अफगानिस्तानलाई ‘तीतो गोली’

हिमाल प्रेस २२ कार्तिक २०८० ७:१०
36
SHARES
अफगानिस्तानलाई ‘तीतो गोली’

काठमाडौँ- विश्वकप क्रिकेटमा मंगलबार अफगानिस्तान अस्ट्रेलियासँग तीन विकेटले पराजित भयो। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा २९१ रन बनाएको थियो। ग्लेन म्याक्सवेलको दोहोरो शतकपछि अस्ट्रेलियाले १९ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो।

भारतमा जारी यो विश्वकपमा अफगानिस्तानले तीन पूर्वविजेतालाई हराइसकेको छ। यसकारण अफगानिस्तानले अस्ट्रेलियालाई पनि कडा टक्कर दिने अनुमान गरिएको थियो। भयो पनि त्यस्तै। मुम्बईको वाङ्खेडे रंगशालामा अफगानिस्तानले एक बिन्दूमा अस्ट्रेलियालाई ९१–७ को स्थितिमा पुर्‍याएको थियो।

अफगानिस्तानसँग म्याक्सवेललाई रोक्ने अवसर थियो। म्याक्सवेल ३३ रन बनाएर खेलिरहँदा मुजिब उर रहमानले उनको क्याच छाडेका थिए। आखिरमा ३५ वर्षीय अलराउन्डर म्याक्सवेलले अविजित २०१ रन बनाए। योसँगै उनी विश्वकपमा दोहोरो शतक बनाउने तेस्रो ब्याट्सम्यान बने। यसअघि यो सफलता न्युजिल्यान्डका मार्टिन गुप्टिल र वेस्टइन्डिजका क्रिस गेलको नाममा मात्र थियो।

अस्ट्रेलियाविरुद्धको हारलाई अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले तितो गोली भनेका छन्। ‘म्याक्सवेल जस्ता खेलाडीलाई मौका दिएपछि दण्ड दिन्छन् नै। खासमा हामीसँग मौका थियो, अस्ट्रेलियालाई हराउने। यस्तो बलियो टिमसँग खेल्दा पाइने मौका खेर फाल्नु हुँदैन। तर हामीले खेर फाल्यौँ,’ ट्रोटले भने।

इंग्ल्यान्डका पूर्वब्याट्सम्यान ट्रोटले म्याक्सवेलको दोहोरो शतकको तारिफ गरे। तर म्याक्सवेललाई दोहोरो शतकमा पुग्न दिनु आफूहरुको गल्ती भएको उनको स्वीकारोक्ति थियो। ‘उनलाई बधाई दिनैपर्छ।

उनले जसरी ब्याटिङ गरे, उनील दोहोरो शतकको हकदार थिए। क्रिकेटमा कहिलेकाहिँ कुनै एक खेलाडीले यसरी खेल्छन् कि तारिफबाहेकको विकल्प हुँदैन। तर आज म्याक्सवेललाई हामीले त्यसरी खेल्न दिनु हुँदैन थियो। उनलाई सुरुमै आउट गर्नुपर्ने थियो,’ ट्रोटले भने।

अस्ट्रेलियालाई स्तब्ध बनाउन सकेको भए अफगानिस्तान सेमिफाइनलतिर अघि बढ्ने थियो। बरु जितपछि अस्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का ग¥यो। ‘अहिलेसम्म जति जित हात पारेका छौँ, त्यसमा हामी खसी छौँ। जितको खुसीयाली मनाएका छौँ। म फेरि पनि भन्छु, सबै जित पूरा टिमको मेहनतले गर्दा सम्भव भएका हुन्। हार्दा समग्र टिमको गल्ती हुन्छ। कोही एक खेलाडी जिम्मेवार हुँदैन,’ ट्रोटले स्पष्ट पारे।

हारे पनि अफगानिस्तानको प्रदर्शनको केही सकारात्मक पक्ष थिए। त्यस्तै एक पक्ष थिए, इब्राहिम जार्दान। उनले १२१ रन बनाए। यो शतक विश्वकपमा अफगानिस्तानका खेलाडीले बनाएको पहिलो शतक हो।

‘विश्वकपमा शतक प्रहार गर्नुसक्नु चानचुने कुरा होइन। कतिपय क्षणमा उनी चाँडो खेल्नसक्थे। तर समग्रमा उनको ब्याटिङ अब्बल थियो। उनी प्रतिभावान् खेलाडी हुन्, असल मान्छे हुन्। उनको सफलताले मलाई खुसी बनाएको छ,’ ट्रोटले भने।

अफगानिस्तानले अब समूह चरणमा एक खेल खेल्न बाँकी छ। यो खेल दक्षिण अफ्रिकाविरुद्ध हुनेछ। शुक्रबार अहमदाबादमा यो खेल जिते सेमिफाइनल पुग्ने अफगानिस्तानको सम्भावना गणितीय रुपमा भए पनि कायम रहनेछ। गणितीय किन पनि भनिएको हो भने, अफगानिस्तानको सम्भावना अन्य नतिजामा पनि भर पर्नेछ।

‘हामी न्युजिल्यान्डसँग पराजित भयौँ। त्यसपछिका तीन खेल जितियो। त्यसअघि भारतसँग हारेका थियौँ, लगत्तै इंग्ल्यान्डलाई हराउन सक्यौँ। हामीले प्रत्येक पराजयपछि पुनरागमन गरेका छौँ,’ ट्रोटले भने, ‘हामीसँग अब फेरि पुनरागमन गर्नेबाहेकको विकल्प छैन। हारबाट सिक्ने र आगामी खेलमा राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हुनुपर्छ। अनुभवबाट सिकेरै अघि बढ्ने हो। तर यो अनुभव हाम्रा लागि तितो गोली हो।’

१० टिम सहभागी विश्वकपमा अफगानिस्तान हाल छैटौँ स्थानमा छ। आठमध्ये चार खेल जितेको अफगानिस्तानसँग आठ अंक नै छ। चौथो स्थानको न्युजिल्यान्ड र पाँचौँ स्थानको पाकिस्तानले पनि आठ–आठ अंक बटुलेका छन्।

हालको समीकरणलाई मध्यनजर गरेर ट्रोटले अफगानिस्तानको सेमिफाइनल सम्भावना नसकिएको संकेत गर्छन्। ‘यो खेल जितेको भए हामीसँग १० अंक हुने थियो। आशा छ दक्षिण अफ्रिकाविरुद्धको खेलपछि हामीसँग १० अंक हुनेछ,’ ट्रोटले आत्मविश्वास व्यक्त गरे।

प्रकाशित: २२ कार्तिक २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =