दै थिए। नेम्वाङले जितेको नभई ‘जिताएको’ दाबी गर्दै पुनः निर्वाचनका लागि उजुरी पनि दिएका थिए।

हालसम्म पनि उजुरीको सुनुवाइ भएको छैन। त्यसबेला खड्कालाई केही सहज पनि थियो। एकातिर पार्टी सरकार थियो भने उनीसँग चुनावी गठबन्धन थियो। उनलाई कांग्रेस मात्र नभई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको पनि समर्थन थियो। तर खड्का सफल भएनन्। तर सांसद बनेका नेम्वाङमाथि अप्रत्यासित घटना घट्यो।

सधै चुनावी मैदान जित निकाल्ने नेम्वाङले जीवनसँग भने हारे। २०८० भदौ २६ गते नेम्वाङले संसार छाडे। तिनै नेम्वाङको निधनसँगै इलाम २ ले उपनिर्वाचन खेप्नुपर्‍यो। इलामे जनताले फेरि मतदान गर्नुपर्ने भयो। इलाममा फेरि चुनावी राजनीति छायो।

यसपटक इलामको संसदीय राजनीतिमा धेरै फेरबदल थियो। मतदाता बढेका थिए भने प्रतिस्पर्धी फेरिएका थिए। सधै दुई पक्षीय भिडन्त हुने इलाममा यसपटक त्रिपक्षीय र चारपक्षीय भिडन्त थियो। तर कांग्रेसका उम्मेदवार भने पुरानै थिए।

२०७९ सालमा नेम्वाङसँगै हारेका खड्का यसपटक पनि मैदानमा थिए। रोचक के थियो भने, गएको चुनावमा बाबु सुवास नेम्वाङसँग भिडेका खड्का यसपटकमा सुवासका छोरा सुहाङसँगै भिड्दै थिए। खड्काका लागि केही सहज र केही असहज वातावरण यसपटक थियो। उनीसँग प्रतिस्पर्धामा हेविवेट नेता यसपटक थिएनन्।

उनको पुरानो प्रतिस्पर्धी एमाले पनि जातीय, पहिचान र प्रादेशिक विवादले बाधिएको थियो। ‘यसपटक पहिलेजस्तो वातावरण छैन। सहज हुने बुझेको छु,’ खड्काले भनेका थिए। यिनै कुरालाई खड्काले एजेन्डा बनाए। उनले आफू पहिचानपक्षधर दरिन कोशी प्रदेश नभन्ने दाबी गरे। प्रदेश १ को नाम कोशी राखेसँगै पहिचानवादीहरू आन्दोलित बनेका थिए।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले राखेको कोशी नामकै कारण जनजातिमा तीव्र आक्रोश थियो। यही कारण उनीहरू मोर्चाबन्दी गर्ने पक्षमा थिए। यही आक्रोशलाई समाउने दाउमा खड्का पनि पहिचानको पक्षधर बने। उनले कोशीका सबै कांग्रेस सभापतिलाई इलाम बोलाएर भाषण गर्न लगाए।

‘कोशीमा पहिचान भेटिँदैन। पहिचानकै नाम राख्नुपर्छ,’ खड्का भन्थे। खड्काका लागि केही चुनौती अवश्य थिए। उनीसँग २०७९ सालमा बनेको गठबन्धन अहिले विपक्षमा पुगेको थियो। कांग्रेस सत्ता छाडेर प्रतिपक्षमा पुगेको थियो। जिल्लामा पनि एमालेले गठबन्धन गर्दा खड्का एक्लिएका थिए। तर पनि खड्का चुनाव जित्ने दाबीसहित तयारीमा लागे।

खड्काको ह्याट्रिक हार

गएको फागुन ७ देखि १० सम्म चलेको नेपाली कांग्रेसको महासमिति बैठककै बेला खड्काले इलामका टिकटको कुरा सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याएका थिए। खड्काकै भनाइलाई पत्याउने हो भने देउवाले उनलाई नै टिकट दिने बाचा गरेका थिए।

‘एकपटक हार्दैमा टिकट नदिने भन्ने हुन्न। पहिले पनि धेरै उदाहरण छन्। दोस्रो होइन तेस्रो पटक मात्र जितेका उदाहरण पनि छन्,’ खड्काले महासमितिको बैठक सकेर इलाम जाँदै गर्दा हिमाल प्रेससँग फोनमा भनेका थिए,‘एककिसिमले टिकटका लागि आशावादी छु।’

खड्का पार्टी सभापति देउवा गुटकै नेता हुन्। यसै पनि अरूलाई भन्दा खड्कालाई टिकटका लागि सहज थियो। त्यसमा पनि खड्का इलाम कांग्रेसको जिल्ला सभापति।। जिल्लामा सबैभन्दा माथि हात उनकै पुग्यो। खड्कासँगै टिकटका लागि पुरानै अनुहार आकांक्षी देखिए। भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाललगायत। आचार्य खड्कासँगै पार्टी सभापतिमा हारेका नेता हुन्। उनी पार्टीको इतरपक्ष एवं नेता डा. शेखर कोइराला गुटका  हुन्।

थापा सभापति देउवा पक्षधर हुन् र इलामका पूर्वसभापति पनि। पटपटक सांसद चुनिएका नेतामा थापा पर्छन्। यता नगेन्द्र कुमाल भने खास जनाधार नभएका नेतामा पर्छन्। तर उनी जनजाति पृष्ठभूमिका भएकाले पनि दाबी गर्दै आएका थिए। यसपटकको चुनाव लड्न टिकटका लागि इलाममा भन्दा पनि काठमाडौँ सकस भयो। पार्टी सभापति देउवाले खड्काको अडान कायम राख्दा महामन्त्रीद्वय गगन थापा आकांक्षी भेषराज आचार्यको नाम लिन्थे।

अन्ततः गत चैत २२ गते देउवाले उम्मेदवारका आकांक्षी सबैलाई बोलाएर खड्कालाई टिकट थमाए। खड्का इलामका लागि चिनिएका नेता हुन्। गएको २०७९ सालमा सोही क्षेत्रमा हार्नुभन्दा पहिले २०७४ सालमा सोही क्षेत्रको प्रदेश (क)मा उठेका थिए। खड्का तत्कालीन एमाले पार्टी जिल्ला कमिटी अध्यक्ष राम रानासँग हारेका थिए। यसपटक पनि हार्दा खड्काले हारमै ह्याट्रिक गरे। हालसम्म कांग्रेसले आधिकारिक रूपमा हारको कारण भनेका त छैन तर, भित्रभित्रै समीक्षा भइरहेको छ। गुटको राजनीतिले हार दोहोरियो।

किन हारे त खड्का?

कांग्रेसले चुनाव हार्नुको कारण पछि समीक्षा गर्ने बताएको छ। तर नेताहरूले भने अहिले नै केही विश्लेषण गरिसकेका छन्। कांग्रेस जिल्ला सचिव निरोज खड्गी चुनाव हार्नुका पछाडि ३ वटा कारण रहेको सुनाउँछन्। मुढा र घण्टीमा गएको मत कांग्रेसले जोगाउन नसक्नु, टिकट वितरणमा ढिलासुस्ती र केन्द्रीय गठबन्धन नहुनु। खड्गीका अनुसार यसपटक कांग्रेसको मत मुढा र घण्टीमा गएकै कारण पार्टीले पराजय भोगेको सुनाउँछन्।

यहाँ पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम र रास्वपाबाट मिलन लिम्बु उठेका थिए। त्यतापट्टि ढल्किएका कार्यकर्तालाई फर्काउन नसक्नु नै कमजोरी भएको खड्गीको बुझाइ छ। खड्गीले टिकट वितरणमा ढिला भएकाले जनतामा पुग्न नसकिएको बताउँछन्।

‘चैतको पनि २२ मा मात्रै टिकट वितरण गरियो। सबैतिर पुग्नै सकिएन,’ खड्गी सुनाउँछन्। केन्द्रीय समीकरण बदलिँदा कांग्रेस एक्लिएको खड्गीको ठम्याइ छ। उनले थपे-गएको चुनावमा गठबन्धन थियो। तर अहिले गठबन्धन परिवर्तन भयो।’ उनी सहरी क्षेत्रमा घण्टीले कांग्रेसको मत लगेको र ग्रामीण भेगमा स्वतन्त्र उम्मेदवार थेगिम ‘मुढा’ले तानेको बताउँछन्। यस्तै कांग्रेसबाटै ‘अन्तर्घात’ भएको बुझाइ कांग्रेसको छ।

‘यसअघि कांग्रेसले जित्दै आएको वडामा पनि कांग्रेस तेस्रो भएको छ,’ कांग्रेसका एक नेताले भने, ‘यसमा अन्तर्घात भएकै देखिन्छ। हामीले जितेको चुलाचुली गाउँपालिका र इलाम नगरपालिकाका वडामा पनि अपेक्षाअनुसारको मत आएन।’

प्रकाशित: १८ वैशाख २०८१ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =