सबल स्थानीय तह

पूर्वाधारमा धमाधम गति लिँदैछ वीरेन्द्रनगर

रमा केसी ८ असोज २०८० १९:२१
144
SHARES
पूर्वाधारमा धमाधम गति लिँदैछ वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत। तस्बिरः सुरेश आचार्य/रासस

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। कानुन र योजना निर्माण अनि बजेट विनियोजनमा समेत आफ्नै संलग्नता रहने भएकाले कार्यान्वयनमा पनि सहज भइरहेको नगरपालिकाका पदाधिकारीहरू बताउँछन्।

कर्णाली प्रदेश राजधानी रहेको नगर भएकाले अन्य नगरका लागि समेत उदाहरण हुने गरी काम भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल भण्डारी बताउँछिन्। उनका अनुसार वीरेन्द्रनगरमा शिक्षा, स्वास्थ्य, सिँचाइ र सडक पूर्वाधार निर्माणलाई महत्त्व दिइएको छ।

शिक्षा

वीरेन्द्रनगर नगरपालिकाले शिक्षाका लागि १० बर्से रणनीति बनाएको छ। यो रणनीति पूरा गर्न नगरपालिकाले जहाँ विद्यालय त्यहाँ शिक्षक भन्ने नीति अघि सारेको छ। शिक्षक दरबन्दी न्यून भएका विद्यालयमा नगरपालिकाले शिक्षक व्यवस्थापन गरेको छ। वीरेन्द्रनगरभित्रका प्राथमिक विद्यालय, आधारभूत तथा माध्यमिक विद्यालयलाई भौतिक रूपमा थप व्यवस्थित बनाइँदैछ।

पालिकाबाट विद्यालय भवन, विज्ञान प्रयोगशाला, खेलकुद मैदान निर्माण भइरहेका छन्। नगरपालिकाले गुणस्तरीय शिक्षण सिकाइका लागि शिक्षकलाई विभिन्न खालका तालिम सञ्चालन गरेको छ।

वीरेन्द्रनगरमा नभइनहुने पूर्वाधार केहो र केको आवश्यकता छ भन्ने विषयलाई ध्यानमा राखेर शौक्षिक सुधारका काम गर्दै आएको प्रमुख भण्डारीले दिइन्। उनले भनिन्, ‘वीरेन्द्रनगरका सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक संख्या न्यून छ। तर पनि नगरपालिकाको प्रयासमा हामीले व्यवस्थित बनाउँदै लगेका छौँ।’

शिक्षा संघ, प्रदेश र स्थानीयको साझा सूचीमा हुँदा पनि केही समस्या देखिएको उनको अनुभव छ। स्थानीय तहमा स्रोतसाधन सीमित छ्न। नियम–कानुन प्रस्ट बनिसकेका छैनन्। सोही कारण नगरपालिकाले सोचेअनुसार शिक्षा क्षेत्रमा काम गर्न सकेको छैन।

सिँचाइ

वीरेन्द्रनगरमा सिँचाइका लागि कुनै पनि ठूला परियोजना छैनन्। नगरका १, २, ३, ४, ५, ९, १०, ११, १२ वडा कृषि उत्पादनका दृष्टिले राम्रा मानिन्छन्। ती वडामा कृषि उत्पादनको राम्रो सम्भावना छ। त्यसैले यी क्षेत्रमा बोरिङ निर्माण गर्ने र साना खोलाका पानी मोटरपम्प प्रयोग गरी सिँचाइमा प्रयोग गर्ने योजना नगरपालिकाले अघि सारेको छ।

सडक

प्रदेश राजधानी वीरेन्द्रनगरको स्वरूप बदल्न आवश्यक रहेकाले सडक निर्माणलाई केन्द्रविन्दुमा राखेर काम अघि बढाइएको नगर प्रमुख ढकाल बताउँछिन्। वीरेन्द्रगरका मुख्य रुटलाई प्राथमिकतामा राखिएका योजना धमाधम निर्माण हुँदैछन्।

यसअन्तर्गत मंगलगढीचोकदेखि काँक्रेविहार, कालुचोकदेखि महिला प्रशिक्षण केन्द्र र चक्रपथ निर्माण प्राथमिकतामा छन्। नगरको उत्तरतर्फका सडक तत्काल कालोपत्रे गरिने भएको छ। साबिकको गरुयोजनाअनुसार ठूला सडक सबै कालोपत्रे गरिनेछ। यसका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको ढकालले जानकारी दिइन्।

संघ, प्रदेश र स्थानीय सरकार एक भएर काम गर्दा सडक निर्माणले तीव्रता पाएको उनी बताउँछिन्। नगरपालिकाले हरियाली वीरेन्द्रनगर बनाउने अभियान पनि जारी राखेको छ।

स्वास्थ्य

वीरेन्द्रनगर नगरपालिका वडामा रहेका स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन लागिपरेको छ। वीरेन्द्रनगरको वडा नं ९ मा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। अस्पतालमा महिला तथा बालबालिकाको उपचारमा विशेषज्ञ चिकित्सक खटाइनेछ। नगरपालिकाले आमा सुरक्षा, सेनेटरी प्याड वितरण कार्यक्रम, एम्बुलेन्स सेवा सञ्चालन गरेको छ।

नगरपालिकाले महिलाको पाठेघरको मुखसम्बन्धी क्यान्सर, स्तनपानमा क्यान्सरसम्बन्धी वडा स्तरमा शिविर चलाउने गरेको छ। कमजोर आर्थिक अवस्था भएका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा लागू गरेको ढकाल बताउँछिन्। चालु आवमा तीन सयजतिको बिमा गरिएको छ।

नागरिक अगुवा पीताम्बर ढकाल वीरेन्द्रनगरमा सडक निर्माण कार्यले तीव्रता पाएको बताउँछन्। उनले भने, ‘पूर्वाधार निर्माणमा सुर्खेतको राजधानी वीरेन्द्रनगरमा पहिलेको तुलनामा निकै सुधार भएको छ।’

भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका, चिंगाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका गरी सुर्खेतमा आठ स्थानीय तह छन्।

विकास निर्माणमा वीरेन्द्रनगरजति अन्य नगरपालिका त्यति सक्रिय नदेखिएको ढकाल बताउँछन्। ‘कामै नभएको भन्ने होइन, वीरेन्द्रनगरमा स्वास्थ्य, शिक्षा, सडक र सिँचाइमा जति काम भएका छन्, अन्य पालिकामा त्यति छैनन्’, उनी भन्छन्।

जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारको बुझाइमा प्रदेश राजधानीसमेत रहेकाले वीरेन्द्रनगरमा विकासको गति तीव्र रूपमा अघि बढेको छ। अन्य पालिकामा पनि विकास निर्माणका काम योजनाबद्ध रूपमा भइरहेको उनले बताए।

उनले भने, ‘शिक्षा, स्वास्थ्य, सिँचाइ र सडक निर्माणका क्षेत्रमा भइरहेका कामको अनुगमन गरिरहेका छौँ।’ विकास निर्माणमा पछाडि परेका स्थानीय सरकारलाई माथि उठाउन हरेक क्षेत्रको अनुगमन भइरहेको जानकारी सुनारले दिए।

पुरानै काममा व्यस्त विराटनगर, शिक्षा र स्वास्थ्य सुधारमा इटहरी, धरानमा ‘स्टन्टबाजी’ मात्रै

विकास निर्माणमा धमाधम अघि बढ्दै पोखरा महानगर

प्रकाशित: ८ असोज २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =