काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्रीका रूपमा पहिलोपटक छुट्टै शिष्टाचार भेट दिएका छन्। यसअघि गत चैत २५ गते प्रधानमन्त्री बालेनले सामूहिक रूपमा राजदूतसँग भेट्दा भारतीय राजदूत श्रीवास्तव पनि सहभागी थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको यो भेटवार्तालाई नेपाल-भारत सम्बन्धका सन्दर्भमा विशेष चासोका साथ हेरिएको छ।
प्रधानमन्त्री बनेपछि विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका शाहले यसपटक भारतीय राजदूतसँग व्यक्तिगत रूपमा भने पहिलोपटक भेट दिएका हुन्। यसअघि उनले कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवादलाई प्राथमिकता दिने बताएका थिए। त्यसैले यो छुट्टै भेटले दुई देशबीचको नियमित कूटनीतिक संवादलाई प्रधानमन्त्री तहमा अघि बढाउन खोजिएको संकेत गरेको छ।
भेटवार्तामा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा र सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालका लागि शुभकामना दिँदै नेपाल-भारत सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे भने प्रधानमन्त्री शाहले पनि भारतसँग नेपालको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएको सचिवालयको भनाइ छ।
भारत मात्र होइन सबै देशका राजदूतहरूले प्रधानमन्त्रीलाई छुट्टै भेट्ने प्रयास लगातार गरिरहेकका थिए। प्रधानमन्त्री बालेनले भारतबाटै यो अध्याय सुरु गरेका छन्। उनले अब अर्का छिमेकी देश चीनका राजदूतसँग पनि छुट्टै भेटको कार्यक्रम राखेका छन्। यसलाई सामान्य शिष्टाचार भेटका रूपमा मात्र हेरिए पनि यसको समय र सन्दर्भ अर्थपूर्ण देखिन्छ।

सामूहिक संवादबाट छुट्टाछुट्टै भेटतर्फ
प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि कूटनीतिक सम्बन्धमा नयाँ शैली अपनाएका थिए। परम्परागत रूपमा प्रधानमन्त्रीले राजदूतहरूलाई छुट्टाछुट्टै भेट्ने अभ्यासभन्दा उनले सुरुवाती चरणमा सामूहिक संवादलाई प्राथमिकता दिएका थिए। त्यस क्रममा भारतसहित विभिन्न मुलुकका राजदूतहरू एकै ठाउँमा उपस्थित भएका थिए। अहिले भने छिमेकी भारतका राजदूतसँग छुट्टै भेट भएको छ भने चिनियाँ राजदूतसँग पनि भेट हुने नै छ।
भारत नेपालका लागि सबैभन्दा महत्वपूर्ण छिमेकी हो। खुला सीमा, व्यापार, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटीदेखि राजनीतिक तथा जनस्तरको सम्बन्धसम्म दुई देशबीचका आयाम फराकिला छन्। त्यसैले प्रधानमन्त्री र भारतीय राजदूतबीच भएकाे छुट्टै संवादलाई दुई देशबीचको सम्बन्धलाई प्रधानमन्त्री तहबाट अघि बढाउने नियमित प्रक्रियाको एउटा महत्वपूर्ण चरणका रूपमा लिन सकिन्छ।
‘नयाँ शैली’का प्रधानमन्त्रीको छिमेक संवादलाई लिएर बहस पनि भइरहेको थियो। त्यही बहसको बीचमा प्रधानमन्त्रीले कूटनीतिक भेटघाटलाई अघि बढाएका हुन। प्रधानमन्त्री बालेनले कूटनीतिक सम्बन्धमा आफूले अपनाउने शैलीबारे सुरुवातदेखि नै फरक संकेत त दिए तर त्यो संकेत अहिले फरक काेणमा आइपुगेको छ। सामूहिक भेटबाट कूटनीतिक संवाद सुरु गरेका उनले अब महत्वपूर्ण छिमेकी मुलुकका प्रतिनिधिसँग छुट्टाछुट्टै संवाद अघि बढाउँदा त्यो कोण देखिएको हो।
भारतीय राजदूतसँगको भेटमा तत्काल कुनै नयाँ समझदारी वा निर्णय सार्वजनिक गरिएको छैन। तर,नेपाल-भारत सम्बन्धलाई लिएर प्रधानमन्त्री तहमा प्रत्यक्ष संवादको ढोका खुलेको सन्देश यस भेटले दिएको छ। प्रधानमन्त्री बालेनका लागि भारतसँगको सम्बन्ध विशेष महत्वपूर्ण छ। उनको सरकारको विदेश नीतिको प्रारम्भिक परीक्षण नै छिमेकीसँगको सम्बन्ध व्यवस्थापनबाट हुनेछ।
भारतसँगको सम्बन्धमा परम्परागत संवेदनशीलता कायम राख्दै नयाँ पुस्ताको नेतृत्वले कस्तो संवाद र सहकार्यको शैली अपनाउँछ भन्ने विषय अबका दिनमा चासोको केन्द्र हुनेछ। यस अर्थमा भारतीय राजदूतसँगको यो पहिलो छुट्टै भेट केवल शिष्टाचारमा सीमित घटना हो वा प्रधानमन्त्री बालेनको छिमेक कूटनीतिमा नयाँ चरणको सुरुवात- त्यसको संकेत आगामी संवाद, उच्चस्तरीय भ्रमण र ठोस सहकार्यका कदमहरूबाट अझ स्पष्ट हुँदै जानेछ।


