कृषि उद्यम

सहकारीमार्फत फस्टाउँदै फूलखेती

विवेक विवश रेग्मी २३ कार्तिक २०८० ७:४१
42
SHARES
सहकारीमार्फत फस्टाउँदै फूलखेती मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित कादम्बिनी कृषि सहकारी संस्था लिमिटेडले गरेको फूलखेती। तस्बिर : विवेक विवश रेग्मी

इटहरी– तिहार नजिकिँदैछ। तिहार फूलहरूको पर्व हो। तिहारमा यस वर्ष सरकारले भारतलगायत विदेशी मुलुकबाट फूल आयातमा प्रतिबन्ध लगाएको छ। यसकारण फूलखेती गर्ने किसान खुसी छन्। तर तिहारको समयमा मात्रै नभएर बाह्रै महिना विदेशी मुलुकबाट फूल आयातमा प्रतिबन्ध लगाए किसानलाई गर्न प्रोत्साहित मिल्ने व्यवसायीहरू बताउँछन्।

कोशी प्रदेशमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसान प्रशस्त छन्। तर फूलखेती सीमित समयमा मात्रै गरेजस्तो देखिने भएकाले उनीहरू सन्तुष्ट देखिँदैनन्। व्यक्तिगत रूपमा मात्रै होइन संस्थागत रूपमा फूलखेतीको पनि आफ्नै कथाव्यथा छ। संस्थागत रूपमा गरिएको फूलखेती फस्टाउन थालेपछि किसान उत्साहित भएका छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँस्थित कादम्बिनी कृषि सहकारी संस्था लिमिटेडले फूलखेती गर्न थालेको तीन वर्ष भयो। उपभोक्ताको माग भए पनि बजारको व्यवस्था छैन। यस्तो हुँदो हो त बाह्रै मास फूलखेती गर्न सकिने बताउँछन् सहकारीका सचिव मिलन लुइटेल। उनले भने, ‘बजारकै कारण वर्षभरि फूलखेती गर्न सम्भव छैन। त्यसैले तिहारका लागि लक्षित गरेर फूलखेती गर्दै आएका छौँ।’ लुइटेलका अनुसार सहकारीले अहिले चार कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेको छ। सहकारीले ‘कर्मा एक सय एघार’ र ‘टेनिसबल’ प्रजातिका फूलखेती गरेको छ।

‘हामीले सुरुको वर्ष एक कट्ठा जमिन लिजमा लिएर फूलखेतीको परीक्षण गर्‍यौँ। त्यसबेला निकै राम्रो भयो,’ उनले भने, ‘दोस्रो वर्षदेखि निरन्तर चार कट्ठा जमिनमा फूलखेती गरिरहेका छौँ।’ उनका अनुसार अहिले जमिन लिजमा लिएर सहकारीले फूलखेती गर्दा स्थानीयलाई पनि सहज भएको छ।

‘समयमै फुल्ने र बजार पाउने हो भने बाह्रैमास खेती गर्न सकिन्छ,’ लुइटेलले भने, ‘अहिले हामीसँग दुई हजार बोट छन्। यहाँबाट उत्पादन भएका फूलले पाँच हजारभन्दा बढी माला उन्न सकिन्छ।’ उनले विदेशबाट आयात हुने फूललाई निरुत्साहन गर्नुपर्ने बताए। ‘कहिले छिटै फुल्दा समस्या हुन्छ, कहिले ढिलो फुल्दा समस्या छ,’ लुइटेलले भने, ‘हामीलाई इटहरी र विराटनगरको बजारले फूल सधैँ किनिदिए बाह्रै मास उत्पादन गर्न समस्या हुन्थेन।’

सयपत्री फूल उत्पादन गर्न सुरुमा ‘कोकोपिच’ र ‘बर्मिकम’मा बेर्ना राख्नुपर्छ। १५ दिन पछाडि रोप्न तयार हुन्छ। रोपेको २० दिनभित्र ‘पिन्चिङ’ अर्थात् मुन्टो चुँड्नुपर्छ। ‘यसलाई चाहिने हर्मोन हालिरहने, पानी लगाउने जस्ता काम गरिरहनुपर्छ,’ उनले भने।

सयपत्री फूल रोपेको ६० दिनभित्र फुल्न सुरु भए पनि यस वर्ष ४५ दिनमै फुलिसकेको छ। त्यसैले फुलेको फूल सुक्न थालेको उनको भनाइ छ। ‘तीन वर्षअगाडि एक कठ्ठा माटोमा प्रयास गर्‍यौँ, त्यस वर्ष राम्रै भयो,’ उनले भने, ‘दोस्रो वर्ष ढिलो फुल्यो, अहिले छिटो। छिटो फुलेकाले बजारका लागि समस्या भयो।’

सहकारीमा नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि कृषि सहकारीले किसानसँग जोडिएको हुनाले फूलखेती गरिएको उनको भनाइ छ। ‘फूलखेतीको अवधारणा आयो र सामान्य अनुसन्धान गर्दा फूल रोप्ने निर्णय गर्‍यौँँ,’ उनले भने, ‘फूलको प्रजातिबारे केही जानकारी भएपछि फूलखेती गरेका हौँ। आगामी वर्ष यसलाई बढाएर लैजान्छौँ।’ उनले विदेशी आयात रोकेर स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

‘भारतबाट फूल आयातमा प्रतिबन्ध लगाइएको छ। सधैँभर आयात प्रतिबन्ध लगाउँदा फूलखेती व्यावसायिक हुने थियो’, लुइटेलले भने, ‘किसान अन्य खेतीमा निराश हुँदै आएका छन्। फूलखेतीमा पनि बजार अभावले सन्तुष्ट  हुने अवस्था छैन। बजार सुनिश्चित भए किसान आकर्षित हुन्थे।’

उनले नगरपालिकासहित विभिन्न निकायका सरकारले फूलखेतीका लागि किसानलाई आकर्षित गर्न प्रोत्साहित गर्नुपर्ने बताए। नगरपालिकामा कृषि क्षेत्रलाई प्रोत्साहित गर्न प्रस्तावना राख्दा सुनुवाइ नहुने उनको गुनासो छ।

२० हजार लगानी हुँदा करिब एक लाखसम्मको फूल उत्पादन हुने लुइटेलले बताए। सहकारीमार्फत फूलखेता गर्दा सेयर सदस्य पनि जोडिएका छन्। उनले भने, ‘यसको प्रत्यक्ष लाभ त सेयर सदस्य किसानले पाउँदै आएका छन्।’ साथै किसानलाई प्रोत्साहित गरेको लुइँटेलले बताए। ‘व्यक्तिगत लगानी सीमित मानिसको मात्रै व्यापार हुन्छ, सहकारीमा जोडिँदा सेयर सदस्यलाई पनि प्रत्यक्ष लाभ मिल्छ’, उनले भने।

फूलमा चाँडै आत्मनिर्भर, पुष्प व्यवसायमा साढे ७ अर्ब लगानी

दिलबहादुरले फैलाएको मनकामना नर्सरीको सञ्जाल

फूलखेतीबाट उद्यमी बनेकी सुनिता

 

प्रकाशित: २३ कार्तिक २०८० ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =