भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सशस्त्र प्रहरी बल [तस्बिरसहित]

हिमाल प्रेस ७ पुष २०८० ९:४०
8
SHARES
भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सशस्त्र प्रहरी बल [तस्बिरसहित]

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हाल सम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ।

जसअन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणी गाउँपालिकामा ७ वटा निर्माण गरिएका छन्। विशेषगरी एकल महिला, अपांगता भएका, वृद्धअवस्थाका, बिरामी, विपन्न र सुत्केरीको वर्ग विभाजन गरी अस्थायी आवास निर्माण गरिएको हो।

सो अनुसार एकल महिलाको लागि ५, अपांगता भएकाको ४, वृद्धअवस्थाको ३, बिरामीको ३ र बिपन्न तथा सुत्केरीको लागि १र१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रूपमा बस्ने गरी तैनाथ गरिएको छ। यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिनेछ।

यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिसँगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भूकम्प पीडितको पहिचान गरि फौज परिचालन गर्ने योजना रहेको छ।

यता भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रीत गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानीयको घरको भग्नावशेष हटाउने तथा चर्किएको घर भत्काउने कार्यलाई तिब्रता दिएको समेत सह प्रवक्ता डीएसपी थापाले बताए।

जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन्। यस्तै भेरी नगरपालिकामा १ सय, नलगाड नगरपालिकामा १ सय १८ ,र कुशे गाउँपालिकामा २५ स्थानका भग्नाबशेष हटाइएका छन्। चर्किएका ८ वटा घर समेत भत्काइएको छ।

प्रकाशित: ७ पुष २०८० ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =