माइतीघरबाट जिल्ला जिल्ला पुग्यो बालविकास शिक्षाको आन्दोलन

हिमाल प्रेस ७ जेठ २०८१ १७:५७
2.7k
SHARES
माइतीघरबाट जिल्ला जिल्ला पुग्यो बालविकास शिक्षाको आन्दोलन

काठमाडौँ– प्रारम्भिक बालविकास शिक्षा र त्यसमा कार्यरत सहजकर्ताका विषयमा बहस सुरु भएको छ। केही वर्षसम्म ओझेलमा परेको यो विषय अहिले सञ्चारमाध्यमदेखि राजनीतिक दलले समेत उठान गरेका छन्।

विशेषगरी संसदमा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का सेवासुविधामा मात्र सांसदले विषय उठाउथे भने अहिले बालविकास शिक्षा सुधारको हुनुपर्ने बताइएको छ।

नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हप्तादिनदेखि माइतीघर मण्डलामा उभिएर धर्ना दिइरहेका छन्। उनले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ जेठ २ गतेदेखि एकल धर्ना सुरु गरेका हुन्।

धर्नाको पाँचौँ दिनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ अध्यक्ष चापागाईंलाई भेट्न पुगेकी थिइन्। शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन्। उनकाे भनाइ थियाे, ‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्त्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ।’

चापागाईंले ईसीडी तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन्। चापागाईंले जारी राखेको आन्दोलनमा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको छ।

‘महत्त्वपूर्ण मागसहितको आन्दोलनलाई नेपाल बालविकास संघर्ष समिति केन्द्रका तर्फबाट सफलताको शुभकामनासहित पूर्ण एक्यवद्धता व्यक्त गर्दछौँँ’, समितिकी अध्यक्ष कृष्णाकुमारी थापामगरले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष थापाले बालविकासमा कार्यरत ७७ जिल्लाका बालविकास शिक्षकहरूलाई २ बजेपछि आफ्नो विद्यालयमा आधा घण्टा उभिएर धर्ना दिन निर्देशन दिएकी छन्। जसअनुसार मोरङ, बाँके, झापा, स्याङ्जालगायत देशभरका ईसीडी शिक्षकले धर्ना दिएका छन्।

युनियनले आज (जेठ ७ गते) बालविकास शिक्षा सुधारका लागि सडक बहस पनि गरेको छ। शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, नेता मिलन पाण्डे, बालविकास विज्ञ मीनाक्षी दाहाल, नेता जिएस गुरुङ, धर्नाकर्ता नेत्र चापागाईं, बालविकास शिक्षक ज्ञानुमाया भट्टराईले वक्ताको रूपमा बोल्दै बालविकास शिक्षामा समस्यै समस्या रहेकाे र समाधानका लागि तीन तहकै सरकार लाग्नुपर्ने बताए।

प्रकाशित: ७ जेठ २०८१ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =