सबल स्थानीय तह

विकास निर्माणमा धमाधम अघि बढ्दै पोखरा महानगर

विजय नेपाल ७ असोज २०८० १७:१५
98
SHARES
विकास निर्माणमा धमाधम अघि बढ्दै पोखरा महानगर

पोखरा– हरेकपल्ट नापजाँच हुने तर कार्यान्वयन नहुने फिर्के नापजाँच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पहलमा यसपालि पनि सकिएको छ। एक महिना लगाएर गरिएको ‘फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन-२०८०’ शनिबार समितिले पोखरा महानगरमा बुझाएको छ। प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेका छन्। प्रमुख आचार्य स्थायी तथा अस्थायी सबै संरचना भत्काएर फिर्केको सौन्दर्य बढाउन लागिपरेका छन्।

यसबारे कार्यपालिकाले निर्णय गरेपछि सोहीअनुसार अगाडि बढ्ने आचार्यले बताए। फिर्के मिचेर बनेका संरचना हट्नेमा कुनै शंका नरहेको उनको जिकिर छ। पोखरामा दिगो पर्यटनका लागि एसियाली विकास बैंकको ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोलाको सौन्दर्य समावेश गरिने उनले बताए।

गत वर्ष स्थानीय तहको चुनावपछि पोखरा महानगरपालिकामा दोस्रो महानगर प्रमुखका रूपमा आएका हुन् एकीकृत समाजवादीका नेता धनराज आचार्य। व्यापारिक तथा शैक्षिक पृष्ठभूमिका उनी सरकारको मात्र भर नपरी दातृनिकायको सहयोग लिएर पोखरा महानगरको हरेक क्षेत्रको विकासमा लागिपरेका छन्।

प्रदेश सरकार केन्द्रीय सरकारको मुख ताक्नुपर्ने अवस्थामा छन्। स्थानीय सरकार आफ्नै रफ्तारमा काम गरिरहेका छन्। पोखरा महानगरलाई त्यसकै एउटा उदाहरणका रूपमा लिन सकिन्छ।

पोखरा क्षेत्रफलका आधारमा देशकै ठूलो महानगर हो। आव २०७९/०८० मा कुल बजेट ९ अर्ब ८ करोड ५३ लाखमध्ये ६५ प्रतिशत अर्थात् ५ अर्ब ४५ करोड ५१ लाख खर्च गरेको थियो। पुँजीगततर्फ ५० प्रतिशत र चालुतर्फ ७९ प्रतिशत बजेट खर्च भएको प्रमुख आचार्यले जानकारी दिए।

पोखरामा दातृ निकायको समन्वयसँगै महानगरमा शिक्षा, स्वास्थ्य, आर्थिक विकास तथा कृषि, पूर्वाधार विकास, खेलकुद, भाषा, साहित्य तथा संस्कृतितर्फ पनि देखिने गरी विकास निर्माणका काम भइरहेका छन्।

झिलीमिली महानगर

पोखरा बजार रातिको समयमा पनि यतिबेला झिलीमिली हुन्छ। उज्यालो पोखरा कार्यक्रमअन्तर्गत गत भदौ दोस्रो सातादेखि मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न थालेका छन्।

दुई हजार ७ वटा सडक बत्ती र २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रमुख आचार्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। प्राधिकरण र महानगरको आधाआधा लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको हो। स्मार्ट बत्ती जडानमा १४ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ।

शिक्षण संस्थाको नियमनदेखि आफ्नै प्राविधिक शिक्षालयसम्म

शैक्षिक सुधारका लागि महानगरले १७ बुँदे निर्देशन जारी गरेको थियो। यसअन्तर्गत एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्कबापत एकपल्ट मात्र अधिकतम् दुई महिनाको भन्दा बढी शुल्क लिन नपाइने नियम छ। कक्षा ११ का विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि प्रकारको ब्रिज कोर्स सञ्चालन गर्न पाइँदैन।

आफ्नो विद्यालय हाताभित्र पाठ्यपुस्तक, विद्यालय पोसाक तथा अन्य शैक्षिक सामग्री बिक्रीवितरणमा शैक्षिक संस्थालाई रोक लगाइएको छ। नयाँ विद्यालय तथा दर्ता नरहेका मन्टेसरीलाई दर्ता प्रक्रियामा ल्याइएको छ।

यस्तै महानगरको शैक्षिक बुलेटिन तथा क्यालेन्डर प्रकाशन गरी लागू भएको छ। महानगरले आफ्नै प्राविधिक विद्यालय खोलेको छ। पोखरा बहुप्राविधिक शिक्षालयमा मेकानिकल, सिभिल इन्जिनियरिङ, फरेस्ट्री, बायोमेटिक, इन्जिनियरिङ, फार्मेसी, एचए गरी ६ विषय पढाइ हुन्छ।

महानगरले विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराएको छ। कक्षा ११ अध्ययन गर्ने ३ सय ४७ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराइएको हो। महानगरका अनुसार कक्षा ११ र १२ मा करिब ६ सय जना विद्यार्थीले महानगरभित्र सञ्चालित विभिन्न विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका छन्। पोखरामा सामुदायिक र संस्थागत विद्यालय अध्ययन गर्ने विद्यार्थीको कुल संख्या १ लाख २१ हजार १ सय ६८ छ। तीमध्ये संस्थागततर्फ ७६ हजार ५ सय ७६ जना छन्।

पोखराका १५ विद्यालयमा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरिएको छ भने ६९ विद्यालयको भौतिक सुधारका लागि अनुदान दिइएको छ। महानगरले ५ वटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ। १० विद्यालयमा स्कुल बस खरिदका लागि सम्झौता गरिएको छ। ११ विद्यालयमा कम्प्युटर ल्याब र ई-लाइब्रेरी निर्माण भएको छ। १० विद्यालयका ६० कक्षाकोठामा प्रविधि जडान गरिएको छ। महानगरले ९३ विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरेको छ भने ३ विद्यालयमा नयाँ पुस्तकालय स्थापना गरेको छ।

महानगरमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणका लागि विद्यालय नर्स कार्यक्रम लागू गरिएको छ। ७ सय शिक्षकलाई नयाँ पाठ्यक्रममा आधारिक प्रबोधीकरण तालिम दिइएको आचार्य बताउँछन्। दृष्टिविहीन विद्यार्थीका लागि ५ लाख बराबरको ब्रेललिपि पुस्तक वितरण गरिएको महानगरपालिकाले जनाएको छ।

पर्यटकीय गतिविधि बढाउन पूर्वाधारमा लगानी

‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ नाराका साथ महानगरले विकास र पूर्वाधार निर्माण तीव्र पारेको छ। तालचोक-बेगनास सडकखण्डलाई नेपालमै नमुना सडक बनाउने गरी काम भइरहेको छ। चार लेनको ३.२८ किमि लामो सो सडक खण्डमा हरियाली, फुटपाथ, साइकल ट्रेल, डिभाइडर हुनेछन्।

विश्व बैंकको अनुदानमा नेपाल सहरी शासन र पूर्वाधार परियोजनाअन्तर्गत थप २ परियोजना बिरौटा-पुँडिटार र लेखनाथचोक-डाँडाकोनाक-सिसुवा-खुँदीखाला-गगनगौडा सडक स्तरोन्नतिका लागि परियोजना छनोट भई कार्यान्वयन चरणमा पुगेको छ। जसका लागि विश्व बैंकले सवा तीन अर्ब आर्थिक सहयोग प्रदान गरेको छ।

गत आवमा १ सय २७ वटा सडकको स्तरोन्नति, पिच, ढलान तथा नाला निर्माणलगायतका काम भएको महानगरपालिकाले जनाएको छ। यति बेला महानगरभित्रका ७ वटा मोटरेबल पुल निर्माण प्रक्रियामा छन्। महानगर क्षेत्रमा सञ्चालित योजनामध्ये ११.१८ किमि बाटो ढलान गरिएको छ। ५.३४ किमि सडक स्तरोन्नति, २ किमि कनेक्टिङ सडक निर्माण, ४.३९ किमि नाला निर्माण र २५० मिटर नहर निर्माण भएको छ।

फोहोर प्रशोधन केन्द्र स्थापना प्रक्रिया सुरु

पोखरा महानगर-१४ को ल्यान्डफिल साइट सारेर अस्थायी रूपमा भए पनि लामेआहालमा फोहोरमैला व्यवस्थापनको पूर्वाधार निर्माण गरिएको छ। अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनसँगै पोखरा १४ को ल्यान्डफिल साइट हटाइएको हो। अहिले पोखराको सम्पूर्ण फोहोर लामेआहालमा विसर्जन गरिन्छ।

महानगर स्थायी रूपमै ल्यान्डफिल बनाउने योजनामा रहेको प्रमुख आचार्य बताउँछन्। पोखरा-३३ मा अत्याधुनिक प्रविधिमा आधारित फोहोर प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव आह्वान भई प्रक्रिया अघि बढाइएको आचार्यले जानकारी दिए। उनले भने, ‘सार्वजनिक निजी साझेदारी अवधारणामा यो कार्य अघि बढाइएको हो। फोहोरबाट मोहोर आर्जन अर्थात् अत्याधुनिक प्रविधि प्रयोगमार्फत इन्धन उत्पादन गर्ने गरी जग्गा प्राप्ति र टेन्डर प्रक्रिया सुरु भइसकेको छ।’

वडा कार्यालय भवन निर्माण तीव्र

पोखरा महानगरमा पछिल्लो समय विभिन्न वडा कार्यालयको भवन पनि निर्माण भए। पोखरा १०, १५, २६, ३२ को निर्माण भइसकेको छ भने वडा १, ५, ८, १७, १८, २०, २७ र ३१ को निर्माणाधीन छ। मुख्य प्रशासकीय भवन, दू्रतसेवा तथा नगरप्रहरी ब्यारेक, पुस्तकालय, आर्ट ग्यालरीका लागि पोखरा हाउसको डीपीआर तयार भइसकेको महानगरले जनाएको छ।

स्वास्थ्य सेवामा २९५ स्वास्थ्य प्राविधिक

पोखरा महानगर मातहत १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालित छन्। जसमा १ सय ७८ दरबन्दी, १ सय ८ करार, १० छात्रवृत्ति करार र ९ ज्यालादारी गरी २ सय ९५ जना स्वास्थ्य प्राविधिकले सेवा दिइरहेको महानगरले जनाएको छ। पूर्णखोप सुनिश्चितलाई पनि महानगरले ध्यान दिने गरेको छ।

हालसम्म ५० हजार जनाको क्युआर कोड प्रमाणीकरण (कोभिड-१९ विरुद्धको खोप) गरेको छ भने ५ सय १० जना प्रतिबिरामी १ लाखका दरले ५ करोड १० लाख बराबरको विपन्न नागरिक औषधिउपचार सिफारिस गरेको छ। महानगरले १ हजार ३ सय ५७ जनाको मिर्गौला प्रत्यारोपण, डाइलसिस, क्यान्सर, मेदरुदण्डको पक्षघात उपचार गरेको छ। यसका लागि २ करोड ५ लाख खर्च भएको छ।

साविकको लेखनाथ नगरपालिकाको भवनमा आरोग्य फाउन्डेसनसँगको समन्वयमा सुविधासम्पन्न डाडलसिस सेवा सञ्चालन प्रक्रियामा रहेको छ। नगरवासीको स्वास्थ्यलाई ध्यानमा दिँदै अत्याधुनिक एम्बुलेन्स सेवा पनि महानगरले नियमित गरेको पाइन्छ। महानगरको आफ्नै अस्पताल शिशुवा अस्पताललाई स्तरोन्नति गरी मेट्रो अस्पतालका रूपमा रुपान्तरण गर्ने लक्ष्य रहेको जनाएको छ।

योजना अनुगमन तथा सूचना प्रविधि शाखाअन्तर्गत ५५ वटा योजना सम्झौता भएकामा ५३ योजना निर्माण सम्पन्न भइसकेको छ। प्रमुख आचार्यका अनुसार ३० लाखभन्दा बढीका १ सय ९ योजनाको अनुगमन भएको छ।

पार्किङ व्यवस्थापनका काम पनि महानगरले गरेको छ। केही अन्डरग्राउन्ड खाली गरी पार्किङस्थलका रूपमा प्रयोग गरिएको छ भने सडक छेउका खाली जग्गा पनि पार्किङमा उपयोग गरिएको छ।

सहरमा छाडा चौपायाका कारण दैनिक सवारी दुर्घटना निम्तिने जोखिम न्यूनीकरणका लागि महानगरले पोखरा-१४ मा सुविधासम्पन्न गौशालासहित गोरक्षक योग सेन्टर पूर्वाधार निर्माण गरेको छ। नियमित बजार अनुगमन तथा फुटपाथ नियन्त्रण छ।

पोखराको मुख्यबजार महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण अन्तिम चरणमा पुगेको छ। लायन्स क्लब अफ इन्टरनेसनलको आर्थिक सहयोगमा पार्क निर्माण भइरहेको हो। यस्तै एनआरएनएको सहयोगमा महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण भइरहेको छ। न्यून लागतमा १ सय वटा व्यवस्थित घर निर्माण गर्नेबारे महानगर, लुमन्ति परियोजना र कामना सेवा विका बैंकबीच त्रिपक्षीय सम्झौता भई कार्यान्वयन अन्तिम चरणमा पुगेको छ।

जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब ११ अर्ब आर्थिक सहयोगमा ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापना प्रक्रिया सुरु गरेको महानगरले कोइकाको सहयोगमा पोखराको हरित यातायात प्रणाली विकासका लागि ८४ बस रुटमा १ हजार २ सय ८६ स्थानमा बस स्टप तथा ३ स्थानमा बस टर्मिनल निर्माण गर्न कोरियन सरकारबीच सम्झौता गरिसकेको छ।

यसैगरी कृषि, व्यवसाय प्रवद्र्धन, उद्यमशीलता, सुशासन र सेवाप्रवाह, सामाजिक तथा सामुदायिक विकास, सूचना प्रविधि, सहरी विकास, पर्यटन तथा वातावरण क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको महानगर प्रवक्ता मोतीलाल तिम्सिना बताउँछन्। कतिपय कुरामा भने कानुनी जटिलताले समस्या पारेको उनको गुनासो छ।

जस्तो- कुनै परियोजना स्वीकृत हुन्छन् तर लागू गर्न जग्गा प्राप्ति तथा कानुनी जटिलताले अप्ठेरो हुने गरेको उनी बताउँछन्। ‘महानगरले आफ्नो रूपमा त गरिराखेको छ नै दातृनिकायसँग सम्बन्ध स्थापित गर्दै विभिन्न परियोजना अघि बढाइरहेको छ,’ पोखरा-२५ का वडाध्यक्षसमेत रहेका महानगर प्रवक्ता तिम्सिना भन्छन्, ‘पोखराको डेभिजफलमा सिसा पुल निर्माण गर्ने विषय स्थानीयकै विरोधका कारण अड्किरहेको छ। यो परियोजना निर्माण हुने सके अन्तर्राष्ट्रिय रूपमै आकर्षणको केन्द्र हुन्थ्यो।’

स्थानीय सरकार : छैन धेरै गुनासो

प्रकाशित: ७ असोज २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =