दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस, दिवंगत सैनिकका परिवारलाई ८ करोड २० लाख सहयोग

हिमाल प्रेस ३० साउन २०८३ १५:४२ | Saturday, August 15, 2026
2
SHARE
दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस, दिवंगत सैनिकका परिवारलाई ८ करोड २० लाख सहयोग

काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८० औँ स्वतन्त्रता दिवस मनाएको छ।

लैनचौरस्थित दूतावास परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो। दूतावासले हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी भारतको स्वतन्त्रता दिवस मनाउने गरेको छ।

कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका भारतीय समुदाय, भारतका मित्र तथा दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो।

‘वन्दे मातरम्’ गीतका साथ सुरू भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरेका थिए। त्यसपछि राष्ट्रगान गाइनुको साथै स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रसारण गरिएको थियो।

 

यस अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका एकल (वीर नारी) तथा निकटतम आश्रितलाई सम्मान गरे।

उनले कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ)’ को चेक मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए।

८० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताको विजेतालाई पनि दूतावासले सम्मान गरेको छ।

‘विकसित भारत’ शीर्षकमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। त्यस्तै ‘भारतको जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

 

साँझ सांगीतिक कार्यक्रम

८० औँ स्वतन्त्रता दिवसकै अवसरमा भारतीय दूतावासले शनिबार साँझ विशेष सांगीतिक कार्यक्रमसमेत आयोजना गर्दैछ। दूतावासले भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को सहयोगमा आएको सांगीतिक टोलीको प्रस्तुति आयोजना गर्न लागेको हो।

दूतावासका अनुसार राजेश पाण्डेको नेतृत्वमा रहेको आईसीसीआर-समर्थित सांगीतिक टोलीले उक्त प्रस्तुति दिनेछ। भारतको ८०औँ स्वतन्त्रता दिवस समारोहकै हिस्साका रूपमा आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रमलाई ‘भारतको ८०औँ स्वतन्त्रता दिवस समारोहको अवसरमा आयोजना हुने राजेश पाण्डेको नेतृत्वमा रहेको आईसीसीआर-समर्थित सांगीतिक टोलीको प्रस्तुति हेर्न यहाँलाई निम्ता गरिएको छ।’

भारतको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँस्थित भारतीय दूतावासले बिहानदेखि दिनभर औपचारिक कार्यक्रम गर्दै साँझ सांस्कृतिक तथा संगीतमय प्रस्तुतिले समारोहलाई थप विशेष बनाउने अपेक्षा लिएको छ। नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय सुरसुधाको प्रस्तुति भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने साँझको विशेष कार्यक्रमका रूपमा रहनेछ।

प्रकाशित: ३० साउन २०८३ १५:४२ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast