कृषि उद्यम

दिलबहादुरले फैलाएको मनकामना नर्सरीको सञ्जाल

विजय नेपाल २० कार्तिक २०८० ११:०६
328
SHARES
दिलबहादुरले फैलाएको मनकामना नर्सरीको सञ्जाल आफ्नो नर्सरीमा दिलबहादुर गुरुङ। तस्बिर : हिमाल प्रेस

पोखरा- १७ वर्षअघि गोरखा मान्बुका दिलबहादुर गुरुङले पोखरामा खोलेको मनकामना नर्सरी सफल नहुँदो हो त अहिले ‘मनकामना’ नर्सरीको सञ्जाल फैलिने थिएन। आफ्नै जिल्लाको प्रसिद्ध मनकामना मन्दिरको नामबाट खोलिएको मनकामना नर्सरीको सञ्जाल पोखरामात्र नभई काठमाडौँ, चितवन, बुटवललगायतका सहरमा विस्तार भइरहेको छ।

२०६३ सालमा मलेसियाबाट फर्केर १४ लाख लगानीमा पुष्प व्यवसायमा हात हालेका दिलबहादुरले पछाडि फर्कनुपरेको छैन। उनले व्यवसाय थाल्दा पोखरामा चार जना पुष्प व्यवसायी थिए। पहिलो सिजनमा उनको आम्दानी १३ हजार भयो। त्यसैबाट हौसिएका उनी दुई दशक नबित्दै आफूमात्र सफल भएनन्, दाजुभाइ, आफन्त तथा छरछिमेकलाई पनि पुष्प व्यवसायमा लाग्न प्रेरित गरे। त्यसैले त उनको प्रेरणाबाट खोलिएका नर्सरीको नाम जताततै ‘मनकामना’ भेटिन्छ।

सुरुका दिनमा फूलखेतीबाट के आम्दानी हुन्छ र? भन्नेहरूका निम्ति उनी गतिलो उदाहरण हुन्। दिलबहादुरकै सिको गरेर पोखरासहित काठमाडौँ, चितवन, बुटवललगायतका सहरमा करिब ३० जनाले पुष्प व्यवसाय गरेका छन्। उनीहरू अधिकांश दिलबहादुरका आफन्त हुन्। जहाँ-जहाँ खोलिएका छन्, ती सबैजसोको ‘मनकामना’ नाम जोडिएको छ।

 फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान) कास्की अध्यक्षसमेत रहेका ५५ वर्षीय दिलबहादुरले भने, ‘काका तथा दाजुभाइका छोराछोरीसहित आफन्त शुभचिन्तक गरी करिब ३० जना जतिले फूलको व्यावसायिक खेती गरेका छन्। सबैले जहान-केटाकेटी राम्रैसँग पालेका छन्।’

जहाँतहीँ मनकामना

दिलबहादुरका काकाका छोरा मेघबहादुर गुरुङले चितवनमा मनकामना नर्सरी सञ्चालन गरेका छन्। दाइका छोरा बुद्ध गुरुङले चितवनमै अर्को नर्सरी खोलेका छन्।

उनका काकाका अर्का छोरा कृष्ण गुरुङले बुटवलमा मनकामना नर्सरी थालेको वर्षौँ भयो। बहिनी सम्झना गुरुङले काठमाडौँमा मनकामना नर्सरी चलाउँछिन्। दाजु दिलबहादुरको आइडिया र पति अमर घलेको साथ पाएर उनले त्यसको शाखा चितवनमा समेत विस्तार गरेको सम्झना बताउँछिन्।

दिलबहादुरका माइला भाइ काशी गुरुङ पोखरा-१६ दीपमा तमु गोरखा मनकामना नर्सरीमा व्यस्त छन्। काकाका छोरा सुरेन्द्र गुरुङ पोखरा-१४ चाउथेमा प्लान्ट हाउस मनकामना नर्सरी चलाएका छन्। उनले त्यसको शाखा पोखरा-१७ ड्यामसाइडमा पनि विस्तार गरेका छन्।

उनका भाइ केरमान गुरुङले पोखरा-११ फूलबारीमा बृहत् रूपमा गोरखा मनकामना खोलेका छन्। पोखरामा सञ्चालित नर्सरीमा सम्भवतः उनको सबैभन्दा ठूलो हो।
यतिमात्र कहाँ हो र! काकाका छोरा नाता पर्ने लेखबहादुर गुरुङले पृथ्वी राजमार्गअन्तर्गत पोखरा बुद्धचोकमा सानुभाइ मनकामना नर्सरी चलाएर मनग्य आम्दानी गरिरहेका छन्। दाइका छोरा शंकर गुरुङले पोखराको दुईकुलाको मुहानमा केबलकार मनकामना नर्सरी सुरु गरेका छन्।

यसरी रोजाइ बन्यो नर्सरी व्यवसाय

वैदेशिक रोजगारीका लागि लामो समय मलेसियामा बिताएका दिलबहादुर नेपाल फर्कँदा काठमाडौँलाई नै सबैथोक ठान्थे। त्यसैले उनी काठमाडौँमा बसेर केही गर्ने योजना बनाउँदै थिए। यसै क्रममा उनी पोखरा पुगे। राजधानी काठमाडौँलाई राम्रो सहर मान्ने उनी पोखरामा पहिलोपल्ट आएपछि मोहित भए। उनले काठमाडौँमा केही गर्ने योजना बदले। अनि प्राकृतिक रूपमा सुन्दर पोखरामै बसेर केही गर्ने योजना बुने। मलेसियामा बस्दा चियाबगान र बगैँचामा काम गरेका उनलाई धेरथोर आइडिया थियो। त्यसैले उनको रोजाइ बन्यो नर्सरी व्यवसाय।

दिलबहादुरले पोखरा-१७ ड्यामसाइडमा स्थानीय गोविन्द बरालको चार रोपनी जति जग्गा भाडामा लिए। झाडी र बुट्यान फाँडे। १४ लाख रुपैयाँ लगानीमा मनकामना नर्सरीका नामबाट पुष्प व्यवसामा होमिए। फूलखेतीबाट के आम्दानी हुन्छ र? भनी कतिपयले त उनलाई खिसिट्युरी पनि गरे। तर हरेस खाएनन्। फूल तथा प्लान्टहरु भारत लगायतका देशबाट मगाए।

पहिलो एक महिनामै १३ हजार कमाए। यसैबाट राम्रो आम्दानी हुँदो रहेछ भन्ने लाग्यो। लगानी बढाउँदै गए, दिनरात मेहनत गरे। उनले रामबजार र बिरौटामा गरी शाखा विस्तार गरे। फूलको बजार खोज्न कहीँ जानु परेन। पोखरामै पर्याप्त माग थियो। कतिपय ग्राहक त नर्सरीमै आउन थाले। प्लान्ट तथा फूल बेच्ने उनले सुरुका दिनमा एउटा तिहारमा त पाँच लाख जति कमाए।

उनी बर्सेनि एक लाख जति हाराहारीमा बिरुवा बेच्ने बताउँछन्। राम्रै आम्दानीबाट घर गृहस्थी चलाएका छन्। परिवारमा श्रीमती मनकुमारी गुरुङले सघाउँछिन्। साथै २ छोरा र १ छोरी पनि पढाइसँगै बेलाबखत नर्सरीमै आमाबासँग साथ लाग्छन्।

नर्सरीका प्रेरणादायी व्यक्तित्व दिलबहादुरले ती दिन सम्झे, ‘सुरुमा त मलाई उडाए नि! कहाँ फूलमा पनि लगानी गर्ने भनेर! तर गर्दै जाँदा भयो त। मैले राम्रो गरेपछि त्यसैको प्रेरणामा आफ्नै दाजुभाइ, छोराछोरीहरु, आफन्त तथा शुभचिन्तक जोडिए। म त्यतिबेला विफल भएको भए सायदै मेरो पछि लाग्ने यति धेरै हुन्थेनन् होला।’
सबै जना सफल भएको देख्दा उनी प्रसन्न छन्।

सरकारले भने नर्सरी व्यवसायका लागि खासै सहयोग गरेको छैन। गत वर्षमात्र गण्डकी प्रदेश सरकारले आफूलाई एउटा टनेलका लागि २ लाख अनुदान दिएको उनले जानकारी दिए।

नेपालमा रोजगारीको अभावसँगै युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता यी र यस्तै सानासाना व्यवसायबाट हटाउन सकिने उनी बताउँछन्। जग्गा भाडा अवधि सकिएपछि दिलबहादुरले अहिले ड्यामसाइडबाट पोखरा-१७ पावरहाउसमा आफ्नो नर्सरी लगेका छन्। दुई वर्षअघि स्थानान्तरण गरिएको नर्सरीको अहिलेको नाम-सिजनल मनकामना नर्सरी हो।

फूलमा आत्मनिर्भर बन्दै पोखरा

नर्सरी व्यवसायमा किसान आकर्षित हुँदै गएपछि पोखरा फूलमा आत्मनिर्भर हुँदै गएको छ। विगतमा ९० प्रतिशतसम्म फूल आयात गर्नुपर्ने पोखराले अहिले तिहारको बेला मात्र २० प्रतिशत फूल आयात गर्छ। पोखरा महानगरपालिका आफैँले पनि किसानलाई अनुदान सहयोग गर्ने गरेको छ।

पोखरामा तिहारका बेला तीन करोडभन्दा बढीको फूलको कारोबार हुन्छ। ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउँछ। त्यसैले पोखरा महानगरले भारतीय फूलको आयात रोक्न सूचना जारी गरेको छ। उच्च माग हुने सयपत्री फूल गत कात्तिक १ देखि नै आयात रोक्न पोखरा महानगरले अनुगमन थालेको छ।

यसपालि पोखरा महानगर सहयोगमा थप एक सय रोपनीमा फूलखेती विस्तार भएको छ। महानगर आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखरामा एक सय २० जना किसानलाई पाँच लाख फूलका बिरुवामा ५० प्रतिशत अनुदान दिइएको छ। महानगरले बिउदेखि प्राविधिकसम्म सहयोग गर्छ।

तिहारबाहेक भ्यालेन्टाइन डेमा पोखरामा फूलको माग बढी हुन्छ। केही फूल स्याङ्जा, बागलुङ, गोरखालगायत जिल्लाबाट आउँछ भने बाँकी भारतबाट आउने गरेको छ। यस क्षेत्रमा करिब तीन सय प्रजातिका फूलको व्यावसायिक खेती हुँदै आएको छ।

पोखरामा स्व. सिकन्दर गुरुङको नेतृत्वमा २०६५ सालमा पोखराका पुष्प व्यवसायी संगठित भएका थिए। त्यसबेला ११ जना सदस्य आबद्ध भएकोमा हाल बढेर ४८ पुगेका छन्।

फूलमा चाँडै आत्मनिर्भर, पुष्प व्यवसायमा साढे ७ अर्ब लगानी

फूलखेतीबाट उद्यमी बनेकी सुनिता

प्रकाशित: २० कार्तिक २०८० ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =