काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणअघि भारतका लागि नवनियुक्त नेपाली राजदूत डा.निश्चलनाथ पाण्डेले नयाँ दिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावासको जिम्मेवारी सम्हाल्ने भएका छन्।
राजदूत पाण्डेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीसँगै चीनका लागि नवनियुक्त राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार गठन भएपछि १३ जना राजदूत सिफारिस भएका थिए। तीमध्ये १० जनाको संसदीय सुनुवाइ सम्पन्न गरी सम्बन्धित मुलुकमा सहमतिका लागि नाम पठाइएको थियो। सहमति प्राप्त भएपछि पाण्डे, शर्मा र कर्ण नियुक्त भई शपथग्रहण गरेका हुन्।
यसपटक भारतले नेपाली राजदूतका लागि पहिलोपटक फास्ट ट्र्याकमार्फत सहमति दिएको हो। चीन र इजरायलले पनि छिट्टै सहमति प्रदान गरेका छन्।
शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने कार्यक्रम छ।



