मान्छेको जीवन वरको रूखजस्तै…

अन्जु न्यौपाने २२ वैशाख २०८१ १८:४५
224
SHARES
मान्छेको जीवन वरको रूखजस्तै…

सधैँझैँ आज पनि त्यही सानो वनमा रहेको सडकको किनारमा स्कुटी रोकिन् अञ्जलीले। स्कुटीबाट ओर्लिएर वनभित्र अलिकति छिरिन्। त्यहाँ एउटा ठूलो वरको रूख वर्षौदेखि उभिइरहेको थियो। मानिसहरूले त्यसको वरिपरि ढुंगाको चौतारो बनाइदिएका थिए। केही मानिसले त्यस वरको रूखको पूजा गर्ने गरेकाले त्यसमा लागेका अबिर, केशरी र विभिन्न ध्वजा-पताकाहरूले दर्शाइरहेका थिए। तर अञ्जलीले त्यसमा कहिल्यै पूजा गरिनन्। पूजा नगरे पनि ती पूजा गर्ने मानिसभन्दा धेरैपटक उनी त्यहाँ पुग्थिन्। धेरैजस्तो हरेक दिन नै।

आज पनि उनले चौतारोको फेदमा आफ्नो चप्पल फुकालिन् र चौतारोमाथि चढेर गम्ल्यांग अँगालो हालिन् वरको रूखलाई। मानौँ, उनीहरू वर्षौंदेखिका साथी हुन् र वरको रूख अञ्जलीको प्राण नै हो।

‘आज पनि धन्यवाद, मेरो प्रिय वर! तिमीलाई म आफ्नो भन्न सक्छु र तिम्रै कारण म आज यतिको हुन सकेकी छु।’ यति भनेर उनले रूखमा एकपटक आफ्ना दुई ओठ जोडिन् र आवाज आउने गरेर चुम्मा गरिन्। त्यसपछि आफ्नो दायाँ हात हल्लाउँदै बाइबाइ गर्दै पुनः स्कुटीतर्फ आएर आफ्नो बाटो लागिन्।

चर्को गर्मी थियो। हुन त घरीघरी परिवर्तन भइरहने मौसम र मान्छेको जीवनमा आइपर्ने परिस्थिति उस्तैउस्तै लाग्छन् अञ्जलीलाई। त्यसैले त उनी यस्तो चर्को घाममा पनि घरमा नबसी कतै जाँदै छिन्, मानौँ उनलाई गर्मीको त्यति वास्ता नै छैन।

हुन पनि उनको जीवनमा चर्को घाम, मान्छे नै उडाउलाजस्तो हावा र सबै कुरा डुबाउँलाझैँ गरेर परेको पानीजस्तै चर्का परिस्थितिहरू कति आए कति। आफ्नो जीवनमा उपयुक्त मौसम त उनले आफैँले बनाएकी हुन् निकै संघर्ष गरेर।

यति बेला उनी स्कुटी चलाएर आफ्नै रफ्तारमा नेपालगन्जतर्फ जाँदै छिन्। गर्मीको त्यति मतलब गरेकी जस्तो लाग्दैन। बानी नै परिसक्यो दुःख सहने। अब त उनले जस्तोसुकै परिस्थितिमा पनि अवसर पो देख्छिन्। यही कारण उनलाई धेरै मानिसहरूले आफ्नो प्रेरणाको स्रोत मान्छन्। आफ्ना कठिन परिस्थितिका बारेमा सम्बोधन गरी त्यसबाट उम्कने उपाय बताऊन् भनेर मानिसहरू उनलाई बेलाबेलामा बोलाउने गर्छन्। उनी प्रेरक वक्ता बनेकी छिन् हिजोआज र उनीबाट प्रेरणा लिनेहरू धेरै नै भइसकेका छन्।

आज पनि उनलाई केही बालबालिकालाई उनीहरूको उज्ज्वल भविष्यका निम्ति प्रेरणा दिन निमन्त्रणा गरिएको थियो र त्यहीँ गएकी थिइन्। तीन दिनको क्लास थियो र पहिलो दिन क्लास सुरु हुनुभन्दा पहिला सामान्य कार्यक्रम गरिँदै थियो।

कार्यक्रममा पुगेपछि जब उनको नाम सम्बोधन गरियो, अञ्जली मञ्चमा बसिन्। उनका अगाडि एक सय जनाजति बालबालिका उनीतिरै हेरेर बसिरहेका थिए। उनलाई ती बालबालिका आफ्नै विगत लागे। एकाएक उनी त्यही अवस्थामा पुगिन् र आफ्ना विगतका पाना कुन बेला पल्टाइसकिछन्।

उनी सामान्य परिवारमा जन्मिइन्। सामान्य परिवार भन्नेबित्तिकै संघर्ष उसै जोडिइहाल्दो रहेछ।

उनको परिवारले उनलाई दुःख गरेर हुर्काए। ऋणपान गरेर नर्सिङ पढाए। नर्स पढिसेपछि उनले जसोतसो गरेर जागिर खाइन्। केही पैसा कमाउने आयस्रोत बनाइन्। आयस्रोत त बनाइन्, अब परिवारलाई सहयोग गर्नुपर्छ भन्ने सोच्दासोच्दै उनको परिवार नै फेरियो। उनलाई अहिलेसम्म हुर्काएका र पढाएका परिवार त अब उनको माइत बन्यो, जहाँ उनले कहिलेकाहीँ जाँदा कोसेली लानु मात्रै उनको जीवन बन्यो।

बिहे किन गरिन्छ होला ? छोरी हुनेबित्तिकै बिहे गरेर अर्काको घर गएर त्यो घरलाई आफ्नो बनाउनैपर्ने र छोरा हुनेबित्तिकै बिहे गरेर अर्काकी छोरी ल्याउनैपर्ने, यो कस्तो चलन हो थाहा भएन तर उनको अब नयाँ जीवन सुरु भयो।

जुन परिवारले जन्मायो र वर्षौंसम्म उनका परिवर्तन भइरहने भावनाहरू बुझ्यो, त्यस परिवारलाई पो थाहा हुन्छ त उनले के चाहन्छिन्। उनी रिसाउनुको मतलब के भन्न खोजेकी हुन्, उनले नखानुको मतलब के हो, उनले कुन बेला के भन्न या गर्न खोजेकी हुन् – यस्तो भावना नयाँ परिवारले यति नै बुझ्न त अब समय पनि यति नै लाग्ला नि।

अञ्जलीलाई पक्कै थाहा थियो, उनले नाइट ड्युटी गर्दा उनको परिवारले पक्कै पनि विभिन्न अनावश्यक शंका गर्दैनथ्यो किनभने परिवारलाई त उनीमाथि पूरै विश्वास हुन्थ्यो। फेरि नाइट ड्युटी गर्नु रहर नभई बाध्यता पनि त हो। अनि त्यो ड्युटी कसका लागि गरेको ? आफ्नो नयाँ परिवारका लागि नै त हो। उनले जति कमाए पनि त्यो खर्च गर्ने त परिवारमै त हो।

तर नयाँ परिवारले आफ्नो भावना अलिकति पनि नबुझिदिँदा अञ्जलीजस्ता कैयौँ मानिसको जीवन कति उराठलाग्दो बनेको होला। परिवार छाडिदिऊँ भने पनि समाजको हेर्ने दृष्टिकोण फरक छ। पुरानै घरमा गएर बस्न पनि सकिँदैन। यस्तो अवस्थामा जसोतसो आफ्नो परिवारमै संघर्ष गर्नुको विकल्प रहँदो रहेनछ।

नयाँ परिवारमा श्रीमान् भनेर नै सबै कुरा आस गरिएको हुन्छ। पूरै भर श्रीमान्कै हुन्छ। श्रीमान्ले नै साथ दिएनन् भने जीवन साह्रै भयावह बन्दो रहेछ। साथ नदिए मात्रै पनि त्यति पीडा हुँदैन होला, जति श्रीमान्ले अनावश्यक शङ्का गरेर प्रताडित गरिरहन्छन्।

‘रातिराति तँ अस्पतालमा के गर्छेस् ?’ कस्तो घीनलाग्दो के प्रश्न हो श्रीमान्को, तर पनि बाध्यता अञ्जलीले सहँदै गइन्।

यतिसम्म पनि ठीकै हो तर आफूले दिनरात नभनी काम गर्दा पनि श्रीमान्चाहिँ जाँडरक्सी खाएर घर आउँछ, श्रीमतीलाई अपहेलना गर्छ र पिट्छ समेत भने त यो त अति हैन र?

अति भएपछि एक दिन अञ्जलीले माइत गएर ठूलो आशासहित आफ्ना बुबाआमालाई आफ्नो पीडा सुनाइन्।

त्यो दिन उनलाई हाम्रो समाजका लागि छोरी मान्छे एउटा वस्तुभन्दा बढी होइन रहेछ भन्ने लाग्यो, जुन दिन उनका आमाबुबाले उनलाई सम्झाए, ‘यस्तो कुरा सहनुपर्छ। पचाउनुपर्छ। छोरी मान्छेले एकपटक बिहे गरेपछि दुःख पाए पनि र सुख पाए पनि उसैको भाग्य हो। उसले आफ्नो भाग्य भोग्नुपर्छ। सबै जनालाई रिझाउनुपर्छ। बाहिर सुनाउनुहुँदैन। हामीलाई पनि सुनाउनुहुँदैन। श्रीमान् भन्ने कुरा जसका पनि त्यस्तै हुन्। मिलेर बस्नुपर्छ। श्रीमान्‌ले  भनेको मान्नुपर्छ। सेवा गर्नुपर्छ।’

भर्खर गएको घरमा त उनमाथि दुर्व्यवहार भयो-भयो, आफूलाई बुझ्छन् भन्ने परिवारको मनस्थिति पनि छोरीको बिहे भइसकेपछि अर्कै बन्दो रहेछ। छोरी आफ्नी रहिन अब भन्ने लाग्दो होला सायद। तर, अञ्जलीले अब आफ्नो व्यथा कहाँ गएर सुनाउने ? कोसँग दुःख बाँड्ने ?

फैलिएर संसारै चुम्छु भन्ने सोचेकी उनी एक हिसाबले पिञ्जडामा कैद भइन्, त्यो पनि साह्रै संकुचित पिञ्जडामा। अनि त्यो पिञ्जडामा श्रीमान् र उसको परिवारले आएर सधैँ यातना दिइरहे।

अब उनले कसरी केयर गर्न सक्थिन् र बिरामीलाई आफ्नै केयर चाहिएको अवस्थामा? बिस्तारैबिस्तारै उनी मानसिक रोगी बन्न थालिन्। एक त पिञ्जडामा छ, त्यसमाथि आफ्नो भनेका श्रीमान्‌ले टर्चर दिन्छन्, उता आफूलाई जन्माएर हुर्काएको परिवारले कुरा बुझिदिँदैनन्, अर्को जागिरको प्रेसर छ- अहँ, उनले आफूलाई कसै गरेर सम्हाल्न सकिनन्। उनको सपना एकाएक चकनाचूर भयो।

उनले आफूलाई पिञ्जडामा बलियो गरी थुनिएको पाइसकेकी थिइन्। अब उनी छट्पटिन त सक्थिन् तर पिञ्जडा तोड्न सक्दिनथिन्। पिञ्जडा तोडेर निस्फिक्री उड्ने ठाउँ नै उनले देखिरहेकी थिइनन्। केही समय त उनी छट्पटिइन् पनि तर छिटै नै थाकिन् र बिस्तारै मुर्झाउन थालिन्। उनको त्यो शिथिलता उनको जागिरमा देखिन थाल्यो। उनको के समस्या छ भनेर कसले बुझिदेओस्, उल्टै नानाथरी भनेर त्यहाँ पनि गाली नै पाइन्।

अति भएपछि उनले अब मर्ने ठानिन्। सबैतिरको बाटोमा रात परेपछि एउटा अर्कै बाटो खुल्दो रहेछ, आत्महत्या। हो, अब उनी आत्महत्या गर्ने मनसायमा पुगिन्।

आत्महत्या गर्नु राम्रो होइन भनेर उनलाई थाहा नभएको होइन। अनि उनलाई यो सोच एकैपटक आएको पनि होइन। कुनै नयाँ बाटो देखेदेखि त उनी अझै पनि आत्महत्या गर्न चाहन्नन्। खोजिरहेकी पनि थिइन् बाटो तर अब त्यो आस अत्यन्तै क्षीण लागिरहेको थियो। धेरैपटक प्रार्थना पनि गरेकी थिइन् भगवान्‌सँग – ‘हे भगवान् ! मलाई कुनै बाटो देखाइदेऊ। म केही गर्न चाहन्छु। यस पीडाबाट मुक्त हुन चाहन्छु। होइन भने मलाई आफू भएको ठाउँमा बोलाऊ। म यसरी दिनदिनै मरेर बाँच्न सक्दिनँ। यसरी दिनदिनै मर्नुभन्दा त बरु एकैपटक मरेको राम्रो होइन र? फेरि एक दिन मर्नु त छँदै छ। म केही समयपहिला आउँला त के भयो!’

उनको यस प्रार्थनामा पनि केही गर्ने आसभन्दा धेरै मर्ने इच्छा झल्किरहेको थियो।

एक दिन उनी निराश भावले अत्यन्तै सुस्तताका साथ आफ्नो ड्युटी गरिरहेकी थिइन्। अन्तिमअन्तिम जीवन मुस्किलले बाँचेजसरी।

सायद भगवान्‌ले उनको प्रार्थना सुने या उनको दुःखको समय सकिँदै थियो या बिहेभन्दा अगाडिसम्म देखेको सपनाको फल पाक्ने बेला हुन लागेको थियो, डाक्टर पूर्णिमाले उसलाई बोलाइन्।

डाक्टरले अञ्जलीलाई केही समयदेखि नियालिरहेकी रहिछन्। उनका हर्कतहरू हेर्दा कुनै समस्यामा परेको जस्तो लागेको रहेछ र केही सोधूँ भनेर बोलाएकी रहिछन्।

उनलाई अञ्जलीले आफ्नो पीडा सुनाइन्। डाक्टर पूर्णिमाले नै उनलाई एक जना आध्यात्मिक व्यक्तिकहाँ लगिन्, जहाँ उनी बेलाबेलामा आफैँ पनि जाने गर्दिरहिछन्।
त्यहाँ पुगेर केही कुरा सुनेपछि बल्ल अञ्जलीलाई अलिअलि राहत भएको अनुभव भयो।

‘मानव जीवन अमूल्य छ। आफ्नो जीवनलाई अरु कसैको हातमा समर्पित गर्नुहुँदैन। आफ्नै लागि बाँच्नुपर्छ, अरुका लागि होइन।’ पहिलोपटक अञ्जलीले ती आध्यात्मिक व्यक्तिबाट यही सुनिन्।

बिस्तारै उनले बुझ्दै गइन् – एक-दुई जनाको कारणले गर्दा आफ्नो जीवन बर्बाद गर्नुहुँदैन। जीवनमा धेरै चुनौतीहरू पार गर्नुपर्छ।

ती आध्यात्मिक व्यक्तिको यो उदाहरण त उनको पूरै जीवन परिवर्तन गर्ने बीज नै बन्यो भन्दा फरक पर्दैन। ती व्यक्तिले एउटा वरको रूख देखाएर भने –

‘यो रूखलाई हेर्नुस् त ! थाहा छैन, यसको बीज यहाँ कहाँबाट आयो तर यो यहीँ जन्मियो अनि यहीँ हुर्कियो। जीवन के हो भनेर यही रूखलाई सोधे थाहा हुन्छ। सानो समयमा झारहरूसँग संघर्ष गर्न सकेकै कारण त अहिले यो ती झारहरूभन्दा कैयौँ ठूलो भइसकेको छ। ती झारहरू कति मासिएर गइसके तर समस्यासँग जुध्न सकेकै कारणले अहिले यो सानसँग ठडिएको छ। यसले आजसम्मको अवधिमा कति परिस्थितिहरू सह्यो सह्यो। चर्को हावाहुरी, उखरमाउलो गर्मी, बाढी नै ल्याउने खालको पानी – यस्ता परिस्थिति कति देख्यो होला कति। धूलो, ध्वनि प्रदूषण आदि सानातिना दुःख कति सह्यो होला। हरेक वर्ष नयाँ पातहरू पलाउँछन् र ऊ जीवन्त बन्छ, त्यो बेला कति सुखी हुँदो हो। अनि पतझड समयमा आफ्ना पातहरू झरेर आफू नांगो बनिरहँदा उसलाई कति दुःख हुँदो हो। तर उसले सहन्छ सधैँ। अब त उसले बुझिसकेको होला, दुःखपछि सुख आउँछ र दुःखपछि सुख। न दुःख रहिरहन्छ सधैँ, न सुख। दुःख आउँदा आत्तिनु र सुख आउँदा मात्तिनुको कुनै तुक छैन। र त ऊ अग्लो भएर निर्धक्क उभिएको छ।

‘मान्छेको जीवन पनि यही वरको रूखजस्तै त हो। परिस्थितिहरू जस्ता पनि आउन सक्छन्। कहिले जीवनमा खडेरी आइपर्छ, कहिले जीवन रसिलो पनि बन्छ। परिस्थितिहरू जस्तोसुकै आए पनि जीवन त जीवन नै हो। र, हरेक परिस्थितिमा तटस्थ रहन सक्नुले नै जीवनको औचित्यता स्पष्ट गर्छ।

‘मान्छे, समाज, परिवार, श्रीमान्‌श्रीमती – यस्ता कुरा सबै क्षणिक हुन्। जान्छन् सबै। एक्लै हो हामी सधैँ। हाम्रो जीवन सधैँ छ तर हाम्रा सम्बन्धहरू धेरै परिवर्तन भए। त्यसैले परिवर्तन भइरहने चीजलाई लिएर दुःखी बन्नुको सट्टा आफ्नो जीवनलाई लिएर सुखी बन्नुपर्छ। आफू छ र त सबै छ। आफ्नो जीवन कसैका आधारमा, कसैका वचनमा लागेर खेर फाल्नुहुँदैन।’

अञ्जलीलाई यी र यस्ता धेरै कुराले साह्रै प्रेरित गरे। उनले अब आत्महत्या गर्ने सोच त्यागिदिइन्। जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्छु भनेर संकल्प गरिन्।

प्रवचन सुनेर फर्कंदै गर्दा उनले त्यो सानो वनमा वरको रूख देखिन् र त्यहाँ पुगेर ती आध्यात्मिक व्यक्तिको भनाइ सम्झिँदै रूख हेरिन्। एकछिनपछि उठेर अँगालो मारिन्। त्यही दिनदेखि उनलाई लाग्यो, उनलाई त्यही वरको रूखले बुझ्न सक्छ र उनको त्यससँग प्रेम बस्यो।

अब उनले आफ्ना श्रीमान्‌लाई छाडिदिइन् र एक्लै बस्न थालिन्। आफ्नो दिमागलाई कहिल्यै नकारात्मक बन्न दिइनन्।

त्यसको फल उनको जीवनमा देखिन थालिहाल्यो। नर्सिङमा उनको प्रदर्शन राम्रो बन्दै गयो। समस्यामा परेकाहरूका लागि त उनी एक हिसाबले सल्लाहकार नै बन्दै गइन्। बिस्तारै उनी सामाजिक कामहरूमा पनि लाग्न थालिन्। जीवनमा हरेस खानुहुँदैन भनेर मान्छेहरूलाई हौसला दिँदादिँदै उनी कतिबेला कतिबेला मोटिभेटर (प्रेरक वक्ता) बनिसकिछन्।

त्यही क्रममा उनी आज एउटा स्कुलमा पुगेकी थिइन् र बालबालिकालाई जीवन सकारात्मक बनाउन प्रेरणा दिँदै थिइन्। यो बेला त्यहाँका बच्चाहरू देखेर आफ्नो विगतमा पुगेकी थिइन्।

‘अब हामी प्रेरक वक्ता, हामी सबैकी आदरणीय व्यक्तित्व अञ्जली प्रधान आउँदै हुनुहुन्छ। हामी सबै जना उहाँका कुरा ध्यान दिएर सुन्नेछौँ र मनन गरेर आफ्नो जीवन लागू गर्नेछौँ।’ आफ्नो नाम सुनेपछि अञ्जली अलिकति झस्केजस्तो भइन् र बोल्नका निम्ति तयार भइन्।
उनको पहिलो वाक्य थियो – ‘धन्यवाद, मेरो प्रिय वरको रूख….’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =