कर्णाली प्रदेश राजधानीभित्रको विपन्न बस्तीको कथा : २

हरेक क्षेत्रमा पिछडिएको गन्धर्व बस्ती

रमा केसी ९ कार्तिक २०८० १२:५६
62
SHARES
हरेक क्षेत्रमा पिछडिएको गन्धर्व बस्ती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको गन्धर्व बस्तीकी टीका बैगार। तस्बिर : रमा केसी

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको गन्धर्व बस्ती आधारभूत कुराहरूबाट वञ्चित रहँदै आएको छ। स्वास्थ्य, बेरोजगारी र पूर्वाधार विकास यहाँका नागरिकले भोग्दै आएका समस्या हुन्। यस्तै अधिकांशसँग जग्गाधनी प्रमाणपुर्जा छैन।

गाउँगाउँमा सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्व अहिले पुर्ख्यौली पेसा छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य छन्। तर रोजगारीका अवसर नपाएपछि साँझबिहान चुलो बाल्न समस्या भएको उनीहरूको दुःखेसो छ।

बस्तीका अधिकांश मानिस मजदुरीको भरमा बाँचिरहेको स्थानीय तुल्सी गन्धर्वले जानकारी दिइन्। उनी भन्छिन्, ‘आधुनिक गीतसंगीत एवम् प्रविधिको विकास भएपछि सारंगी बज्न छाडेको छ। समाजमा हेयको दृष्टिकोणका कारण पुर्ख्यौली पेसा छाड्न बाध्य भएका हौँ।’

काम नपाएपछि युवा पुस्ता विकृतितिर लागेका अनेक घटना छन्। घरमा मादक पदार्थ सेवन गरेर झगडा गर्ने जस्ता गतिविधिले पारिवारिक सद्भाव खलबलिँदै गएको छ। बस्तीमा काम नगरी बस्नेको संख्या बढेको हुँदा निकै समस्या भोग्नुपरेको तुल्सीले जानकारी दिइन्।

सडक सुविधा पुगेको छैन। सडक आउन नसक्दा कतिपय महिलाले बाटोमै बच्चा जन्माउनुपरेको उनले जानकारी दिइन्। तुल्सीले भनिन्, ‘एम्बुलेन्स आउन सक्दैन। स्टेचरमा हालेर अस्पताल लैजाँदालैजाँदै कतिको त बाटोमै ज्यान जाने गरेको छ।’

स्वास्थ्यबारे महिला सचेत छैनन्। गाउँमा स्वास्थ्य स्वयंसेविकाको उपस्थिति त्यति छैन। बच्चा जन्मेको साता-दस दिनमै महिला श्रममा जोतिन बाध्य छन्। त्यसैले उनीहरू अनेक प्रकारका रोगको सिकार भइरहेको तुल्सीको भनाइ छ। उनी भन्छिन्, ‘सुत्केरी भएको सात दिनमै बालुवा चाल्ने तथा भारी बोक्न बाध्य हुने गरेका कारण अधिकांश महिलालाई पाठेघर र पायल्सको समस्या छ’, उनले भनिन्।

नवजात शिशुमा पौष्टिक तत्त्वको कमी देखिने गरेको छ। कतिपय बालबालिका सानै उमेरदेखि विभिन्न रोगका सिकार भइरहेका छन्।  बस्तीमा स्वास्थ्य मात्र होइन, अन्य क्षेत्रमा पनि सचेतना न्यून छ। जनचेतना अभावकै कारण बालविवाह गर्नेको संख्या बढ्दै गएको छ। तुल्सी भन्छिन्, ‘पढाइभन्दा पनि किशोरकिशोरी अवस्थामै घरपरिवारको जिम्मेवारी लिएर बस्नेको संख्या धेरै छ।’

बालविवाह गरेकी टीका बैगारले ३० वर्षको उमेरमा पाँच सन्तानकी आमा भइन्। उनले यसबीच चार पटक गर्भपतन गराएको बताइन्। उनी भन्छिन्, ‘बच्चा जन्माउँदाजन्माउदै शरीर आधा भयो।’ उनलाई पाठेघर र डाढको समस्या देखिएको छ। लोग्नेले पनि अर्कै बिहे गरेपछि उनको बेहाल भएको छ।

उनको दुःखेसो छ, ‘रोजगारी केही छैन। पाँच सन्तान र सासूससुरालाई कसरी हेर्ने कुनै पत्तो छैन। बालुवा निकाल्न सरकारले रोक लगाएको छ।’ ज्यालामजदुरीले खान पनि नपुग्ने उनी बताउँछिन्।

स्कुल पनि निकै पर छ। बैगार भन्छिन्, ‘बालबालिका एक घण्टा हिँडेर धुलियाबिटस्थित शिव माविमा पढ्न जाने गरेका छन्।’ त्यसैले सबै बालबालिका स्कुल जाँदैनन्। अहिलेसम्म बस्तीका सात जनाले मात्रै एसईई वा सोसरहको अध्ययन गरेका छन्। आर्थिक समस्याका कारण माथिल्लो तह अध्ययन गर्न नसकेको उनको भनाइ छ। ‘न नजिकै स्वास्थ्यचौकी छ न सडक सुविधा,’ उनले भनिन्, ‘कोही बिरामी भए स्ट्रेचरमै बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ ।’

खेतबारीमा लगाएको बाली वन्यजन्तुले नाश गर्ने गरेको छ। लगाएको बाली वन्यजन्तुले नष्ट गर्ने भएकाले बाली लगाउन छोडेको उनले बताइन्। बैगारका अनुसार दुम्सी, बँदेललगायतका जनावरले बाली सखाप पार्न थालेपछि लगाउनै छाडिएको हो।

बस्तीले भोग्दै आएको अर्को समस्या हो खानेपानी। यहाँका ३५ परिवारका लागि जम्मा दुईवटा मात्रै धारा छन्।

२७ वर्षदेखि लालपुर्जाविहीन गन्धर्व बस्ती

प्रदेश राजधानी वीरेन्द्रनगरभित्रैको बस्ती भए पनि गन्धर्व बस्तीका बासिन्दा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारबाट वञ्चित छन्। बस्तीमा ३५ घरधुरीका १ सय ५० जना बस्दै आएको स्थानीय बिर्मा दमाईँले बताइन्। उनी भन्छिन्, ‘पुर्ख्यौली पेसा संकटमा परेपछि अधिकांशलाई मजदुरी गर्नुपर्ने बाध्यता छ।’

जग्गा प्राप्तिका लागि भूमि आयोगमा तीन पटक निवेदन दिए पनि सम्बोधन नभएको गुनासो स्थानीयको छ। ‘सरकारले सुरुमै हामीलाई बस्न नदिन बस्तीमा दुईपल्ट आगो लगाउने प्रयास गरेको थियो,’ उनले भनिन्, ‘अहिले पनि आफैँले प्रयोग गरिरहेको जमिनबाट कतिखेर कसले उठाउने हो भन्ने चिन्ताले सताइरहेको छ।’

स्थानीय धनबहादुर गन्धर्वले लालपुर्जा नहुँदा ऋण निकाल्न र व्यवसाय गर्न समस्या भएको बताए । ‘पुर्जाकै अभावमा राज्यबाट पाउने सुविधाबाट वञ्चित छौँ,’ उनले भने, ‘हामीलाई अरु केही चाहिएको छैन। सरकारले हामी बसेकै ठाउँको पुर्जा दिए पुग्छ ।’

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का गन्धर्व परिवार। तस्बिर : रमा केसी

गन्धर्व समुदायको खाद्य अधिकारको क्षेत्रमा पैरवी गरिरहेको फियान नेपालका कार्यकारी निर्देशक अशोकबहादुर सिंहले गरिबी र भोकमरीमा बाँचिरहेका बासिन्दाका लागि राज्य गम्भीर बन्नुपर्ने बताए। ‘भूमिहीन र चरम गरिबीमा रहेका समुदायको लागि सरकार गम्भीर बन्न जरुरी छ,’ उनले भने, ‘प्रदेश राजधानी भएर पनि बस्ती अनेक समस्याले आक्रान्त छ।’

वीरेन्द्रनगर-११ का वडा अध्यक्ष खिमलाल देवकोटा गन्धर्व बस्ती व्यवस्थित बनाउन सडक निर्माणलाई प्राथमिकता दिइएको बताउँछन्। उनी भन्छन्, ‘गन्धर्व बस्तीको मुख्य समस्या सडक हो। अन्य समस्या पनि छन्। योजनाबद्ध रूपमा समाधान गर्न लागिपरेका छौँ।’

शिक्षा, स्वास्थ्य र खानेपानीका समस्या पनि बिस्तारै समाधान गरिने उनको भनाइ छ। उनका अनुसार गन्धर्व बस्तीको जीवन सहज बनाउन झोलुङ्गे पुल पनि निर्माण गरिने योजना छ। यसैगरी सांस्कृतिक रूपमा सम्पन्न गन्धर्व बस्तीमा आन्तरिक पर्यटक भित्र्याउने तयारी रहेको देवकोटाको भनाइ छ। उनले भने, ‘जग्गाधनी प्रमाण पुर्जा वितरण पनि चाँडै हुनेछ।’

जनप्रतिनिधिले यस्तो दाबी गरे पनि स्थानीय बासिन्दा भने पत्याउने पक्षमा छैनन्। निर्वाचनका बेला भोट माग्न आउने नेताहरूले लालपुर्जा दिने आश्वासन दिए पनि जितेपछि अहिले फर्केर नहेरेको बिर्माको गुनासो छ। उनका अनुसार गन्धर्व बस्ती स्थानीय सामुदायिक वनको जग्गामा छ। सोही कारण डिभिजन वन कार्यालयले खाली गर्न भनेर दुईपटक सूचना टाँस गरेको उनले जानकारी दिइन्।

प्रदेश राजधानीभित्रको विपन्न बस्तीको कथा

प्रकाशित: ९ कार्तिक २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =