दशगजाको १७ किमि क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी

हिमाल प्रेस ६ माघ २०८० १६:५०
30
SHARES
दशगजाको १७ किमि क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी

काठमाडौँ- सशस्त्र प्रहरी बलले नेपाल र भारतीय सुरक्षा संगठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढेको जनाएको छ।

दुई देशका सुरक्षा निकायको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको करिब १३‍.३२ बिघा क्षेत्रमा खेतीपाती गर्न रोक लगाइएको बताए।

उनकाे भनाइमा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको छ। दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार आठ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ।

जोर अंकको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ। हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट खडा गरिएको छ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच एक हजार आठ सय ८० किमी लामो सीमा छ। दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यस्त र साना गरी आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा रहने गरी नक्सांकन भए पनि हाल ५३ प्रतिशतमात्र गाडिएको छ।

भारतमा अंग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका नौ सय १६ वटा जङ्गे पिलर गाडिएको थियो। त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारको छ।

ठूला सीमा स्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भने पछि खम्बाका बीचमा एकदेखि तीनवटासम्म मध्यस्त खम्बा छ। मध्यस्त खम्बाका बीचमा दुईदेखि तीनवटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ।

प्रकाशित: ६ माघ २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =