विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई शिक्षा मन्त्रालयले दियो यस्तो अवसर

हिमाल प्रेस ३० मंसिर २०८० १२:३३
4.2k
SHARES
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई शिक्षा मन्त्रालयले दियो यस्तो अवसर

काठमाडौँ- शिक्षा मन्त्रालयले कक्षा ५ देखि १० सम्म प्रयोग हुने सिकाइ सामग्री निर्माणका लागि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रतिस्पर्धा गराउने भएको छ। मन्त्रालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयसँग सम्बन्धित सिकाइ सामग्री निर्माणका लागि प्रतिस्पर्धा गराउन लागेको हो।

यसलाई मन्त्रालयले STEAM Materials नाम दिएको छ। मन्त्रालयको आ. व. २०८०/०८१ को वार्षिक कार्यक्रमअनुसार विश्वविद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराउन लागिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सूचनामा उल्लेख छ, ‘यस वर्षको प्रतिस्पर्धाको विषय माध्यमिक विद्यालयहरू (कक्षा ५-१०) मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित ( STEAM) सिकाइ सामग्री निर्माण रहेको छ।’

कार्यक्रमअन्तर्गत पहिलो चरणमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समूहबाट निवेदन माग गरिएको हो। प्रतिस्पर्धामा सहभागी हुन चाहनेले पुस १८ गतेसम्म कार्यालय समयभित्र आइपुग्ने गरी सोही कार्यविधिको अनुसूची- २ बमोजिमको ढाँचामा मन्त्रालयमा आइपुग्ने गरी वा सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी [email protected] मा इमेल गरी निवेदन दिनुपर्नेछ।

प्राप्त निवेदनहरूबाट दोस्रो चरणका लागि समूह छनोट गरिने मन्त्रालयको सूचनामा उल्लेख छ। विद्यार्थी समूहले आफ्नो सोचअनुसारको वस्तु निर्माण गर्न चार महिनाको समय पाउनेछन्। दोस्रो चरणमा छनोट भएका समूहलाई ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८०’ बमोजिम सहयोग रकम प्रदान गरिने मन्त्रालयको सूचनामा उल्लेख छ।

छनोट भएमा सामग्री निर्माणका लागि एक लाख रुपैयाँ उपलब्ध गराइनेछ भने पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =