रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको नुवाकोटको त्रिशुली देवीघाट बजार। तस्बिर : हेमन्त जोशी/रासस
वुटवल- नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्।
भदौ ११ गते २७ वटा शव र एक वटा शरीरको अंग फेला परेको मन्त्रालयले जनाएको छ। तीमध्ये आठ महिला, १६ पुरुष, एक बालक र दुई बालिकाको शव रहेका छन् । भदौ १२ गते सात वटा शव र १२ वटा शरीरका अंग गरी १९ वटा फेला परेका थिए। भदौ १३ गते २० वटा शव र १५ वटा शरीरका अंग फेला परेका छन्। तीमध्ये पाँच महिला, १३ पुरुष, एक बालक र एक बालिकाको शव रहेका छन्।
लुम्बिनीका १६८ वेपत्ता बाढी तथा विपद्का कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १६८ जना अझै सम्पर्कविहीन रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङका ४१ जना सम्पर्कमा आउन सकेका छैनन्। रुपन्देहीका ३५, बाँकेका २०, रुकुम पूर्वका १६, रोल्पाका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका नौ, बर्दियाका आठ, गुल्मीका सात, नवलपरासी पश्चिमका छ र कपिलवस्तुका चार जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म १३ जना भने सम्पर्कमा आएका छन्। रुपन्देहीका छ, दाङका पाँच, बाँकेका एक र प्युठानका एक जना सम्पर्कमा आएको विवरणमा उल्लेख छ । साथै, विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगहरू अस्पतालका शवगृहमा सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाइएको छ ।


