बालकुमारी घटनामा गृहमन्त्रीले पनि थोपरे भौतिक मन्त्रीमाथि दोष

हिमाल प्रेस १६ पुष २०८० १३:३६
64
SHARES
बालकुमारी घटनामा गृहमन्त्रीले पनि थोपरे भौतिक मन्त्रीमाथि दोष

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वधारा तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि नै दोष थोपरेका छन्। संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिनेक्रममा विरोध प्रदर्शन भइरहेको ठाउँमा मन्त्री ज्वाला नपुगेको भए परिस्थित अहिले भएको जस्तो नहुने उनको भनाइ छ।

गृहमन्त्री श्रेष्ठले ईपीएस कोरिया शाखा कार्यालयका प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे। आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको श्रेष्ठले बताए।

‘…त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यू किन आउनुभयो होला? हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पीएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होला? किनभने सामान्यतया पिएसओले बाटो चेक गर्छ, रुट क्लियर छ कि छैन भनेर,’ उनले भने, ‘तर उहाँ आर्मीको सेक्युरिटी गार्ड र नेपाल प्रहरीको पीएसओसहित त्यो बाटो जानुभयो, त्यसकारणले हाम्रो भनाइ उहाँहरुले किन रोक्नुभएन होला, सूचना किन दिनुभएन होला? त्यसले घटनालाई अर्को मोडतिर लैजान क्याटलिस्ट (उत्प्रेरक)को भूमिका खेलेको छ।’

यस्तो छ गृहमन्त्री श्रेष्ठको जवाफ –

त्यहाँ आवेदन हामीले पनि पाउनुपर्छ भनेर प्रदर्शन गर्ने, माग राख्नेहरु भइसकेपछि स्थिति के छ भनेर हाम्रो गृह मन्त्रालयको शान्ति सुरक्षा शाखाको प्रमुखले ईपीएस कार्यालयको कार्यालय प्रमुखलाई त्यो दिन प्रारम्भ बिहानमा बोलाएर स्थितिको बारेमा के छ बताउनुस् भनेर भनेको थियो। कसरी हल गर्ने सोच्नुभएको छ भन्दा केही छैन, ३ बजेसम्म बस्छन्, जान्छन् भनेर हल्का जवाफ दिनुभएको रिपोर्ट छ।

हामीले बिहान नै बोलाएका थियौँ। त्यो पनि हामीलाई जवाफ उपयुक्त लागेको छैन। त्यसपछि मन्त्रीज्यूको गाडी त्यहीँ बालकुमारी नजिकै पार्टीको बैठक रहेछ, त्यो बैठकबाट मन्त्रालय जान्छु भनेर निस्किनुभएछ, त्यही बाटोबाट आउनुभएछ। प्रारम्भिक निष्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यू किन आउनुभयो होला? हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पीएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होला? किनभने सामान्यतया पिएसओले बाटो चेक गर्छ, रुट क्लियर छ कि छैन भनेर।

तर उहाँ आर्मीको सेक्युरिटी गार्ड र नेपाल प्रहरीको पीएसओसहित त्यो बाटो जानुभयो, त्यसकारणले हाम्रो भनाइ उहाँहरुले किन रोक्नुभएन होला, सूचना किन दिनुभएन होला? त्यसले घटनालाई अर्को मोडतिर लैजान क्याटलिस्ट (उत्प्रेरक)को भूमिका खेलेको छ। त्यो भन्दाअघि अलिअलि लाठी चार्ज गरेको छ। मन्त्री ज्यूको गाडी आइसकेपछि मन्त्रीज्यू बाहिर निस्किएर सवालजवाफतिर पनि लाग्नुभएछ। त्यसपछि त्यो भएन भनेपछि धकेलाधेल भएको भिडियोमा देखिन्छ।

त्यसपछि मन्त्री ज्यूलाई नेपाल आर्मीको बडिगार्डले लिएर जानुभयो र बैठक भएको ठाउँमा पुग्नुभयो। मन्त्रीको गाडी घेराबन्दीमा परेको भनेपछि फिल्डको कमाण्डरहरु त्यो दिशातिर जान खोजे, त्यही क्रममा गोली प्रहार भएको देखिन्छ। एक जनाको गोलीद्वारा घटनास्थलमा लडेपछि पाटन लगेको देखिन्छ र अर्को त्यहीँ निलडाम देखिन्छ, ग्यास वा अरु हतियारले लागेको के हो छानबिन समितिले निष्कर्ष निकाल्नेछ, फायरिङपछि मात्रै गाडी जलेको देखिन्छ।

बालकुमारी घटना मन्त्री ज्वालाको लापरबाहीले भयो, कारबाही हुनुपर्छ : गगन थापा

रवि लामिछानेले भने : समुद्रमा हराएको टाइटानिक भेटिएला, गृहमन्त्रीमा नैतिकता भेटिँदैन

प्रकाशित: १६ पुष २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =