अधिवेशन एमाले गण्डकीको, ‘लडाइँ’ पृथ्वी सुब्बा र खगराजको

विजय नेपाल १६ असोज २०८० २०:०६
74
SHARES
अधिवेशन एमाले गण्डकीको, ‘लडाइँ’ पृथ्वी सुब्बा र खगराजको एमाले नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ।

काठमाडौँ- नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्न लाग्दा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘सर्वसम्मत नेतृत्वको विकल्प छैन। विभाजनले कसैको हित गर्दैन।’

सर्वसम्मत नेतृत्वको रटानबीच गण्डकीमा आगामी नेतृत्वका लागि प्रस्ट गुटउपगुट देखापरेपछि गुरुङले यस्तो  प्रस्ताव अघि सारेका हुन्। भित्रभित्रै भइरहेको गतिविधिप्रति टिप्पणी गर्दै उनले लेखेका छन्- ‘अहिलेको गुटको आधार सिद्धान्त र विचारहीन महत्त्वाकांक्षी, अवसरवादी, अन्तरघाती र अराजक सोच नै हो।’

गण्डकी प्रदेश राजधानी पोखरामा सोमबार सुरु भएको एमाले गण्डकीको अधिवेशनमा सीधा रूपमा गुट प्रस्ट छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट गण्डकीका नेताहरू पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी दुवै आआफ्नो प्रभुत्व स्थापित गर्ने कसरतमा छन्। गण्डकी सरकारका पूर्वमुख्यमन्त्रीहरू गुरुङ र अधिकारीले प्रदेशको नेतृत्वमा आआफ्ना निकटका उम्मेदवारलाई अघि सारेका छन्।

संघीय संरचनाको ६ वर्षपछि पहिलोपल्ट हुन लागेको प्रदेश अधिवेशनमा नेतृत्वका लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी मैदान उत्रिँदैछन्। नवराजलाई उपाध्यक्ष  विष्णु पौडेलको साथ छ भने मायानाथलाई महासचिव शंकर पोखरेलको साथ छ। लुम्बिनी अधिवेशनमा पनि पौडेल र पोखरेल गुटबीच नै प्रतिस्पर्धा भएको थियो।

नवराज म्याग्दीका हुन् भने मायानाथ लमजुङका। लमजुङ पृथ्वीसुब्बा गुरुङको पनि गृहजिल्ला हो। तर मायानाथलाई खगराज अधिकारीको समर्थन छ। पृथ्वीसुब्बाले नवराज बोकेको चर्चा महाधिवेशन प्रतिनिधिबीच हुने गरेको छ।

सचिवमा हालका सचिव धनञ्जय दवाडी दोहोरिन चाहन्छन्। उनलाई खगराज अधिकारीनिकट रश्मि आचार्यले टक्कर दिइरहेका छन्। विद्यार्थी राजनीतिबाट उदाएका कास्कीका रश्मि हाल एमाले गण्डकी उपसचिव हुन्।

लमजुङका गुरुङ र कास्कीका अधिकारीको शक्ति संघर्षको लडाइँ पहिलेदेखि हो। पार्टी उपमहासचिव गुरुङ मुख्यमन्त्री हुँदै अहिले संघीय सांसद छन्। यस्तै संघ सरकारका पूर्वगृहमन्त्री अधिकारी गण्डकी सरकारका निवर्तमान मुख्यमन्त्री हुन्। उनी गत वर्षको चुनावमा संघीय सांसदबाट प्रदेशमा ओर्लिएका थिए। एमाले स्थायी कमिटी सदस्य अधिकारी प्रदेशमा एमाले संसदीय दलका नेता हुन्।

दुई वर्षपहिले भएको एमाले पोखरा महानगर कमिटीको चुनावताका होस् वा प्रदेश तहको चुनावमा गुरुङ र अधिकारी गुट छताछुल्ल पोखियो। गुरुङ संस्थापक मुख्यमन्त्री हुँदा आफ्नो प्रभाव लमजुङमात्र नभई गण्डकीका सबै जिल्लामा फैलाउन खोजे। त्यसबेला प्रदेशका अन्य जिल्लामा एमाले नेतृत्व सर्वसम्मत हुँदा कास्कीमा भने गुरुङ र अधिकारी प्यानल खडा बन्यो।

नवराज शर्मा र मायानाथ अधिकारी।

दुवै पक्ष आआफ्नो तवरले चुनावमा होमिए। त्यसबेला गुरुङनिकट कास्कीका मनबहादुर गुरुङ महानगर प्रमुखमा विजयी पनि बने। मनबहादुर अहिले संघीय सांसद बनेका हुन्।

यो शृंखला यत्तिमै रोकिँदैन, स्थानीय तह चुनावमा पनि पोखरा महानगरपालिका मेयर उम्मेदवार छनोटसम्म दुवै पक्षको गुट देखापर्‍यो। खगराज अधिकारीनिकट कृष्ण थापाले टिकट पाए पनि अन्ततः गुटकै चेपुवा तथा कांग्रेस-माओवादी-एकीकृत समाजवादी गठबन्धनका कारण चुनाव हारे। अघिल्लो पालि पोखराको मेयर र उपमेयर दुवै एमालेले जितेकोमा यसपालि एमालेलाई पाखा लगाउँदै एकीकृत समाजवादीका धनराज आचार्यले बाजी मारे।

आखिर जे भए पनि एमाले गण्डकीमा नेतृत्वका लागि दुवैले आआफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दाबी गर्दै चुनाव जित्ने बताउँछन्। गुटमा नखुलेका केही प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न भित्रभित्रै अवाञ्छित गतिविधि भइरहेको पनि स्रोतले जनायो। रोचक कुरो छ त भने लमजुङका मायानाथ पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा संसदीय दलका प्रमुख सचेतक थिए। त्यसबेला गुरुङनिकट मायानाथ अहिले क्याम्प फेरेर अधिकारी गुटमा छिर्दै गुरुङ गुट भत्काउन चाहन्छन्।

अधिकारी अहिले गृहजिल्ला कास्कीमा प्रभुत्व जमाउन सफल मानिएका छन्। उनले मायानाथलाई नेतृत्वका लागि अघि सारेका मात्रै छैनन्, एमाले सचिव पद्मा अर्याल, गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं पार्टी केन्द्रीय सदस्य राजीव पहारी र सचिवका उम्मेदवार रश्मिलाई पनि आफ्नो कित्तामा ल्याएका छन्।

नेतृत्वका लागि यसअघि चर्चामा रहेका कृष्ण थापा, रामशरण बस्नेत, राजीव पहारी पनि मायानाथकै कित्तामा जाने तयारीमा रहेको एक सदस्यले बताए। प्रदेशसभाका पूर्वसदस्य कृष्ण थापा सांसद पद छाडेर पोखरा महानगरको चुनाव लडेका थिए। गोरखाका रामशरण गण्डकीका पूर्वभौतिक मन्त्री हुन्। कास्कीका राजीव युवा संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन्।

एमालेमा सर्वसम्मतिको चर्को नारा चलिरहँदा मतदानको समयसम्म दुई गुट सक्रिय रूपमा लाग्ने आकलन छ। तर चुनावमा प्यानलसहित आए कारबाही गरिने एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टको चेतावनी छ।

अधिवेशनको पहिलो दिन अमरसिंह चौरमा उद्घाटनसत्र तथा दोस्रो दिन बुधबार पोखरा सभागृह हलमा बन्दसत्र हुनेछ। अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट कुल ९ सय ८ जना प्रतिनिधि सहभागी हुँदैछन्। अधिवेशनमा सबैभन्दा धेरै १ सय ४६ जना प्रतिनिधि कास्कीबाट छानिएका छन्। १ सय ६५ सदस्यीय कमिटी चुन्दै एमालेले भनेजस्तो ‘ऐतिहासिक’ पहिलो अधिवेशन सकिनेछ।

अधिवेशनअन्तर्गत बुधबार बिहान सवा ९ बजेसम्म मनोनयन दर्ताको समय दिइएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले बताए। दुईदिने अधिवेशन भनिए पनि नेतृत्व चयन सर्वसम्मत गराउने प्रयास जारी रहेकाले पाँच दिनसम्म लम्बिने सम्भावना रहेको नेताहरू बताउँछन्।

प्रकाशित: १६ असोज २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =