चितवन- नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल यतिबेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ। पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन्। अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो।
आफ्नै देशमा नजिक गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन्। अस्पतालका प्रमुख दिपेश सुवेदीका अनुसार गत आर्थिक वर्षमा १४ हजार ५८१ जनाले सेवा लिएका थिए। तीमध्ये १४ हजार १८१ जना अर्थात् ९७ प्रतिशत भारतीय बिरामी छन्।
उनका अनुसार गर्मी याममा दैनिक ४० देखि ४५ जना र जाडो याममा करिब ८० जना बिरामी उपचारका लागि आउने गर्छन्। जाडोमा नियमित तथा गर्मीमा हरेक बिहीबार मात्रै अस्पतालमा शल्यक्रिया हुन्छ। अस्पतालले गत वर्ष ६२४ जनाको आँखाको शल्यक्रिया गरेको थियो।
गर्मी मौसममा शल्यक्रियापछि नुहाउन नमिल्ने र संक्रमणको जोखिम बढी हुने भन्ने गलत धारणा फैलिएकाले त्यस समयमा बिरामीको चाप केही घट्ने गरेको सुवेदीले बताए।
नेपाल नेत्रज्योति संघ चितवन शाखाका सचिव केशव अधिकारीका अनुसार भारतका सीमावर्ती क्षेत्रबाट मात्र होइन, करिब १०० किलोमिटर टाढासम्मका बिरामी पनि उपचारका लागि ठोरी पुग्ने गरेका छन्।
भारततर्फ नजिकै गुणस्तरीय आँखा अस्पताल नहुँदा दिल्लीलगायतका ठूला सहर पुग्नुपर्ने बाध्यता रहेका बिरामीका लागि ठोरी सहज विकल्प बनेको उनको भनाइ छ। ‘कम शुल्कमा गुणस्तरीय उपचार र छोटो दूरीमै सेवा पाइने भएकाले भारतीय बिरामीको आकर्षण यस अस्पतालतर्फ बढ्दो छ,’ अधिकारीले भने।
स्थानीय समुदायलाई लक्षित गरेर स्थापना गरिएको अस्पताल अहिले सीमापार स्वास्थ्य सेवाको सफल उदाहरण बनेको छ। अस्पतालले नेपाली र भारतीय दुवै समुदायका बिरामीलाई समान रूपमा सेवा दिँदै आएको छ। अस्पताललाई अब वातावरणमैत्री ‘ग्रिन अस्पताल’का रूपमा विकास गर्ने तयारी भइरहेको छ।
दुई बिघा क्षेत्रफलमा कम्पाउण्ड निर्माणका साथै शल्यक्रियापछि बिरामी र कुरुवाका लागि बसोबास तथा भान्छासहितको सुविधा विस्तार गर्ने काम अघि बढाइएको अधिकारीले जानकारी दिए।
भरतपुर आँखा अस्पतालको विस्तारित सेवाका रूपमा सञ्चालित यस अस्पतालले सीमावर्ती क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल-भारत स्वास्थ्य सहकार्यको उदाहरण प्रस्तुत गरिरहेको छ।
यसको मुख्य अस्पताल चितवनको भरतपुर महानगरपालिका-१०, बाइपासमा रहेको छ।


