काठमाडौँ – भारत र श्रीलंकाले ४० वर्षपछि डुंगा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन्। भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलंकाको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो। भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको सङ्केतस्वरूप डुंगालाई हरियो झण्डा देखाएर डुंगामा आएका यात्रीलाई स्वागत गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिएका थिए। उनले भारतको रामेश्वरम र श्रीलंकाको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गरे।
सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुंगाको क्षमता १५० यात्रु रहेको छ। नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर) को दूरी समुद्रको अवस्थाअनुसार करिब ३.५ घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन्। पचास यात्रु लिएर श्रीलंकाका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलंकाबाट यात्रु लिएर भारत फर्कनेछ।