प्रचण्ड-ओलीको उद्घोष : हौसिएर पार्टी एकता गर्दैनौँ

हिमाल प्रेस १० वैशाख २०८१ १६:४७
18
SHARES
प्रचण्ड-ओलीको उद्घोष : हौसिएर पार्टी एकता गर्दैनौँ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल दुई पार्टीबीचको एकता सम्भव नभएको बताएका छन्।  नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसर पारेर नेकपा एमालेले ललितपुरको गोदावरीमा आयोजना गरेको कार्यक्रममा दुई नेताको एक स्वर सुनिएको हो।

अर्को कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित रहेको उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा गरिएको एकताबाट पाठ सिकेको बताए।

कार्यक्रममा ओलीभन्दा पहिले बोलेका प्रधानमन्त्री प्रचण्डले हौसिएर अहिले नै कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको स्पष्टीकरण दिए। एमालेले हीरक जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पहिलेको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकताको पक्षमा आफूहरू नरहेको बताए।

उनले यसअघि कम्युनिस्ट एकता गर्दा बढी हौसिएकाले दुर्घटना हुन पुगेको अनुभव आफूहरूसँग रहेको सुनाए। फागुन २१ गतेयता कम्युनिस्ट पार्टीहरुबीच फेरि सहकार्यको सुरुवात भएको उनले बताए। यसबेला कम्युनिस्ट मिलेर जनता र देशलाई राम्रो सेवा दिने अवसर आएको पनि उनले बताए।

जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिस्टहरूबीच स्वतः एकताको आधारभूमि तयार हुने पनि दाहाले बताएका छन्। प्रधानमन्त्रीले संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा इमानदार भएर लाग्नु जरुरी रहेको पनि उल्लेख गरे।

प्रचण्डपछि बोलेका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले पनि त्यही कुरा दोहोर्‍याए। उनले पछिल्लो पटक २०७४ र २०७९ मा दुई पटक कम्युनिस्ट पार्टी विभाजित भएको भन्दै त्यसमा पछुतो प्रकट गरे।

‘२०७४ मा कम्युनिस्टमा विजभान भयो। २०७८ मा पनि विभाजित भयौँ, जुन हानीकारक थियो’, उनले भने, ‘हामी विभाजनबाट उठेका छौँ। अहिले तत्काल नै हामी कम्युनिस्ट पार्टीबीच एकीकरण गरौँ भन्दैनौँ, पार्टी एकीकरण भइहाल्छ भन्ने पक्षमा छैनौँ।’

उनले पार्टी एकतालाई व्यक्तिग स्वार्थ बनाउन नहुने बताए। ‘व्यक्तिगत तुष्टि पूरा गर्ने आकांक्षा एकतालाई नबनाऊँ’, उनले भने, ‘हतारमा विगतमा भएका एकताले हामीलाई पाठ सिकाए। हामी धुलो टक्टक्याएर उठेका छौँ। त्यसैले एकतामा हतार नगरौँ।’

प्रकाशित: १० वैशाख २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =