‘डेमो’ देखाउँदै गर्दा सप्तकोशीमा सशस्त्रको डुंगा पल्टिएपछि‍‍…

विवेक विवश रेग्मी १७ कार्तिक २०८० १७:१२
206
SHARES
‘डेमो’ देखाउँदै गर्दा सप्तकोशीमा सशस्त्रको डुंगा पल्टिएपछि‍‍…

इटहरी– शुक्रबार उदयपुरको बेलका नगरपालिकामा पर्ने सप्तकोशी किनारमा सशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीले गोताखोर तालिमको समापन गर्ने कार्यक्रम थियो। कार्यक्रम सुरु भएपछि बाढीमा बगाएको दृश्य देखाउन सुरु गरियो। कार्यक्रमका प्रमुख अतिथिसहित अन्य आमन्त्रित ‘डेमो’ हेर्न केन्द्रित भए।

त्यसैबेला नदीमा डुंगा पल्टिएको आवाजसहित कोलाहल भयो। आमन्त्रित मानिसले आवाज र दृश्य पनि डेमो नै भन्ने बुझे। तर उक्त दृश्य डेमो नभएर सत्य साबित भयो। सुनसरीतर्फबाट कार्यक्रमस्थल आउँदै गरेका पत्रकारसहित सशस्त्र प्रहरी चढेको डुंगा नदीमा पल्टियो। तर डुंगा पल्टिएको केहीबेरमै सशस्त्रको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ। केही घाइतेलाई भने सशस्त्रले तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी १ नं. बराह बाहिनीले २० जना सशस्त्र प्रहरीलाई गोताखोर तालिममा सहभागी गराएको थियो। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सम्पन्न तालिमको शुक्रबार उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी किनारमा डेमो प्रस्तुत गर्दै गोताखोर तालिमको समापन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विपद्को बेला सारथी भएर उभिने तर्क गरे। उनले भने, ‘नदीलाई सदुपयोग गर्दा यसबाट लाभ लिन सकिन्छ, सही सदुपयोग गर्दा नदी जीवन हो। दुरुपयोग गर्दा नदीले ज्यान पनि लिन्छ।’

विपका बेला केहीले समाजसेवीका नाममा पीडित परिवार र बस्तीमा पुगेर चाउचाउ बाँड्ने र फोटो खिचाउने प्रचलन रहेकाले त्यसलाई चिर्नका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। बाढीपहिरोलगायतबाट ज्यान जान नदिनका लागि विभिन्न निकाय र जिल्लामा रहेका विपद् व्यवस्थापनसँग सहकार्य गरी काम गर्ने उनले बताए ।

‘विपद् हुनसक्ने ठाउँको नक्साकंन गरियोभने पूर्व तयारी गर्न सकिन्छ,’ उनले भने।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलका अनुसार गत भदौदेखि तालिम सञ्चालन भएको थियो। ३६ दिन भएको तालिममा सहभागीले अब नदीको ७० फिट गहिराइसम्म पुगेर उद्धार गर्न सक्नेछन्। सप्तकोशीको विभिन्न भाग र पोखराको फेवातालमा तालिम सञ्चालन भएको थियो।

देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उद्देश्यले जनशक्ति थप गर्नका लागि नेपालमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपाल १ नं, बराह बाहिनी पकलीले गोताखोर तालिमको अभ्यास गरेको हो। गोताखोर अभ्यास प्रभावकारी भएको उनको भनाइ छ। गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १८० फिट गहिराइसम्म लगातार एक घण्टा खोज तथा उद्धार गर्न सक्ने उनले बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोशीलाई अवसरका रूपमा लिनुपर्ने बताए। ‘यो बगिरहेको पानी नभएर पैसा हो, यो पैसालाई हामीले प्रयोग गर्न सक्नुपर्छ,’ उनले धरानमा खानेपानीको अभाव रहेको संकेत गर्दै भने, ‘यहाँ पानी बगिरहेको छ, ‘माथितिर खडेरी भइरहेको छ। खडेरीलाई हरियाली बनाउन पनि सप्तकोसीको पानी त्यतातिर पुग्नुपर्छ।’

कार्यक्रममा गोताखोर तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बेलका नगरपालिकाका मेयर अशोक कार्की, प्रदेश सरकारका सचिव डा. दीपक काफ्ले लगायतले विपद्को समयमा सबै निकायसँग सहकार्य गर्ने बताए।

    

प्रकाशित: १७ कार्तिक २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =