कृषि उद्यम

फूलमा चाँडै आत्मनिर्भर, पुष्प व्यवसायमा साढे ७ अर्ब लगानी

रमेश भारती १९ कार्तिक २०८० १०:३८
46
SHARES
फूलमा चाँडै आत्मनिर्भर, पुष्प व्यवसायमा साढे ७ अर्ब लगानी तनहुँको आँबुखैरेनी–१ मा ढकमक्क फूलेको सयपत्री फूल। उक्त वडास्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी करिब २६ रोपनीमा फूलखेती गरिएको छ। तस्बिर : रासस

सात अर्बभन्दा बढी लगानी रहेको पुष्प व्यवसाय विस्तारमा सरकारले विशेष सुहलियत दिन सकेको छैन भने उत्पादित फूललाई बजारसम्म ल्याउन नसक्दा ग्रामीण भेगका फूल त्यत्तिकै खेर गइरहेको छ।

काठमाडौँ– नेपाल फूल तथा पुष्पजन्य वस्तुमा आत्मनिर्भरता नजिकै पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपाल फूलमा ९२ प्रतिशत आत्मनिर्भर भएको छ।

आगामी तीन वर्षभित्र नेपाललाई फूल तथा पुष्पजन्य वस्तुमा आत्मनिर्भर बनाउने योजना रहेको प्रवक्ता सवनम शिवाकोटी अर्यालले जानकारी दिइन्। उनले भनिन्, ‘फूल र पुष्पजन्य वस्तुमा आत्मनिर्भर बन्ने योजना चाँडै पूरा हुनेछ।’

नेपालमा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको फूल कारोबार हुने मन्त्रालयको तथ्यांक छ। वार्षिक रूपमा फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएको प्रवक्ता अर्याल बताउँछिन्। ‘सरकारले कृषिमा आत्मनिर्भर बनाउन विशेष योजना र लक्ष्यका साथ काम गरिरहेको छ। अब हामी फूलमा पनि आत्मनिर्भर हुँदैछौँ’, उनले भनिन्।

केही वर्षयता सरकारले पुष्प व्यवसायीलाई सहजीकरण गर्दै आएको उनको भनाइ छ। व्यवसायी भने फूल उत्पादन र बजारीकरणमा सरकारले सहयोग नगरेको गुनासो गर्छन्।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) मा आबद्ध व्यवसायीका अनुसार सरकारले पुष्प व्यवसायीलाई सहयोग गरेको छैन। फ्यानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘पुष्प व्यवसायमा लगानी, सहुलियत र बजार विस्तारमा सरकारले जति गर्नुपर्ने त्यति गर्न सकेको छैन। पुष्प व्यवसायमा जेजस्ता उपलब्धि भएका छन्, निजी क्षेत्रकै प्रयासमा भएका हुन्।’

नेपालमा मौसमी, बहुवर्षे, आलंकारिक, कट फ्लावर र लुज फ्लावर गरी पाँच प्रकारका फूल उत्पादन हुने गरेको व्यवसायी बताउँछन्। यस्तै नेपालमा एक सय ६० प्रजातिका फूल पाइन्छ। तीमध्ये ४२ प्रकारका फूल व्यावसायिक रूपमा उत्पादन भइरहेका छन्।

फूलखेतीमा ४५ हजार किसान

नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङलगायत ४८ जिल्लामा लगभग सात सय ५५ वटा पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको फ्यानको तथ्यांक छ।

फ्यानका अनुसार पुष्प व्यवसायमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्। व्यवसायीहरू नेपालमा एक सय ७५ हेक्टर जमिनमा फूल उत्पादन हुने गरेको बताउँछन्। सरकारी तथ्यांक भने भिन्न छ। कृषि मन्त्रालयका अनुसार लगभग १४७ हेक्टर क्षेत्रफलमा ६ सय प्रजातिका फूल उत्पादन हुँदै आएको छ। पुष्प व्यवसायमा करिब ४५ हजार किसान र उद्यमी आबद्ध रहेको कृषि मन्त्रालयले जनाएको छ।

काठमाडौँको भृकुटीमण्डपमा भएको ‘तिहार फ्लावर एक्स्पो’ मा सजाइएका फूल। तस्बिर : हिमाल प्रेस

नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाका अनुसार फूल तथा पुष्प व्यवयायी क्षेत्रमा करिब साढे सात अर्ब रुपैयाँ लगानी छ। नेपालका ४३ वटा जिल्लामा व्यावसायिक रूपमा फूलखेती हुँदै आएको उनले बताए। वार्षिक रूपमा करिब साढे तीन अर्बको फूलको खपत हुने गरेकामा तिहारमा मात्र नौ करोड रुपैयाँको फूल खपत हुँदै आएको उनले जानकारी दिए।

तिहारमा २१ लाख मालाको आवश्यक

यस वर्षको तिहारमा करिब २१ लाखवटा माला खपत हुने आकलन गरिएको फ्यानका अध्यक्ष तामाङ बताउँछन्। तिहारमा साढे १७ लाखभन्दा बढी सयपत्रीको माला तथा चार लाखभन्दा बढी गोदावरी र मखमलीको माला खपत हुने अनुमान छ। दसैँमा नौ लाखभन्दा बढी माला खपत भएको थियो।

पछिल्लो समय स्वदेशी फूल र पुष्पजन्य वस्तुले नेपालको बजार धान्न थालेको उनले बताए। ‘नेपालमा पनि व्यावसायिक रूपमा फूल तथा पुष्प व्यवसाय फस्टाइरहेको छ। तिहारमा सम्भव भएसम्म नेपालमै उत्पादित फूलको मालाले पुग्नेछ। करिब १० प्रतिशत माला भने भारतबाट आयात होला भन्ने हाम्रो अनुमान हो’, तामाङले भने, ‘नेपालमा फूल तथा पुष्प व्यवसायमा ९२ प्रतिशत आत्मनिर्भर भइसकेको छ। सरकारले व्यवसाय प्रवर्धनमा सहयोग गरे चाँडै फूल तथा पुष्पजन्य वस्तु निर्यातसमेत हुन्छ।’ नेपालमा फूलमा आत्मनिर्भर छ भन्न सरकारसँग क्षमता नभएको उनको आरोप छ।

नेपालमा वार्षिक ५० देखि ६० लाख वटा फूलको माला उत्पादन भएर बजारसम्म पुग्ने गरेको फ्यानको अनुमान छ। यो ग्रामीण भेगभन्दा बाहिरको तथ्यांक हो। ग्रामीण भेगमा उत्पादन हुने फूलका १० लाख वटा माला बजारमा नआउने तामाङ बताउँछन्।

७० लाखको माला आयात

तिहारमा सयपत्री फूलको करिब तीन लाखवटा माला भारतलायत अन्य देशबाट आयात हुने तामाङ बताउँछन्। सरकारी तथ्यांकमा भने तिहारमा भारतलायत अन्य देशबाट करिब पाँच लाखवटा माला आयात हुँदै आएको छ।

भारतसहित चीन, अमेरिका, ब्राजिल, अस्ट्रेलियालगायतका देशबाट फूल तथा पुष्पजन्य वस्तु आयात हुने गरेको छ।

यस वर्ष तिहारमा भारतबाट ५० लाख रुपैयाँ बराबरको दुई लाख सयपत्री फूलको माला आउने फ्यानको अनुमान छ। यस्तै अन्य देशबाट २० लाख रुपैयाँको माला आयात हुने तामाङ बताउँछन्।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा २० करोड तथा २०७६/७७ मा २० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा आठ करोड १३ हजार रुपैयाँ बराबरको फूल तथा पुष्पजन्य वस्तु आयात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा आड करोड दुई लाखको माला आयात भएको थियो। आर्थिक वर्ष २०७९/८० मा नौ करोड रुपैयाँमा चार लाखमा माला आयात भएको विभागको तथ्यांक छ। चालु आर्थिक तीन महिनामा पाँच करोड रुपैयाँको माला आयात भएको छ।

नेपालमा फूल तथा पुष्पजन्य वस्तु उत्पादन बढ्दो छ। ग्रामीण भेगमा उत्पादित फूल बजारसम्म नआउने भएकाले केही फूल आयात गर्नुपरेको पुष्प व्यवसायी बताउँछन्। भन्सार विभागकै तथ्यांकलाई आधार मान्ने हो भने पनि फूल आयात केही घटेको देखिन्छ।

निर्यात पनि

अस्ट्रेलिया र मलेसियामा नेपालीको उल्लेख्य बसोबास भएकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ। प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नु परे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ। हाल स्वदेशमा ९२ प्रतिशत फूल उत्पादन हुने गरेको र बाँकी १० प्रतिशत मात्र विदेशबाट आयात गर्नुपरेको छ।

सरकारले ग्रामीण भेगका फूल बजारमा ल्याउन सके अहिले पनि फूलमा नेपाल निर्भर भइसकेको व्यवसायीको दाबी छ। उनीहरूका अनुसार तिहारको समयमा एकैपटक फूलको माग बढ्ने भएकाले स्वदेशी उत्पादनले थोरै मात्रै अपुग हुने हुँदा थप माला आयात भइरहेको हो। काठमाडौँ उपत्यकामा खपत हुने ८० प्रतिशत सयपत्री नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरलगायतका जिल्लामा उत्पादन हुने गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८० १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =