एमाले गण्डकी अध्यक्षमा चुनाव : मनोनयनपछि नवराज र मायानाथले के भने?

विजय नेपाल १७ असोज २०८० १५:१२
28
SHARES
एमाले गण्डकी अध्यक्षमा चुनाव : मनोनयनपछि नवराज र मायानाथले के भने? एमाले गण्डकी प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएपछि अंकमाल गर्दै मायानाथ अधिकारी (ढाका टोपीमा) र नवराज शर्मा। तस्बिर : हिमाल प्रेस

पोखरा- नेकपा (एमाले) को पोखरामा जारी गण्डकी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। तीन दिनदेखि जारी अधिवेशनमा नेतृत्व चयनमा सर्वसम्मत प्रयास सफल हुन नसकेपछि मतदान प्रक्रियाबाट टुंगो लगाउन लागिएको हो।

उम्मेदवारी दिने नवराज (म्याग्दी) एमाले गण्डकीका हालका अध्यक्ष हुन् भने मायानाथ (लमजुङ) पार्टीका केन्द्रीय सदस्य हुन्। दुवै जनाले प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

मायानाथलाई पार्टी महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतको साथ छ भने नवराजलाई पार्टी उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतको साथ छ। यद्यपि एमाले पंक्तिले भने यो प्यानल नभएको दाबी गर्छ।

अध्यक्षका उम्मेदवार मायानाथ अधिकारी निर्वाचन प्रक्रियालाई स्वभाविक मान्नुपर्ने बताउँछन्। मनोनयन दर्तासँगै उनले आफूले जित्ने दाबी गरे।

सबैलाई समन्वय गरेर लैजान उम्मेदवारी दिएको उनले बताए। अधिकारीले पार्टी एकताबद्ध बनाउँदै बलियो बनाउन नेता तथा कार्यकर्ताको आग्रहमा चुनावमा उठेको बताए। उनले भने, ‘सामाजिक सञ्जालमा प्यानल बनाएर मत मागेको विषयलाई मन मिल्ने साथीले भोट माग्नु स्वाभाविक हो।’

उनको प्यानलमा उपाध्यक्षतर्फ नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र उपसचिव महिलामा कास्कीकी मीना गुरुङ प्रतिस्पर्धामा छन्।

अध्यक्षका अर्का प्रत्यासी नवराज शर्माले उम्मेदवारी दर्ता भए पनि सर्वसम्मत्को सम्भावना अझै नटरेको बताए। । उनले भने, ‘नोमिनेसन गरिए पनि सर्वसम्मतको प्रयास हुन्छ। त्यसो हुन नसके स्वच्छ मर्यादित हार्दिकताको वातावरणमा निर्वाचनमा जान्छौँ।’

गण्डकीमा एमालेलाई थप उचाइमा पुर्‍याउन र पार्टी संगठन बलियो बनाउन उम्मेदवारी दिइएको उनको भनाइ छ। उनले पार्टी पंक्तिबाट दोहोरिन आग्रह गरेपछि मनोनयन दिएको शर्माले बताए। उनको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र उपसचिवमा महिलामा पर्वतकी मञ्जु अधिकारी प्रतिस्पर्धी छन्।

पोखरा सभागृहमा जारी अधिवेशनले १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ। साँझ मतदान भनिए पनि मतदान बिहीबारका लागि सर्ने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ। अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधिले भाग लिएका छन्।

एमाले गण्डकीमा नयाँ तरंग : पृथ्वीसुब्बा एक्ल्याउन पद्मा पनि सक्रिय

 

 

प्रकाशित: १७ असोज २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =