काठमाडौँ- पूर्वी अफगानिस्तानको एक विद्यालयमा भएको शक्तिशाली विस्फोटमा परी सात बालबालिकासहित १० जनाको मृत्यु भएको छ भने कम्तीमा सय जना घाइते भएका छन्।
मृत्यु हुनेमा दुई महिलासमेत रहेका छन्।
बीबीसीले जनाएअनुसार यो घटना शनिबार कुनार प्रान्तको राजधानी असदाबादस्थित अन्दरसैर क्षेत्रमा भएको हो।
कुनारको सूचना तथा संस्कृति विभागका प्रमुख समीउल्लाह हकबयानले शनिबार बिहान १० बजेतिर विस्फोट भएको बताएका छन्।
स्थानीय अधिकारीहरुका अनुसार खानी उत्खननको क्रममा स्थानीयले प्रयोग गर्ने विस्फोटक पदार्थका कारण यो दुर्घटना भएको। बारुद असदाबादको एक घरमा भण्डारण गरेर राखिएको थियो, जसको पर्खाल विद्यालयसँग जोडिएको थियो।
प्रकाशित: १२ मंसिर २०८३ १८:०४ | Saturday, November 28, 2026
प्रतिक्रिया



