बिजुली महसुल नतिर्दा वीरेन्द्रनगरका सडक अँध्यारो

रमा केसी २२ चैत २०८० ११:३५
38
SHARES
बिजुली महसुल नतिर्दा वीरेन्द्रनगरका सडक अँध्यारो सुर्खेतस्थित सडकको पोलबाट चिम निकाल्दै नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिम निकालिएको होल्डर। तस्बिर : रमा केसी

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सडक अन्धकार बन्दै गएको छ। वीरेन्द्रगर नगरपालिकाले सुर्खेत वितरण केन्द्रको बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल विद्युत् प्राधिकरणले गत सातादेखि सडक बत्तीको लाइन काट्न सुरु गरेको हो। प्राधिकरणले सडक बत्तीको लाइन काट्न वडावडामा कर्मचारी खटाएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नं.२,३,४,५,७,८ लगायतका मुख्य सडकका पोलका चिम पनि निकालिएको छ। अँध्यारोका कारण वीरेन्द्रनगरमा चोरीडकैतीलगायत आपराधिक घटना बढ्ने चिन्ता स्थानीय बासिन्दाले गर्न थालेका छन्। वीरेन्द्रनगर- १ की स्थानीय सिर्जन गिरीले बिजुलीको लाइन काटेपछि साँझको समयमा आवातजावत गर्न कठिनाइ भएको बताइन्। उनले भनिन्, ‘अफिसको काम सकेर घर जाँदा कहिलेकहीँ ढिला हुन्छ, बाटोमा बत्ती हुँदैन। डराउँदै घर पुग्नुपर्छ।’

वीरेन्द्रनगर नगरपालिका–१ का वडाअध्यक्ष दिनेश खत्रीले हटलाइन सडकका पोलमा लगाएको चिम निकालिएको बताए। उनले भने, ‘प्राधिकरणले सबै सडकका चिम निकाल्न थालेको छ। हाम्रो वडामा पनि चिम निकाल्दैछ।’

वीरेन्द्रनगर नगरपालिका–२ का वडाअध्यक्ष गजबहादुर बुढाले वीरेन्द्रनगरका सबै वडाका सडकमा केही दिनदेखि अँध्यारो हुँदै आएको बताए। केही ठाउँमा बाहेक सबै वडाका सडकमा बत्ती काटिएको उनको भनाइ छ। उनले भने, ‘स्थानीय बासिन्दा समस्यामा परेका छन्।’

वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष शेरबहादुर केसीका अनुसार विद्युत् प्राधिकरणले हटलाइन सडकका पोलमा लगाइएका चिम झिकेर लगेको छ। उनले भने, ‘चारपाँचजना कर्मचारी आएर पोलबाट धमाधम चिम झिकेर लगे।’ केसीले सडक बत्तीको लाइन काटिएको विषयमा नगरपालिकालाई जानकारी गराइसकिएको बताए।

वडा नं. ८ का वडाध्यक्ष टीकाराम शर्माले समस्याको समाधान कार्यालय तहबाट गर्नुपर्नेमा सीधै लाइन काटिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘सडकमा अँध्यारो भएपछि आपराधिक घटना बढ्न सक्छ। तत्काल कार्यालय तहबाट समाधान खोज्नुपर्छ।’

प्राधिकरणले भने बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बेवास्ता गरेपछि बाध्य भएर सडक बत्तीको लाइन काट्नुपरेको जनाएको छ। सुर्खेतस्थित प्राधिकरण कार्यालयका प्रमुख अशोक लोहनीले २०७३ सालयताको सडक बत्तीको बक्यौता तिर्न बारम्बार आग्रह गर्दा पनि अटेर गरेपछि  लाइन काट्नुपरेको बताए। उनले भने, ‘सडक बत्ती बालेबापत नगरपालिकाले पाँच करोड ३० लाख बक्यौता तिर्न बाँकी छ।’

लोहनी असोजमा सरुवा भएर सुर्खेत आएका हुन्। बक्यौता तिर्न नगरपालिकालाई पत्राचार गरिए पनि अटेर गरेको आरोप उनको छ। ‘दुई÷दुई पटक पत्राचार गर्दा पनि केही सुनुवाइ नभएपछि गत मंगलबारदेखि सडक बत्तीको लाइन काट्न सुरु गरिएको हो’, लोहनीले भने।

महसुल भुक्तानी नभएसम्म सडक बत्तीको लाइन काट्न नरोकिने प्राधिकरणको तयारी छ।

प्राधिकरणले सडक बत्ती मात्रै नभएर बक्यौता रकम नबुझाउने १७ सय ग्राहकको पनि लाइन काटेको छ। लोहनीका अनुसार ती ग्राहकबाट पाँच करोडभन्दा बढी महसुल भुक्तानी हुन बाँकी छ।

वीरेन्द्रनगर नगरपालिका भने सडक बत्तीको महसुलका विषयमा आगामी नगरसभामा निर्णय लिने तयारीमा छ। उपप्रमुख नीलकण्ठ खनालले प्राधिकरणको बक्यौता भुक्तानी गर्ने विषयमा नगरसभाबाटै निर्णय गरिने बताए। उनले प्राधिकरणले पनि पोलको भाडाबापतको रकम भुक्तानी नगरेको बताए। खनालले भने, ‘प्राधिकरणले नगरभित्र गाडेको बिजुलीको पोलको भाडा नगरपालिकालाई दिनुपर्छ। बक्यौता रकमको दायित्व नगरपालिकाको मात्रै होइन।’

प्रकाशित: २२ चैत २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =