अफगानिस्तान : मेहनत, ऊर्जा र सपना

हिमाल प्रेस २१ कार्तिक २०८० ७:०४
44
SHARES
अफगानिस्तान : मेहनत, ऊर्जा र सपना

काठमाडौँ- अफगानिस्तानका कप्तान हस्मतुल्लाह शाहिदीले एक दिवसीय विश्वकप क्रिकेटमा बलिया टिमसँग भिड्न आफूहरुमा ऊर्जा बाँकी रहेको बताएका छन्। अफगानिस्तान मंगलबार मुम्बईमा अस्ट्रेलियासँग भिड्दैछ।

अफगानिस्तानले भारतीय भूमिमा जारी विश्वकपमा तीन पूर्वविजेतालाई हराएर सनसनी मच्चाइरहेको छ। सात खेलमध्ये चारमा जित हात पारेको अफगानिस्तान हाल छैटौँ स्थानमा छ। चौथो स्थानको न्युजिल्यान्ड र पाँचौँ स्थानको पाकिस्तानले अफगानिस्तानभन्दा एक–एक खेल बढी खेलर समान आठ–आठ अंक नै बटुलेका छन्।

हालको अंक समीकरणका कारण अफगानिस्तानले सेमिफाइनलको सपना देखेको छ। सेमिफाइनल पुग्ने सपना देख्नु आफैँमा ठूलो छलाङ हो। सपना अनुसारको प्रदर्शन अफगान खेलाडीले गरेका पनि छन्। पछिल्ला दुई विश्वकपमा जम्मा एक जित हात पारेको अफगानिस्तानले यसपालि चार खेल जितिसकेको छ।

अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ६९ रनले हराएको थियो। त्यसपछि पाकिस्तानमाथि आठ र श्रीलंकामाथि सात विकेटको जित दर्ता गरेको थियो। यस्तोमा अफगान समर्थक आफ्नो टिमले अस्टे«लियालाई कठिन चुनौती दिनेमा आशावादी छन्।

वाङखेडे रंगशालामा पाँच पटकको विश्वकप विजेताविरुद्ध फास्ट बलर र उपल्लो क्रमका ब्याट्सम्यानले बलियो प्रदर्शन गर्ने कप्तान हस्मतुल्लाहको अपेक्षा छ। अफगानिस्तानको स्पिन विभागमा रशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी छन्। यी तीनले हालसम्म उच्चकोटीको बलिङ गरेका छन्। कप्तान हस्मतुल्लाह समग्र टिमबाट अझ धेरै आश गर्न सकिने बताउँछन्।

‘हामी बहादुर देश हो। हामीले क्रिकेटमा पनि बहादुरी देखाएका छौँ। क्रिकेटमा हामीले छोटो समयमै छलाङ मारेका छौँ। हामी हाल जहाँ छौँ यहाँसम्म आइपुग्न अरु देशले निकै समय लगाएका हुन्,’ हस्मतुल्लाहले भने, ‘अहिले विश्व नै हाम्रो टिमको चर्चा गरिरहेको छ। टिमका रुपमा हामी खुसी छौँ। तर कप्तानका हैसियतले म अझैँ पूर्ण सन्तुष्ट छैन।’

२९ वर्षीय हस्मतुल्लाहले अस्ट्रेलियाविरुद्धको खेल आफ्नो टिमका लागि महत्त्वपूर्ण भएको र विश्वकपको अन्तिम खेलसम्मै बहादुरीपूर्वक खेल्ने अठोट व्यक्त गरे। ‘हामी जबसम्म घर फर्कंन हामी जहाज चढ्दैनौँ, तबसम्म हामी गम्भीर भएर खेल्नेछौँ। आराम गर्ने त विकल्पै छैन। अन्तिमसम्म एक भएर लड्नु नै हाम्रो टिमको एक मात्र लक्ष्य हो,’ हस्मतुल्लाहको भनाइ छ।

अफगानिस्तानका ओपनर शहिदी हाल सबैलाई छक्क पार्नेगरी खेलिरहेका छन्। पछिल्ला आठ खेलमा उनले कुल दुई सय ८२ रन बनाएका छन्। औसतमा उनी ७०.५० रन बटुलिरहेका छन्। उनी अफगानिस्तान यहाँसम्म त्यत्तिकै आइनपुगेको बताउँछन्।

‘आत्मविश्वास, कडा मेहनत र प्रतिभाका कारण हामीले यो यात्रा तय गर्न सकेको हो। पहिलो खेलबाटै हामीमा आत्मविश्वास थियो। तर आत्मविश्वासको स्तर जाँच्न हामीले खेल जित्नुपर्छ। जब हामीले इंग्ल्यान्डलाई हरायौँ, तब आत्मविश्वास उच्च भयो। त्यसपछि पाकिस्तानलाई जित्यौँ, आत्मविश्वास बढ्दै गयो। अब हामी पछाडि फर्कनेवाला छैनौँ,’ शाहिदी भन्छन्।

शाहिदीले अफगानिस्तानको सफलताकोे श्रेय आफ्ना प्रशिक्षक जोनाथन टोटलाई पनि दिएका छन्। टोटले आफूहरुलाई ब्याटिङ र फिल्डिङमा अनुशासित बन्न सिकाएको शाहिदीको भनाइ छ।

अफगान खेलाडीको प्रशंसा केवल अफगानिस्तानमा मात्र भइरहेको छैन। अरु देशमा पनि भइरहेको छ। विश्वकप आयोजक भारतमा पनि यो टिमको तारिफ गरिँदैछ। ‘अफगानिस्तानमा सबै खुसी छन्। हरेक अफगान यो सफलतामा गर्व महसुस गरिरहेका छन्। अफगानिस्तानमा मात्र होइन, भारतमा हामीले प्रशंसा बटुलिरहेका छौँ। भारतीयहरु हामीलाई समर्थन गरिरहेका छन््। अस्ती एक ट्याक्सी चालकले मसँग भाडा लिन मानेनन्। भारतीयहरु हामीलाई कसरी हेर्छन्, यो एउटा उदाहरण हो,’ शाहिदी भन्छन्।

अस्टे«लियासँगको खेलअघि अफगानिस्तानले वाङखेडेमा अभ्यास गरेको थियो। जहाँ अफगान खेलाडीहरुलाई भेट्न सचिन तेन्दुलकर पुगे। ‘हामीले पहिलो पटक सचिनसँग भेट्ने मौका पाएको हो। हामी सबैजना उत्साहित भयौँ। किनभने टेलिभिजनमा उनको खेल हेरेर हामी हुर्किएको हो। हाम्रा लागि उनी आदर्श हुन्,’ शाहिदीले भने।

प्रकाशित: २१ कार्तिक २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =