आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री

हिमाल प्रेस २३ वैशाख २०८१ १४:२५
28
SHARES
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको जानकारी दिए। उनले बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको बताए।

‘सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ। त्यसैगरी बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा गएको छ,’ प्रचण्डले भने। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरू सम्बोधन गर्ने आश्वासन दिए।

आमनागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने उनको विश्वास थियो। वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने प्रधानमन्त्रीको भनाइ छ।

प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्‍याउने सरकारको अपेक्षा रहेको प्रचण्डले बताए। देशलाई आवश्यक एमबीबीएसलगायतका दक्ष जनशक्ति उत्पादन गर्न प्रतिष्‍ठानबाट आगामी आर्थिक वर्षमा भरतपुर अस्पताल र वीर अस्पतालमा उक्त कार्यक्रम सुरू गरिने उनको भनाइ छ।

वीर अस्पतालको बिस्तारका लागि दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरुयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ।

चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकुल बनाउँदै स्तरोन्नति गरी अन्तर्राष्‍ट्रियस्तरको बनाइने प्रचण्डको भनाइ छ।

प्रकाशित: २३ वैशाख २०८१ १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =