काठमाडौँ- सन् २०२८ को पुरुष टी-२० विश्वकपमा भाग लिन नेपालले नयाँ र कठिन छनोट प्रक्रियाको सामना गर्नुपर्ने भएको छ। यसअघि सन् २०२६ को टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले क्षेत्रीय छनोट प्रतियोगितामार्फत स्थान बनाएका थिए। नेपालले एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको छनोट पार गर्दै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँगै विश्वकपमा स्थान बनाएको थियो। अब विश्वकपमा पुग्न नेपालले अन्य क्षेत्रका टोलीसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने भएको हो।
सन् २०२४ र २०२६ का पुरुष टी-२० विश्वकपमा लगातार सहभागिता जनाएर नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एसोसिएट राष्ट्रका रूपमा आफ्नो उपस्थिति बलियो बनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार सन् २०२८ को पुरुष टी-२० विश्वकपको छनोट प्रणाली सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार २० टोली सहभागी हुने प्रतियोगिताका लागि १६ टोलीको ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। यसबाट आठ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। सन् २०२८ को विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्दै छन्।
सन् २०२६ को विश्वकपमा सहभागिता जनाएकै आधारमा नेपालले सन् २०२८ को ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ। क्यानडा, इटाली, नामिबिया, नेदरल्यान्ड्स, ओमान, यूएई र अमेरिका पनि सोझै ग्लोबल छनोटमा प्रवेश गरेका छन्।
बाँकी आठ टोली भने क्षेत्रीय छनोटबाट आउनेछन्। तीमध्ये अफ्रिका, एसिया र युरोपबाट दुई-दुई तथा अमेरिका र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एकएक टोली छनोट हुनेछन्।
ग्लोबल छनोट प्रतियोगिता सन् २०२८ को पहिलो तीन महिनाभित्र आयोजना हुनेछ। १६ टोलीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा समूह चरण, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन्।
सेमिफाइनलमा पुग्ने चार टोलीले स्वतः विश्वकपमा स्थान बनाउनेछन्। बाँकी चार स्थान भने क्षेत्रीय प्रतिनिधित्व र छनोट प्रतियोगितामा टोलीहरूको प्रदर्शनका आधारमा निर्धारण गरिनेछ।
आईसीसीका अनुसार न्यूनतम प्रदर्शनको मापदण्ड पूरा गर्ने गरी पाँचवटै क्षेत्रबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टोलीलाई विश्वकपमा स्थान दिइनेछ। कुनै क्षेत्रको शीर्ष टोली सेमिफाइनल वा क्वार्टरफाइनलमा पुगेको छ भने त्यस क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुनेछ।
तर कुनै क्षेत्रको उत्कृष्ट टोली समूहमा तेस्रो भएको अवस्थामा पनि उसले विश्वकपमा स्थान बनाउन सक्नेछ। त्यसका लागि आफ्नो क्षेत्रको प्रतिनिधित्व नगरेको क्वार्टरफाइनलमा पुग्ने सबैभन्दा कमजोर टोलीलाई उसले प्रतिस्थापन गर्नेछ। क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गरेपछि बाँकी रहेका स्थान क्वार्टरफाइनलमा पराजित भएका टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई दिइनेछ। यद्यपि समूहमा चौथो हुने टोली भने विश्वकपका लागि छनोट हुन पाउने छैनन्।
आईसीसीले सन् २०२८ को टी-२० विश्वकपको खेल संरचनामा पनि परिवर्तन गरेको छ। सन् २०२६ को विश्वकपमा चार समूहमा पाँचपाँच टोली थिए। तर, सन् २०२८ मा चार-चार टोलीका पाँच समूह बनाइनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर १० चरणमा प्रवेश गर्नेछन्। सुपर १० मा पुगेका टोलीलाई पाँच-पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ।
सुपर १० का दुवै समूहका विजेता सोझै सेमिफाइनलमा पुग्नेछन्। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले भने बाँकी दुई सेमिफाइनल स्थानका लागि एलिमिनेटर खेल खेल्नेछन्।
सन् २०२६ को विश्वकपमा गरेको प्रदर्शन र आईसीसी वरीयताका आधारमा १२ टोलीले सन् २०२८ को विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। ती टोलीमा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज र जिम्बाब्वे छन्।
सन् २०२८ को पुरुष टी-२० विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा अक्टोबर १२ देखि नोभेम्बर १२ सम्म आयोजना हुनेछ



