एमाले गण्डकी अधिवेशन : सकियो मतदान

हिमाल प्रेस १८ असोज २०८० २१:२५
6
SHARES
एमाले गण्डकी अधिवेशन : सकियो मतदान

पोखरा- नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार भएको मतदान सकिएको छ। चुनावमा कुल ९०६ जना मतदातामध्ये ८८७ जनाले इलेक्ट्रिक भोटिङमार्फत मतदान गरेका हुन्। पोखरा सभागृहमा मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदान राति करिब ९ बजेसम्म चलेको थियो।

मतदानको अन्तिम समय साँझ ५:३० बजेसम्म तोकिएकोमा मतदाताहरू प्रवेश गरिसकेकालाई मतदानको अधिकार दिइएको थियो। ३३ इलेक्ट्रिक भोटिङ मेसिन तयार पारिएकोमा एक जना मतदातालाई करिब १५ मिनेट समय लाग्ने अनुमान गरिएकोमा अधिकांशलाई त्योभन्दा धेरै समय लागेको थियो। कोहीलाई त एकै घण्टासम्म लागेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

निर्वाचन अधिकृत सुरेन्द्र थापामगरका अनुसार मतदान सकिएको डेढ घण्टामै अन्तिम परिणाम सार्वजनिक गरिनेछ। अधिवेशनअन्तर्गत ४१ पदको छिनोफानो मतदानबाट गर्न थालिएको हो। यसअघि ४७ जना निर्विरोध भइसकेका छन्। ४१ पदका लागि २७७ जना उम्मेदवार छन्।

एमाले गण्डकीको पहिलो पल्ट भएको प्रदेश कमिटी अधिवेशनमा पदाधिकारी ५ सहित कुल १६२ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ। अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव (महिला) गरी ५ पदाधिकारी, प्रदेश खुला ५८, प्रदेश समावेशी १३, संघीय निर्वाचन क्षेत्र १८, जिल्ला भूगोल ६१, लेखा समिति ७ जनाको पदमा निर्वाचित हुनेछन्।

अध्यक्षका लागि हाल अध्यक्ष नवराज शर्मा र पार्टीका केन्द्रीय सदस्य मायानाथ अधिकारी प्यानल चुनावी मैदानमा होमिएका छन्। उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विश्वकर्मा, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य, कास्कीका दामबहादुर बिक र म्याग्दीका सन्तोष रावलको अन्तिम नामावली प्रकाशन गरिएको छ।

साथै उपसचिव (महिला) तर्फ पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ र कास्कीकी मीना गुरुङ प्रतिस्पर्धामा छन्।

प्रकाशित: १८ असोज २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =