नेम्वाङको उत्तराधिकारी पर्खिरहेको इलाम

हिमाल प्रेस २२ कार्तिक २०८० १३:१९
50
SHARES
नेम्वाङको उत्तराधिकारी पर्खिरहेको इलाम

इलाम- एमाले संसदीय दलका उपनेता एवम् पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम उनको उत्तराधिकारीको पर्खाइमा रहेको छ। नेम्वाङको निधन भएको दुई महिना भएको छ। उनको निधन भदौ २७ गते हृदयाघातबाट भएको थियो। उनको निधनपछि प्रतिनिधिसभाअन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको छ। अब त्यहाँ निर्वाचन आयोगले उपनिर्वाचन गर्नेछ।

एमालेका इलामका कार्यकर्ताबीच अब को बन्ला नेम्वाङको उत्तराधिकारी भन्ने जिज्ञासा उत्पन्न भएको छ। तर उत्तराधिकारी बनेर नेम्वाङको विरासत धान्न भने त्यति सजिलो छैन। नेम्वाङले सो क्षेत्रमा निरन्तर पाँच पटक चुनाव जितेका थिए। यसैगरी राष्ट्रिय राजनीतिमा पनि नेम्वाङको राम्रो प्रभाव थियो।

एमाले इलामका एक नेताका अनुसार नेम्वाङ लगातार चुनाव लडेका कारण सोही क्षेत्रमा उठ्ने व्यक्तिकै अभाव छ। ‘हाम्रा नेताहरू सबै प्रदेश वा स्थानीय तहमा चुनाव लडिसक्नुभएको छ। प्रतिनिधिसभामा लड्ने व्यक्तिको अभाव छ’, ती नेता भन्छन्।

अहिले एमालेबाट उठ्ने चर्चामा रहेका नेताहरूमा नेम्वाङ पुत्र सुहाङ नेम्वाङ, एमाले इलाम उपाध्यक्ष उदय राई, उपसचिव रवीन्द्र सुवेदी र पूर्वसचिव गणेश बराल हुन्। सुहाङ अचेल जिल्लाकै विभिन्न पार्टी कार्यक्रममा सहभागी हुन थालेका छन्। उनले खेलकुद क्षेत्रमा योगदान दिँदै आएका छन्।

एमाले जिल्ला उपाध्यक्ष राई पनि उम्मेदवारका लागि आकांक्षी हुन्। पार्टीको जिल्ला राजनीतिमा सिनियर राई २०७९ को स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए। पूर्वसचिव बराल पनि प्रदेशसभा निर्वाचनमा इलाम २ को १ मा पराजित भएका थिए।

प्रदेशसभामै हार व्यहोरेका नेतालाई प्रतिनिधिसभामा लैजान नमिल्ने एमाले नेताहरूको तर्क छ। बराललाई एमालेको भावी जिल्ला अध्यक्षका रूपमा हेरिएको छ। उनले प्रतिनिधिसभामा अरू कसैलाई उठाएर आफू अध्यक्षको लाइनमा लागेको कतिपयको बुझाइ छ।

उपसचिव सुवेदी पनि पछिल्लो समय टिकटका दाबेदार रहेको एमाले स्रोतको दाबी छ। सुवेदी इलाम-२ कै देउमाई नगरपालिकाका बासिन्दा हुन्। एमाले नेताहरूका अनुसार नेम्वाङको क्षेत्रमा चुनाव लड्न सहज छैन। कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग प्रतिस्पर्धा गरेका नेम्वाङले ११४ मतको अन्तरले जित निकालेका थिए।

कांग्रेसभित्रको अन्तद्र्वन्द्वका कारण नेम्वाङले चुनाव जितेको चर्चा पनि थियो। कांग्रेस संस्थापन पक्ष निकट मानिने खड्कालाई हराउन कोइराला पक्षका नेताहरू नै सक्रिय रहेको इलाम कांग्रेस वृत्तमा चर्चा थियो।

नेम्वाङले त्यसकै फाइदा लिएको उनीहरूको बुझाइ छ। कांग्रेसबाट भने खड्का र नेता भेषराज आचार्यमध्ये एक जना मैदानमा उत्रने चर्चा छ। ‘अहिले नै चुनावको बारेमा बोल्ने समय आएको छैन।’ एमाले इलाम सचिव उमेश गुरुङ भन्छन्,‘केन्द्रीय स्तरबाटै जे निर्णय हुन्छ। त्यो हामीले मान्नुपर्छ।’ उनले बाहिर चर्चामा आएजस्तो उम्मेदवारका आकांक्षी नरहेको बताए।

होला त खनालको इन्ट्री?

नेम्वाङको निर्वाचन क्षेत्रमा उठ्न पछिल्लो समय पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत आकांक्षी देखिन्छन्। एमालेले साथ दिएमा आफू इलाम-२ मा उठ्न तयार रहेको उनको भनाइ छ।

एमालेका एक नेताका अनुसार कोशी प्रदेशमा हिक्मत कार्कीको सरकार बचाएर खनाललाई एमालेले इलाममा साथ दिने विषयमा कुराकानी भएको थियो। ‘कोशीमा कार्कीको सरकारलाई सहयोग गरेर खनाल यता उठ्न चाहनुभएको थियो। तर समाजवादीभित्रै कुरा नमिल्दा सहमति हुन सकेन’, ती नेता भन्छन्।

खनालले इलाम-२ मा उठ्न एमाले नेताहरूसँग परामर्श गरिरहेको ती नेताले बताए। पछिल्लो समय खनालले एमालेका केन्द्रीय नेताहरूसँग पनि बाक्लो संवाद गर्दै आएका छन्।

नेम्वाङको निधनपछि पनि खनाल दुईपल्ट खनाल एमालेको मुख्यालय पुगेका थिए। पार्टी विभाजनपछि एमाले मुख्यालय नटेकेका खनाल पछिल्लो समय मुख्यालय पुग्नुलाई पनि एमालेसँग सम्बन्ध सुधार भएको एमाले नेताहरू सुनाउँछन्।

खनाल २०७९ को प्रतिनिधिसभा चुनावमा इलाम-१ मा एमाले नेता महेश बस्नेतसँग हारेका थिए। एकीकृत समाजवादीको संसदीय राजनीतिमा ‘स्पेस’ लिन पनि खनाल सांसद बन्न चाहन्छन्। त्यसैले उनले भन्दै आएका छन्, ‘आवश्यक परेमा उम्मेदवारी दिन तयार छु।’

प्रकाशित: २२ कार्तिक २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =