बजेटमा मधेशलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस २२ वैशाख २०८१ १७:४०
18
SHARES
बजेटमा मधेशलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता नेकपा माओवादी केन्द्र सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड।’ तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

सर्लाही– प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन्।

नेकपा माओवादी केन्द्र सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा शनिबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेशी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे।

मिटरब्याज पीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेशको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेश प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मधेशका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए।

तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेशको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेशमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ।’

मधेशका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका मुक्तिका लागि संघर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गरे।

‘आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ’

देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए। प्रधानमन्त्री प्रचण्डले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =