बालेनसँग किन रिसाए प्रधानमन्त्री दाहाल?

हिमाल प्रेस २ पुष २०८० १३:००
30
SHARES
बालेनसँग किन रिसाए प्रधानमन्त्री दाहाल?

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘शैली’प्रति असन्तुष्टि जनाएका छन्। आफ्नो प्रश्न राख्ने, तर जवाफ सुन्ने धैर्यता नराखेको भन्दै प्रधानमन्त्री प्रचण्डले बालेनको शैलीप्रति असन्तुष्टि जनाए।

ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि थिए। कार्यक्रममा काठमाडौँका मेयर बालेन पनि अतिथिको रुपमा उपस्थित थिए।

कार्यक्रममा सुरुमा बोलेका बालेनले फोहोर व्यवस्थापन र उपत्यकाका खोलामा भएको अतिक्रमण हटाउन प्रधानमन्त्री र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए।

‘केही कुराहरु संघीय कानुन र स्थानीय कानुनमा बाझिएका छन्। जस्तै फोहोर व्यवस्थापन बञ्चरे डाँडामा गर्दै आएका छौँ। त्यसलाई स्थानीय सरकार आफैँले गर्ने कुरालाई बाधा अड्चन परेको छ, कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीय (प्रधानमन्त्री)ज्युलाई आग्रह र अनुरोध गरेँ,’ बालेनले दाहालसँग सहयोग माग्दै भनेका थिए, ‘ जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौँ वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ।’

मेयर बालेनले प्रधानमन्त्रीले चाहेको खण्डमा काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारको अतिक्रमण पनि तत्काल हट्ने दाबी गरे। ‘काठमाडौँमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौँमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ, एकदिन सबै फुक्छ। कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ, तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ। ५ मिनेटदेखि १ घण्टामा मात्रै सकिन्छ। त्यो मेयरहरुले मात्रै सक्दैन,’ बालेनले भने।

बालेन आफ्नो भनाइ राखेपछि कार्यक्रमस्थलबाट बारिए। त्यसपछि बोलेका प्रधानमन्त्री प्रचण्डले आफ्नो जवाफ सुन्दै नसुनी बालेन कार्यक्रमबाट बाहिरिएको भन्दै असन्तुष्टि जनाए।

दाहालले भने, ‘अघि बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जे-जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन र अतिक्रमणको समस्या समाधानका लागि आफूले पहल गरेको, तर बालेनले त्यसबारे खुला रुपमा नबोलेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। प्रधानमन्त्रीले भने, ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’

काठमाडौँ महानगर प्रमुख शाह र बागमती प्रदेशमन्त्री चित्रकारबीच जुहारी

प्रकाशित: २ पुष २०८० १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =