सहकारी प्रकरणका विषयमा छलफल गर्न सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

हिमाल प्रेस २४ वैशाख २०८१ १२:००
6
SHARES
सहकारी प्रकरणका विषयमा छलफल गर्न सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक फाइल तस्बिर।

काठमाडौँ- सभामुख देवराज घिमिरेले (भोलि) बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नेभएका छन्।

आगामी अधिवेशन सुरु हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन्।

सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन्।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका हुन्। तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन। सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो।

संसद्को बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ। संसद्को आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन्।

सभामुख निर्वाचित भएको १५ महिनामा सभामुखको पहलमा ९ पटक शीर्ष बैठक बसेको छ।

प्रकाशित: २४ वैशाख २०८१ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =