केराखेती मासेर फूलखेती

हिमाल प्रेस २५ कार्तिक २०८० १७:१९
16
SHARES
केराखेती मासेर फूलखेती

नारायणगढ- चितवनको कालिका नगरपालिका-१ का किसानले केराखेती मासेर फूलखेती गरेका छन्। वडा नं १ लंकालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्त रूपमा फूलखेती गरिरहेका हुन्।

तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताए। विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यले यहाँ फूलखेती गरिएको उनको भनाइ छ।

कालिका–५ का स्थानीय बासिन्दा पौडेल एक प्रांगारिक कृषिको अभियन्तासमेत हुन्। उनले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्रांगारिक खेती गर्दै आएका छन्। ‘विगतमा केराखेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौँ,’ उनले भने, ‘स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सक्छौँ।’

उन्नति कृषि फार्ममार्फत एकै ठाउँमा तीन बिघा क्षेत्रफल जग्गामा फूलखेती गर्दै आएको बताउँदै पौडेलले यस स्थानमा ६० हजार सयपत्री फूलका बिरुवा रोपेको जानकारी दिए। ‘राम्रो बजारीकरण हुनसकेमा एउटा बिरुवाबाट हामीले ३० देखि ४० रुपैयाँसम्म लिन सक्छौँ,’ उनले भने।

दुई जना मिलेर फूलखेती सुरु गरेको भन्दै उनले यसका लागि करिब ५ लाख ५० हजार रुपैयाँ लगानी गरिएको बताए। पौडेलले यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने आशा रहेको बताए। ‘पहिला केराखेती गर्दा रासायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको थियो।

यसलाई विस्तारै सुधार्दै लगेर प्रांगारिकतर्फ लैजाने योजना छ।’ यहाँ सूर्यमुखी फूलको खेती पनि गर्ने तयारी भइरहेको उनले जानकारी दिए। रत्ननगर नगरपालिका–१५ घर भएका कृषक वाइबाले पौडेलसँग मिलेर पहिलोपटक साझेदारीमा फूलखेती गरेको बताए।

विगतको वर्षभन्दा यस वर्ष चितवनमा फूलखेती अलि बढीमात्रामा गरिएको भन्दै उनले यहाँ उत्पादन भएका फूल स्थानीय बजारभन्दा पनि काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा निर्यात गर्ने गरिएको उनीहरूको भनाइ छ।

वाइबाले स्थानीय पालिकाले केही मात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेको जानकारी दिए। ‘हाल दैनिक सातदेखि आठ क्विन्टल फूल बिक्री हुँदै आएको छ,’ वाइबाले भने, ‘हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइबाले अब दुई/तीन दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताए। रासस

प्रकाशित: २५ कार्तिक २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =