२० वर्षपछि पोखरामा गुञ्जियो कन्दरा

हिमाल प्रेस २८ पुष २०८० १९:४२
24
SHARES
२० वर्षपछि पोखरामा गुञ्जियो कन्दरा

पोखरा- पोखराको चर्चित ब्याण्ड कन्दराले गृहनगरी पोखरामा कन्सर्ट गरेको छ।

शुक्रबार राति नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा लिड भोकलिष्ट विवेक श्रेष्ठलगायतले करिब साढे ३ घण्टासम्म १० हजार दर्शकलाई लगातार झुमाइरहे। ‘पहिला घरदेश अनि परदेश’ सन्देशसहित कन्दरा करिब २० वर्षपछि सांगीतिक प्रस्तुति लिएर फर्किएको हो।

कन्सर्टमा भोकलिष्ट विवेक श्रेष्ठसहित सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले चलेका र नयाँ गरी करिब दुई दर्जन गीत गाए। उनीहरुले ‘तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छी,’ ‘लेककी हे माया,’ ‘तिमी पारि,’ ‘विदेशीएर गइन् उनी’ ‘विचरा म’ लगायत गीत सुनाए।

आयोजक पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनायण श्रेष्ठले पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कन्सर्ट भव्य भएको बताए। पर्यटन उद्यमसँग सम्बद्ध १४ संस्थाको आबद्धता रहेको छाता संगठन परिषद् आयोजक र लायन्स क्लब अफ पोखरा सामीप्य सहआयोजक रहेको कन्सर्टको शुभारम्भ पोखरादेखि सुरु भएको हो। यस्तोखालका कन्सर्ट देशका सातै प्रदेश र मुख्य सहरमा पुग्नेछ।

पर्यटन उद्यमको पुनर्जागरण गरी पर्यटकीय गन्तव्यस्थलको सन्देश दिने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, घुमफिर संस्कृति एवं दिगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवं गीतसंगीतको जगेर्ना गर्ने उद्देश्यले ‘कन्दरा सांगीतिक अभियान-२०८०’ गरिएको आयोजकले जनाएको छ।

कन्दराले अहिलेसम्म ६ एल्बम र सयौं गीतसंगीत बजारलाई दिइसकेको छ। मुलुकभित्र र बाहिर गरी २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ। अभियानको ठूलो कन्सर्ट पोखरामा भएको आयोजकको दाबी छ।

प्रकाशित: २८ पुष २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =