नेपाल-तिब्बत-छोङछिङ्ग-सिचुवानबीच डेभलपमेन्ट करिडोरको परिकल्पना

नारायणकाजी श्रेष्ठ १९ चैत २०८० १९:२४
100
SHARES
नेपाल-तिब्बत-छोङछिङ्ग-सिचुवानबीच डेभलपमेन्ट करिडोरको परिकल्पना

जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्री एव‌ं चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य वाङ यी को निमन्त्रणामा यही चैत्र ११ देखि १९ गतेसम्म मैले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मित्र राष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केको छु।

यस भ्रमण कार्यक्रमका सम्बन्धमा परराष्ट्र मन्त्रालय र चीनस्थित नेपाली नियोगहरूबाट जारी प्रेस विज्ञप्तिहरूमार्फत तपाईंहरूले जानकारी प्राप्त गरिरहनुभएकै छ। यध्यपि आज म यस भ्रमणका बारेमा संक्षिप्तमा जानकारी गराउँदै छु।

यस भ्रमणले नेपाल र चीन बीचको आपसी सद्‍भाव, सम्मान र विश्‍वासलाई थप सुदृढ बनाउन तथा दुई मुलुकबीच विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको विश्‍वास लिएको छु।

भ्रमणका क्रममा National Committee of the Chinese People’s Political Consultative Conference (CPPCC) का अध्यक्ष वाङ हुनिङ तथा Political Bureau of the Communist Party of China (CPC) Central Committee का सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्री वाङसँग द्विपक्षीय हितका विविध बिषयहरूमा छलफल भएको छ। साथै, चिनियाँ कम्युनिष्ट पार्टी, छोङछिङ नगर समितिका सचिव युआन जियाजुन, चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ जुनछेङ, सिचुवान प्रान्तका गभर्नर हुवाङ्ग छियाङ्ग र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागकी भाइस मिनिस्टर सुन हायान सँग भेटघाट गरी नेपाल-चीन सम्बन्धका विविध आयामहरूमा छलफल गरेको छु।

मेरो चीन भ्रमणको क्रममा भएका महत्त्वपूर्ण उपलब्धिहरू

रसुवागढी-केरुङ, तातोपानी-झाङ्‌मु, यारी-पुरान तथा नेचुङ-लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका छन्। कोभिड महामारीका कारण बन्द भएका नेपाल-चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ।

यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु।

नेपाल-चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुबै पक्ष सकारात्मक भएका छन्।

बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्ने बारे छलफल भएको छ।

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ। चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु। यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ।

नेपालको महत्त्वपूर्ण तथा विश्वसनीय विकास साझेदारको रूपमा रहेको मित्र राष्ट्र चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल-चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्।

सन् २०१२ मा नेपाल-चीनबीच हस्ताक्षर भएको Agreement on Trans-Frontier Pasturing by Border Inhabitants बमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ।

नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सुचारु गर्न दुवै पक्ष सकारात्मक भएका छन्।

Cooked buffalo meat, haylage (घाँस), plant-based medicinal products, तरकारी तथा फलफूलहरू लगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न मैले चिनियाँ पक्षलाई अनुरोध गरेको छु। यसमा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल-चीन सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याव स्थापना गर्न मैले गरेको अनुरोधलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको छ।

नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको छ।

नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरू सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन् । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने देखिन्छ।

आगामी २८-२९ अप्रिल २०२४ मा काठमाडौंमा आयोजना हुने तेस्रो नेपाल लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताहरूको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको छु।

यसमा उच्चस्तरीय चिनियाँ नेतृत्वले उक्त सम्मेलनमा सहभागिताका लागि चिनियाँ लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छ। साथै, बेइजिङस्थित नेपाली राजदूतावासले २६ मार्च २०२४ मा आयोजना गरेको प्रि इन्भेसमेन्ट समीटलाई समेत सम्बोधन गरी चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गरेको छु।

चीनमा नेपाल भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक मनाउन दुई देशका सम्बन्धित निकायहरूले मिलेर काम गर्ने सहमति भएको छ। यसबाट नेपालमा चिनियाँ पर्यटकहरू बढ्ने विश्वास लिएको छु।

अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारण लाइन आदिको विस्तार गरी नेपाल-चीन बीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन्।

नेपालको ‍औद्योगीकरण गर्न, उत्पादनशीलता बढाउन र जनशक्ति विकास गर्न चीन र नेपालले संयुक्त रूपमा काम गर्ने बारेमा महत्त्वपूर्ण छलफल भएको छ। खास गरी चिनियाँ ज्ञान र प्रविधि नेपाल भित्र्याउन मैले विशेष अनुरोध गरेको छु।

चीन भ्रमणको क्रममा मैले हुवाइृ बेइजिङ रिसर्च एण्ड डेभलपमेन्ट एक्जुकेटिभ्स सेन्टर र छोङछिङ्गस्थित सेरेस फोनिक्स तथा अन्तराष्ट्रिय लजेस्टिक हवको भ्रमण गरी चीनले खास गरी सूचना-प्रविधि क्षेत्र र औद्योगिकरणमा प्राप्त गरेको अभूतपूर्व सफलताको अवलोकन गरेँ।

नेपाल-तिब्बत-छोङछिङ्ग-सिचुवानबीच डेभलपमेन्ट करिडोर बनाउने विषयमा पनि हामीबीच सकारात्मक छलफल भयो।

खास गरी कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाई कार्यन्वयन गर्दै जान दुवै पक्ष सहमत भएका छन्।

समकक्षी वाङलाई मैले नेपाल भ्रमणका लागि आमन्त्रण गरेँ। वाङले यसै बर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराउनुभएको छ। भ्रमणका क्रममा मैले बेइजिङस्थित नेपाली राजदूतावास, छन्दु र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासहरूको पनि भ्रमण गरेँ।

मेरो भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल, छन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउत, नेपाली राजदूतावास बेइजिङका नियोग उपप्रमुख सुरेन्द्रकुमार यादवलगायत सहभागी हुनुहुनथ्यो।

मेरो यस भ्रमणले नेपाल र चीनबीचको आपसी बुझाइलाई थप गहिराइ र सम्मानलाई थप उचाइ प्रदान गरेको छ। आपसी सहयोग र सहकार्यका क्षेत्रहरूमा विस्तृत र स्पष्ट छलफल भएका छन्। यसले नेपाल र चीनबीच विद्यमान सदियौं पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गरेको छ भन्नेमा म विश्वस्त छु।

(चीनको नौ दिने औपचारिक भ्रमण समापन गरी चैत १९ मा स्वदेश फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्त गरेको धारणा)

 

प्रकाशित: १९ चैत २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =