उपनिर्वाचन तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

हिमाल प्रेस ९ वैशाख २०८० १७:४२
6
SHARES
उपनिर्वाचन तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको आइतबार (भोलि) हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। बारा २, चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदातासमक्ष आयोगले आग्रह गरेको छ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको आयोगले जनाएको छ।

निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघि प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ।

यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइसकिएको आयोगको भनाइ छ। मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए।

मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने उनले बताए। मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई उनले जानकारी दिए।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो छेकेर मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ।

उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र सञ्चारमाध्यमलगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा विश्वस लिएको आयोगले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =