पाकिस्तान : सेना, सरिफ र इमरान

प्रविण बिक्रम कटवाल २ फागुन २०८० २१:१२
20
SHARES
पाकिस्तान : सेना, सरिफ र इमरान

काठमाडौँ- सन् १९५२ मा कुलीन परिवारमा जन्मिएका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढे। सन् १९८२ मा पाकिस्तानी क्रिकेट टिमको कप्तान बनेका उनी १० वर्षपछि विश्वकप विजेता बने। क्रिकेट छाडेपछि परोपकारी कार्यमा लागे। आमाको नाममा क्यान्सर अस्पताल खोले। जहाँ आज पनि क्यान्सरको सित्तैँमा उपचार हुन्छ।

सन् १९९६ मा भने उनी राजनीतिमा होमिए, पाकिस्तान तेहरिक ए इन्सफा पार्टी (पीटीआई) खोलेर। चार वर्षपछिको आमनिर्वाचनमा पीटीआईले एक सिट जित्यो। सांसद बने इमरान। लामो समय उनलाई पाकिस्तानी राजनीतिमा गनिएन।

इमरान खानलाई त्यतिबेलाबाट पत्याउन थालियो, जतिबेलाबाट उनले राष्ट्रवादी छवि बनाउन सके। उनलाई राजनीतिमा दह्रोसँग उभ्याएको आन्दोलनले पनि हो, विशेषगरी सन् २०१२ को अमेरिकाविरोधी आन्दोलनले। त्यसबखत इमरान आफ्ना हजारौँ कार्यकर्तासँगै अफगानिस्तानसँग जोडिएका उत्तरी तथा पश्चिमी क्षेत्रमा पुगेका थिए। आन्दोलनको माग थियो, अमेरिकाले पाकिस्तानी भूमिमा जारी राखेको ड्रोन हमला बन्द गरिनुपर्ने। हमला तालिबानलक्षित भए पनि मारिनेमा धेरैजसो पाकिस्तानी नागरिक हुने गरेका थिए।

उसो त इरमानको राजनीतिक छवि लाहोरको त्यो आमसभाले पनि ह्वात्तै बढाएको हो। सन् २००२ मा एक सिट जितेको र २००८ को निर्वाचनमा भाग नलिएको पीटीआईले लाहोरमा आमसभा गर्दा झन्डै एक लाख मान्छे भेला भएको बताइन्छ (कति सञ्चारमाध्यमले ७५ हजार पनि लेखेका छन्)। यत्तिको ठूलो भीड देखेपछि इमरान गर्जिए, ‘अब पाकिस्तानमा नयाँ चरणको राजनीतिक क्रान्ति हुन्छ।’

लाहोरको सभाले इमरान खानको रानीतिक उचाइ बढायो। पन्जाबको राजधानीसमेत रहेको यो सहरमा इमरानले ५० हजार मान्छे भेला गरे पदबाट राजीनामा दिन्छु भनेर भनेका थिए, पन्जाबका तत्कालीन काुनन मन्त्रीले। आमसभमा सकिएपछि पाकिस्तानको प्रख्यात अखबार द एक्सप्रेस ट्रिब्युनले त लेख्यो नै, ‘ती मन्त्री वचनको पक्का हुन् भने राजीनामा दिनुपर्छ।’

त्यसबखत धेरै लेख र सम्पादकीय लेखिए, इमरानको उदयबारे। कतिले त उनलाई जुुल्फिकर अली भुट्टोसँग पनि दाँजे। सन् १९६७ मा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) खोलेर तीन वर्षपछिको निर्वाचनमा ‘क्लिनस्विप’ गर्ने भुट्टोसँग एकसिटे इमरानलाई दाँज्ने बेला भएको छैन है, भनेर भन्ने पनि देखा परे। तर पीटीआई ठूलो बन्ने बाटोमा लागिसकेको थियो। फलतः सन् २०१३ को निर्वाचनमा तेस्रो भएको इमरानको पीटीआई २०१८ मा पुग्दा पाकिस्तानको ठूलो सबैभन्दा ठूलो पार्टी बन्यो।

पाकिस्तानमा सबैभन्दा ठूलो समुदाय हो, पन्जाबी। झन्डैले आधा जनसंख्या यही समुदायले ओगट्छ। त्यसपछि धेरै जनसंख्या पास्तुनको छ। इमरान यही पास्तुन समुदायका प्रतिनिधि हुन्। जसलाई केवल पास्तुनले मात्र होइन, पन्जाबी र सिन्धी समुदायको ठूलो हिस्साले मन पराएको देखिएको थियो। यो स्नेह अहिले पनि कायम छ। इमरान कहिल्यै पास्तुनको मात्र नेता बन्न खोजेनन्। जब कि पास्तुन बहुमत तालिबानसँग वार्ता गरेर अफगान युद्ध टुंग्याउनुपर्ने अभिव्यक्ति पटकपटक दिए। तर उनको यो अडान वैचारिक थियो। अमेरिकाको युद्ध लडेर पाकिस्तानले आफ्ना नागरिक किन गुमाउने? इमरान सधैँ यसो भन्थे। अफगानिस्तानको युद्धमा पाकिस्तानी अप्रत्यक्ष संलग्नता चित्त नबुझाउने उनी युद्धका कारण पाकिस्तानलाई जनधनको ठूलो क्षति पुगेकोमा खरो असन्तुष्टि जाहेर गर्थे।

पाकिस्तान स्वतन्त्र देश बनेको ७७ वर्ष भयो। यस बीचमा सेनाले लगभग ३४ वर्ष सत्ता चलायो, चार फरकफरक कालखण्डमा। बाँकी समय पाकिस्तान ‘हाइब्रिड’ मोडलमा चल्यो। यो यस्तो मोडल हो, जहाँ चुनावबाट आएका सरकार पनि सेनाको समर्थनबेगर चल्न सक्दैन। यो मोडलमा धेरैजसो समय सरकार दुई परिवारको कब्जामा रह्यो, भुट्टो र सरिफ। सेनाले एक परिवारको साथमा अर्को परिवारको सरकार हटाउने गरिरह्यो। यी दुई परिवारको वर्चस्व अन्त्य गर्ने नेता इमरान मात्र हुन्।

सन् २०१६ को पानामा पेपरले जगत् हल्लायो। पाकिस्तान किन बच्थ्यो र? तत्कालीन प्रधानमन्त्री नवाज सरिफ र उनको परिवारले विदेशी भूमिमा सम्पत्ति थुपारेको ‘खुलासा’ भयो। जुलाई २८, २०१७ मा पाकिस्तानको सर्वोच्च अदालतले सरिफ सांसद र प्रधानमन्त्री रहिरहन नसक्ने ठहर गर्‍यो। एक वर्षपछि उनलाई पाकिस्तानी राजनीतिबाट प्रतिबन्ध लगाइयो। त्यही वर्ष उनलाई १० वर्षको कैद फैसला सुनाइयो।

यही कारण सरिफले प्रधानमन्त्री पदबाट अन्ततः जुलाई २०१७ मा राजीनामा दिए। पछि उनीमाथि साउदी अरबमा बिनास्रोतको लगानीबाट स्टिल मिल चलाएको मुद्दा पनि लाग्यो।
उनको स्थानमा साहिद खाकन अब्बासीलाई प्रधानमन्त्री बनाइयो। पीएमएल-एनकै नेता उनी करिब एक वर्ष प्रधानमन्त्रीका रूपमा रहे।

यो निर्वाचन, ती निर्वाचन

यसपालिको पाकिस्तानी आमनिर्वाचनअघि, मतदान जारी रहँदा र मतगणना सकिएपछि सुनिएको बलियो धारणा हो, निर्वाचन निष्पक्ष भएन। ठ्याक्कै यस्तै आरोप, यसअघिको निर्वाचनमा पनि लगाइएको थियो। रोचक के छ भने सत्तारुढ दलले नै यस्तो आरोप लगाएको थियो। सेनाले इमरान खान र उनको पार्टी पीटीआईलाई जिताउन चाहेको र त्यहीअनुसार निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाइयो।

पीएमएल-एनका मुख्य नेता नवाज जेलमा थिए। चुनावी कमान्ड उनका भाइ सेहबाजले सम्हाले। निर्वाचनअघि गरिएका सर्वेक्षणले पीएमएल-एनलाई सम्भावित विजेताका रूपमा प्रस्तुत गरिरहेका थिए। आखिरमा पहिलो पार्टी बन्यो, पीटीआई। यद्यपि बहुमत ल्याउन सकेन।

कुरा सन् १९३० दशकको हो। लाहोरमा नवाज सरिफका पिताले स्टिल उद्योग खोले। त्यसबेला कमै मुस्लिम व्यापारमा थिए। स्टिल व्यवसाय भर्खर फस्टाउँदै थियो। सन् १९४७ सम्म आइपुग्दा सरिफ परिवार व्यापारमा स्थापित भयो। धनाढ्य परिवारमा गनिन थाल्यो।

सरिफहरूका लागि समय किन सधैँ उस्तै हुन्थ्यो र? तत्कालीन प्रधानमन्त्री जुल्फिकर अली भुट्टोले सरिफको स्टिल उद्योगहरूलाई राष्ट्रियकरण गरिदिए। सरिफ परिवारले अनेक प्रयास गर्‍यो, राष्ट्रियकरण भएका उद्योग र अन्य व्यापार फिर्ता गरिएन।

त्यसपछि नवाज सरिफ राजनीतिमा होमिए। पूर्वराष्ट्रपति तथा सेना प्रमुख आयुब खानले स्थापना गरेको पाकिस्तान मुस्लिम लिगसँग आबद्ध भए। पन्जाब र लाहोरमा उनको पारिवारिक जग छँदै थियो।

जुलाई, १९७७ मा भुट्टोको शासन सकियो। जिया उल हकले सैन्य शासन लागू गरे। नवाज सरिफलाई पन्जाबको अर्थमन्त्री बनाइयो। नवाज त्यसपछि पन्जाबको मुख्यमन्त्री पनि बने, त्यो पनि लगातार दुई पटक। यो सन् १९८० को दशकको कुरा हो। जियासँग नजिक थिए, आफ्ना उद्योग फिर्ता गराए। सरकारी उद्योग पनि निजीकरण गराए।

जिया पाकिस्तानमा भुट्टो परिवारलाई चुनौती दिनसक्ने नेता उत्पादन गर्न चाहन्थे। यस्तोमा नवाजले समर्थन पाउँदै गए। इस्लामी जमहोरी इत्तिहाद पार्टीबाट निर्वाचन लडेका उनी नोभेम्बर, १९९० मा प्रधानमन्त्री बने। जुल्फिकरकी छोरी बेनजिर भुट्टो लोकप्रिय रहेका बेला नवाजले कैयौँ साना पार्टीको समर्थनमा चुनाव जितेका थिए।

नवाज धेरै समय शक्तिमा टिक्न सकेनन्। गठबन्धनभित्रै फाटो आउन थाल्यो। सेनासँग दूरी बढ्न थाल्यो। अन्ततः १९९३ मा नवाजको सरकार ढल्यो। नवाज चार वर्षपछि सत्तामा फर्किए। उनी दोस्रो पटक प्रधानमन्त्री बन्दा पाकिस्तानले आणविक परीक्षण गर्‍यो। उनकै पालामा भारतविरुद्ध कार्गिल युद्ध भयो।

सन् १९९९ मा नवाज दोस्रो पटक अपदस्थ भए। नवाजलाई हटाएर परबेज मुसरफले सैन्य शासन लागू गरे। नवाज पाकिस्तानमा टिक्न सकेनन्। सन् २००० मा परिवारसाथ साउदी अरब निर्वासनमा गए। उनलाई १० वर्षसम्म पाकिस्तान फर्कन दिइएन। सन् २००८ मा उनी पाकिस्तान फर्किए। उनको पार्टीलाई आमनिर्वाचनमा भिड्ने अनुमति दिइयो।

निर्वाचनमा नवाजको पार्टी दोस्रो बन्यो। पीपीपीसँग मिलेर सरकारमा गयो तर सरकार केही महिना मात्र टिक्यो। त्यसपछि नवाज सडक संघर्षमा गए। सन् २०१३ को निर्वाचनमा नवाजले पुनरागमन गरे। यो निर्वाचनमा नवाजले कसरी सफलता हासिल गरे? इमरान खान आजको दिनसम्म पनि नवाजले सेनाको सहयोगका कारण चुनाव जितेको आरोप लगाउँछन्।

यो आरोप कति सत्य छ? बहसको विषय हो। तर इमरान किन पनि यस्तो आरोप लगाउँछन् भने उनी त्यो निर्वाचनमा बढी नै आत्मविश्वासी थिए। यसको कारण थियो, पाकिस्तानको उच्च वर्गको रोजाइ बन्नु। पश्चिमा जगत्को समर्थन पाउनु। जबकि नवाजलाई पन्जाबले बचायो। जहाँ उनले मत माग्दा भनेका थिए, ‘मैले पाकिस्तानलाई आणविक बम र दक्षिण एसियाकै पहिलो मोटर वे दिए। मलाई तपाईँहरूले किन मत नदिने?’ उनको पालामा योजना बन्न सुरु भएको लाहोर-इस्लामाबाद मोटर वे लाई दक्षिण एसियाकै पहिलो मानिन्छ।

सबैभन्दा धेरै सिट भएको पन्जाबमा नवाजको दल पहिलो बन्यो। नवाजलाई सघाउन तत्कालीन सेना प्रमुख कमार बाज्वाले सक्रियता नदेखाए पनि पन्जाबका रहेका अरू सैन्य नेतृत्वकर्ताले नवाजलाई सघाएको इमरानको आरोप थियो।

सन् २०१३ को निर्वाचन नवाजको पार्टीले जित्ने अनुमान गर्नेको संख्या धेरै थियो। तर जसरी जिते, त्यसको भने अनुमान थिए। उनको पार्टीले १६६ सिट ल्याउँदा पीपीपीले ४२ सिट पाएको थियो। इमरान खानको पार्टी पीटीआई भने ३५ सिटमा खुम्चिएको थियो।

चुनावको नतिजाले रन्थनिएका इमरान खानले आन्दोलनको घोषणा गरे। नवाजले धाँधली गरेर चुनाव जितेको आरोपमा मात्र यो आन्दोलन थेगिएको थिएन। बरु जासुसी निकाय आईएसएसले यो आन्दोलन गराएको मान्नेहरू धेरै छन्। भारतसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको नवाज सरकारलाई दबाबमा राख्न यो आन्दोलन गराएको विश्लेषण त्यसबेला गरिन्थ्यो।

तेस्रोपटक प्रधानमन्त्री भएकै बेला चीनसँगको आर्थिक करिडोर सुरु गरेका नवाज अन्ततः पानामा पेपरको आधारमा लगाइएका आरोपका कारण सत्ताबाहिर पुगे।

युगको अन्त्य

सन् २०१८ को आमनिर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेपछि पीटीआईको निष्कर्ष थियो, अब पाकिस्तानका एउटा युगको अन्त्य भएको छ। किनभने पाकिस्तानमा पहिलोपटक सरिफ, भुट्टो वा सेनाभन्दा बाहिरबाट कोही प्रधानमन्त्री बन्दै थियो।

इस्लामाबादमा मतदान गरेपछि इमरानले यो निर्वाचन पाकिस्तानको इतिहासकै सर्वाधिक महत्त्वपूर्ण भनेका थिए। ‘यो एउटा अवसर हो, ती दुई पार्टीलाई पन्छाउने। जसले सधैँ पाकिस्तानीमाथि शासन चलाएका छन्,’ इमरानको भनाइ थियो।

पीटीआईको यस्तो निष्कर्ष नवाज सरिफले स्वीकार गरेनन्। निर्वाचनको दुई साताअघि १० वर्षका लागि जेल परेका उनीसँग पुरानै तर्क थियो, यो निर्वाचनमा धाँधली भयो। उनी मात्र होइन, चुनावमा पछि परेको अर्को दल पीपीपीको आरोप थियो, सेनाले धाँधली गर्‍यो।

पाकिस्तानमा हरेक पटक निर्वाचन हारेपछि भनिने यही हो, सेनाले धाँधली गर्‍यो। यसबारे स्वतन्त्र रूपमा अध्ययन हुने गरेको देखिँदैन। यद्यपि इमरानले अध्ययन गर्ने भए आफ्नो सहयोग रहने बताएका थिए। त्यसबेला निर्वाचन पर्यवेक्षण गरेको ईयू (युरोपियन युनियन) को टोलीले निर्वाचनमा सहभागी सबै दलले बराबर प्रचार मौका नपाएको, निर्वाचन प्रक्रिया पहिले जस्तो सङ्लो नभएको निष्कर्ष निकालेको थियो।

‘सत्तारुढ दलहरुलाई निर्वाचनमा पछाडि धकेल्न प्रक्रियागत प्रयास भएको देखियो। धेरै उम्मेदवारलाई भ्रष्टाचार, अदालतको मानहानी र आतंकवादको मुद्दामा हालिएको छ,’ ईयूले भनेको थियो। यद्यपि मतदानको दिन सेनाको हस्तक्षेप भने नदेखिएको उसको भनाइ थियो।

इमरान र सेनाबीचको सम्बन्ध

मुसरफको सैन्य शासन सकिएपछि पीएमएल-एन र पीपीपीले पालैपालो सत्ता चलाए। यो बीचमा पाकिस्तानमा पीएमएल-एन र पीपीपीविरोधी जमात तयार भयो। जो यी दुई पार्टीको पालामा खस्किएको अर्थतन्त्र, बढ्दो बेरोजगारी, नरोकिएको आतंकवादी गतिविधिलगायतका कारण निरा थिए। राजनीतिक करियरको सुरुवातमा उच्च वर्गीयको ध्यानाकृष्ट गरेका इमरानले बिस्तारै पीएमएल-एन र पीपीपी विरोधी मध्यम र निम्नवर्गीयको साथ पाए।

कुलीन घरमा जन्मिएकाले गरिबीका कारण दैनिक व्यावधान खप्नु नपरेको इमरानले गरिबी निवारणका कुरा गर्दा पत्याइयो। उनी यस्तो बेला प्रधानमन्त्री बनेका थिए जतिबेला पाकिस्तानलाई दोहोरो अंकको महँगीले गाँज्न थालेको थियो। अहिले त महँगी ३० प्रतिशत पुगेको बताइन्छ।

विपक्षीको दबाब बढ्दै जाँदा इमरानले केही पपुलिस्ट निर्णय गरे। तेल तथा बिजुली महसुल घटाए। जबकि विश्व बजारमा ऊर्जाको भाउ उकालो लाग्दै थियो। यसले पाकिस्तानको समग्र व्यापार घाटा बढायो। त्यहाँको मुद्रा इतिहासमै सबैभन्दा कमजोर बन्यो। पूर्ववर्ती सरकारले देशको अर्थतन्त्र ठिकठाक स्थितिमा नछाड्नु र कोभिड महामारीको प्रभाव गहिरो हुनुले पनि इमरानलाई लगातार अप्ठ्यारोमा जाक्दै गयो।

अर्थतन्त्र खस्किँदै जानुको पीडा छँदै थियो, संसद्‌मा गठबन्धनका दुई दलले इमरानको साथ छाडिदिए। भलै ती दल साना थिए। बढिरहेको महँगी र बेरोजगारी जस्ता मुद्दालाई विपक्षीले एजेन्डा बनाए। विपक्षीको दबाब चर्किँदै जाँदा, सेना भने तटस्थ बस्यो। जब आफूले ल्याएको सरकार अप्ठ्यारोमा पर्छ पाकिस्तानी सेना तटस्थ रहने गर्छ।

उसो त सेनाको सहयोगमा निरन्तरता नदेखिएको इमरानको पालामा मात्र होइन। इमरानसँग सेना रिसाउनुका केही कारण छन्। पहिलो, अर्थतन्त्र सम्हाल्न नसक्नु। सेनाको सहयोगमा बनेको सरकारका कारण नागरिकले दुःख पाए भन्ने सन्देश गइरहेको अवस्थामा सेना किन इमरानको पक्षमा उभिरहन्थ्यो र?

आईएसआई प्रमुख चुन्ने विषयमा पनि सेना र इमरानको दूरी बढेको हो। तीन वर्षका लागि आईएसआईको प्रमुख बनेका असिम मुनिर आठ महिनामै हटाइए। हाल सेना प्रमुख रहेका मुनिरलाई त्यसबेला हटाउन इमरानले पहल गरेको बताइन्छ। त्यसपछि इमरानले आफू नजिकका फैज हमिदलाई आईएसआई प्रमुख बनाए। कार्यकाल सकिएपछि पनि उनैलाई निरन्तरता दिन खोजे। जसले गर्दा तत्कालीन सेना प्रमुख कमार बाज्वासँग सम्बन्ध बिग्रियो।

इमरान र पाकिस्तानी सेनाबीच विदेश नीतिको मामलामा पनि टकराव भयो। पाकिस्तानी सेना अमेरिकासँगको सम्बन्ध सन्तुलित बनाउन चाहन्थ्यो। सधैँ अमेरिकाविरोधी देखिएका इमरानले चीनसँगै रुससँग थप नजिकिन चाहन्थे। सबै शक्तिसँग उस्तै सम्बन्ध राख्ने भन्दै उनी रुस हानिए। युक्रेन हमलाको केही दिनअघि मात्र इमरान रुस पुगेका थिए।

मस्को भ्रमणमा सेनाको आपत्ति नभए पनि अमेरिकाले आफूलाई हटाउन प्रपञ्च रच्दैछ भन्ने इमरानको अभिव्यक्तिले समस्या खडा भयो। अमेरिकाले आफूलाई हटाउन षड्यन्त्र गर्दै पाकिस्तान पठाएको पत्र भन्दै इमरानले एउटा कागज आमसभामा देखाए। संसद्‌मा अविश्वासको प्रस्ताव सामना गरिरहेका इमरानको यो तरिकाले सेना झनै रिसाएको अनुमान लगाइएको थियो।

सत्ताबाट बाहिरिँदै गर्दा सेनाको चर्को आलोचना गरेका इमरान अहिले पनि त्यही मुडमा छन्। उनको कार्यकतामा पनि यही बुझाइ छ, सेना पीटीआईलाई रोक्न चाहन्छ। सेनाविरुद्ध पीटीआई समर्थकको आक्रोश गत मे ९ मा चरम उत्कर्षमा पुगेको थियो। भ्रष्टाचारको मुद्धामा इस्लामाबाद अदालत परिसरबाट इमरान पक्राउ परेपछि पीटीआईका कायर्कताले देशव्यापी आन्दोलन गरेका थिए।

आन्दोलन यति उत्तेजित बन्यो कि प्रहरी मात्र होइन सेनालाई पनि निसानामा पारियो। सरकारी भवन र साधन आगजानी गरेको भीडले लाहोरस्थित सेनाका लेफ्टिनेन्ट जेनरलको निवासमा पनि आगजानी गरेको थियो। रावलपिन्डीस्थित सेनाको मुख्यालयअगाडि पनि प्रदर्शन गरियो। आन्दोलनकारीको सेनाप्रति लक्षित यस्तो आक्रोश पाकिस्तानमा नौलो घटना हो। त्यहाँको अखबार डनले सम्पादकीयमै सेनाप्रति आमनागरिकको आक्रोश बढ्दो भनेर लेखेको थियो।

आन्दोलनपछि सेना र इमरानबीचको दूरी झनै बढेको छ। यो निर्वाचनमा उनी र उनको पार्टीलाई निस्तेज पार्न अनेक गरिएको थियो। जेजे गरियो, सेनाकै योजनामुताबिक गरिएकोे बताइँदैछ। अनेकौँ मुद्दामा जेल हालिएका इमरानलाई कतिपय स्थितिमा वकिल राख्नसमेत दिइएको होइन। न्यायाधीशले इमरानका पक्षमा वकालत गर्न सरकारी वकिल खटाइदिएको अमेरिकी म्यागजिन टाइमले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

पाकिस्तानमा यो निर्वाचनअघि पीटीआईका मुख्य नेताहरूलाई थुन्ने, पार्टी छाड्न बाध्य बनाउने, चुनाव चिह्न नै खोस्ने, विपक्षी पार्टीहरूलाई सहयोग पुग्नेगरी निर्वाचन क्षेत्रको नक्सांकन गर्ने आदि गरिएको थियो। पटकपटक इमरानसँग आमनेसामने भएका मुनिर हाल पाकिस्तानी सेनाको प्रमुख छन्, जसलाई पीएमएल-एन सरकारले त्यो पदमा पदोन्नति गरेका हुन्। उनै मुनिरले नवाजलाई निर्वासनबाट पाकिस्तान फर्कने वातावरण मिलाइदिएको र आजीवन प्रतिबन्ध फुकुवा गरिदिएको टाइमको दाबी छ।

पाकिस्तानको इतिहासमा कुनै प्रधानमन्त्रीले पूरा कार्यकाल सरकार चलाउन पाएका छैनन्। गठबन्धन र सेनाको बलमा फेरि प्रधानमन्त्री बने नवाज कति टिक्लान्? २३ पटक अन्तर्राष्ट्रिय मुद्रा कोषले उद्धार गरिदिएको पाकिस्तानी अर्थतन्त्र सम्हाल्न नसके नवाजलाई सेनाले बोकिरहला? उनी भुइँमा पछारिएको दिन सेनाको रोजाइ को होला? फेरि इमरान? यी तमाम प्रश्न अनुत्तरित छन्, केही समयका लागि अनुत्तरित नै रहनेछन्।

प्रकाशित: २ फागुन २०८० २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =