कर्णाली

प्रदेश राजधानीभित्रको विपन्न बस्तीको कथा

रमा केसी २५ असोज २०८० ११:२२
54
SHARES
प्रदेश राजधानीभित्रको विपन्न बस्तीको कथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित पँधेरामा पानी पिउँदै स्थानीय। तस्बिर : रमा केसी

सुर्खेत- पठान टोल वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १० मा पर्छ। धेरैलाई लाग्न सक्छ- कर्णाली प्रदेश राजधानीभित्रकै नगरको यो बस्तीमा भौतिक विकास तीव्र गतिमा भइरहेको छ। बस्तीमा पुगेपछि मात्रै थाहा हुन्छ त्यहाँको विपन्न अवस्था। बस्ती अनेक समस्याबाट गुज्रँदै आएको वर्षौँ बितिसक्यो। टोलबासीले नेताहरूको आश्वासन पनि धेरैपटक पाए।

दलित बाहुल्य बस्तीका अधिकांशसँग जग्गाधनी प्रमाणपुर्जा छैन। उनीहरू ऐलानी जग्गामा खेतीपाती गर्दै आएका छन्। बिजुली बत्तीको राम्रो व्यवस्था छैन। टोल नजिकै विद्यालय भए पनि त्यहाँ पढ्न जानेको संख्या न्यून छ। सोही कारण आर्थिक, सामाजिक विकासका दृष्टिले बस्ती निकै पछाडि परेको छ।

वीरेन्द्रनगरको दक्षिणपूर्वमा रहेको (घुस्रासँग जोडिएको) पठान टोल (अहिले शान्ति नगर टोल) प्रदूषणको उत्तिकै मारमा छ। विगतमा बस्ती बाक्लो नभएका कारण हावापानी स्वच्छ र सफा थियो। खानेपानीका स्रोत थुप्रै थिए। खानेपानीको समस्या थिएन। जनघनत्व बढे पनि बस्तीमा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। त्यसको असर खानेपानीको स्रोतमा पनि परेको छ।

‘मुहान धेरैतिर थिए। जताको पानी खाए पनि केही हुँदैन थियो’, स्थानीय दीपबहादुर रोकाय (६३) ले भने, ‘जब यहाँ बस्ती बढ्न थाल्यो त्यसपछि खानेपानीका मुहान सुक्दै गए। बाँकी मुहानमा पनि धमिलो, लेउ र मसिना किरा देखिन थाले।’

पठान टोलका बासिन्दा इनारको दूषित पानी पिउन बाध्य छन्। चारवटा इनारको पानी प्रशोधनबिनै प्रयोग गर्दै आएको स्थानीय बताउँछन्। दूषित पानीका कारण झाडापखाला, आउँ, टाइफाइड तथा छालालगायतका रोगबाट पीडित हुनुपरेको स्थानीय डिलाकुमारी विकले बताइन्। यस्ता रोगको जोखिममा बालबालिका र वृद्धवृद्धा पर्ने गरेका छन्। कतिले पानीजन्य रोगकै कारण ज्यान गुमाएका छन्।

यतिमात्र नभएर बस्तीका मानिस डिप्रेसनको सिकार बन्दै गएका छन्। सानै उमेरमा विवाह हुनु, घरको जिम्मेवारीमा पिसिनुको साथै कुनै पनि रोजगारी नहुँदा डिप्रेसनको समस्या देखिएको स्थानीय कल्पना किकले जानकारी दिइन्।

पठान टोल २०२४ सालमा दैलेख र जाजरकोट जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर आएका मानिसले बसालेको बस्ती हो। अहिले एक सय २५ घरधुरी रहेको स्थानीय अगुवा रने सुनार बताउँछन्। सुनारका अनुसार टोलमा दलित ९५ प्रतिशत, जनजाति ५, अन्य २३ घरधुरीको बसोबास छ। कुल जनसंख्या ७३३ छ। टोल सबैभन्दा बढी खानेपानीको समस्यामा छ।

‘समस्या समाधानका लागि वडा कार्यालयदेखि नगरपालिकामा समेत निवेदन दिएका छौँ। पटकपटक गुनासो गरेका छौँ। तर सुनुवाइ भएन,’ स्थानीय बिमा सुनारले भनिन्।

शुद्ध खानेपानी खुवाउने सरकारी प्रयास भने नभएको होइन। २०६७ सालमा १२ घरले खानेपानीका धारा पाएका थिए। ती धारमा पानी भने कहिल्यै आएन।

वर्षमा वीरेन्द्रनगर नगरपालिकाले एक लाख ७३ हजार लागतमा एउटा इनार मर्मत गर्दै आएको छ। स्थानीयले निर्माण समिति बनाएर जीर्ण इनार मर्मत गरेका छन्। बजेट पर्याप्त नहुँदा कामदारलाई पैसा दिन नसकिएको स्थानीय अगुवा सुनारले जानकारी दिए।

वीरेन्द्रनगर-१० की वडा सदस्य सन्ध्या परियारका अनुसार पठान टोलका धेरै मानिस कृषि र मजदुरीमा आबद्ध छन्। उनी भन्छिन्, ‘सरकारी जागिरमा मुस्किलले १० जनाजति संलग्न होलान्। अरू त ज्याला मजदुरी र कृषिबाटै जीविकोपार्जन गर्दै आएका छन्।’ श्रमका लागि खाडी मुलुक तथा काला पहाड जानेको संख्या पनि धेरै रहेको परियारले जानकारी दिइन्।

टोल नजिकै विद्यालय त छ। तर सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना बाबुआमामा छैन। सोही कारण गाउँमा रहेको आधारभूत विद्यालयमा विद्यार्थी संख्या असाध्यै न्यून छ। परियार भन्छिन्, ‘कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालय नजिकै छ तर विद्यालयमा विद्यार्थी भने जादैनन्। धेरै युवा लागूऔषध दुर्व्यसनमा लागेका छन्।’

टोलले भोग्दै आएको अर्को समस्या हो दलित समुदायभित्रकै विभेद। यहाँ दलित-दलितबीच पनि छुवाछुत र विभेद कायमै छ। यस्तो विभेद अन्त्यका लागि आफूहरूले पहल जारी राखेको वडा सदस्य परियार बताउँछिन्।

विपन्न बस्तीका बासिन्दाको जीवनस्तर उकास्नका लागि सरकारी संयन्त्र मात्रै होइन विभिन्न संघसंस्था पनि सक्रिय छन्। कपडा सिलाउने मेसिन, टपरी बनाउने मेसिन पनि पाएका छन्। परियार भन्छिन्, ‘बस्तीका मानिसहरू सामानको सदुपयोग गरेर आन्मनिर्भर बन्नु भन्दा सबै अरूले गरिदियोस् भन्नेमा छन्।’

वडाध्यक्ष डिलबहादुर रखाल पाइप लाइनबाट पानी खुवाउन नसके पनि पानीका मुहानलाई प्रत्येक वर्ष व्यवस्थापन गर्दै आएको बताउँछन्।

वडाध्यक्ष रखालले उपलब्ध पानीलाई शुद्धीकरण गरेर वितरण गरिएको बताए। यस्तै कतिपय टोलबासीले फिल्टरको सदुपयोग नगर्दा समस्या आएको छ। ‘हामीले उहाँहरूलाई पानी उमालेर खानुहोस् भनेर बारम्बार अनुरोध गरेका छौँ,’ वडाध्यक्ष रखालले भने, ‘उहाँहरू मान्नु हुन्न। पानी शुद्ध गराउन विभिन्न घरेलु विधि सुझाएका छौँ। पोटास तथा फिल्टर पनि दिएका छौँ। फिल्टरमा चामल हालेर राख्नुभएको छ।’

स्थानीयले माग गरेअनुरुप खानेपानीका लागि डिप बोरिङ निर्माण गर्न सकिने तर प्राविधिक रूपमा सञ्चालनमा कठिनाइ हुने वडाध्यक्ष रखाल बताउँछन्।

वडा न. १० मा ३२ वटा टोल छन्। ती टोलबासीको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण र नगरपालिका समन्वय भइरहेको जानकारी रखालले दिए। उनका अनुसार १२ जनाको टोली खटाएर जग्गाको लालपुर्जा वितरणसम्बन्धी काम पनि भइरहेको छ।

पठान टोलसँगै जोडिएको घुस्रा गाउँको भने अवस्था भिन्न छ। दुई टोलको दूरी झण्डै पाँच सय मिटर छ। घुस्रा टोलमा बिजुलीको राम्रो प्रबन्ध छ। कालोपत्रे सडक बनेका छन्। शिक्षा तथा स्वास्थ्यको राम्रो प्रबन्ध छ। सुर्खेत उपत्यका खानेपानी संस्थाले व्यवस्थित खानेपानी उपलब्ध गराएको छ।

प्रकाशित: २५ असोज २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =