बीपी साहित्य महोत्सवमा संविधान, शिक्षा र कोइराला परिवारको बहस

सुस्मिता बजगाईं ४ असोज २०८० ८:०३
52
SHARES
बीपी साहित्य महोत्सवमा संविधान, शिक्षा र कोइराला परिवारको बहस बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा बुधबार 'बीपीको विचार, आजको संविधान र अबको बाटो' विषयमा समूहगत बहसमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य तथा पूर्वमन्त्री निलाम्बर आचार्य र सहजीकरण गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसले पहिलोपटक आयोजना गरेको ‘बीपी साहित्य महोत्सव’ बुधबार सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालित सत्रहरूमा कांगेसका संस्थापक बीपी कोइरालालाई केन्द्रमा राखेर राजनीति, कूटनीति, अर्थतन्त्र, समाज र साहित्यबारे बहस गरी महोत्सव समापन गरिएको हो। कांग्रेसले नेता कोइरालाको ११० औँ जयन्तीका अवसरमा भदौ २४, २५ र २६ गतेका लागि महोत्सव आयोजना गरेको थियो। संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएकाले महोत्सवको तेस्रो दिनको सत्र बुधबार आयोजना गरिएको हो।

साहित्य महोत्सव भनिए पनि कोइरालालाई साहित्यकारका रूपमा त्यति धेरै बहस भएन। नेपाली कांग्रेसले महोत्सवको नाम नै बीपी साहित्य महोत्सव भनेको थियो। तर कोइरालाका कुनै पनि रचना बीपीका नाममा प्रकाशित छैनन्। उनका सबै साहित्यिक कृतिमा विश्वेश्वरप्रसाद कोइराला लेखिएको छ।

महोत्सवमा बीपीलाई राजनीतिज्ञ, देश विकास, समाज परिवर्तन गर्ने दृढ अठोट भएका एक योद्धाका रूपमा चर्चा गरे। बीपी आजसम्म रहन्थे भने देश विकासले उहिल्यै फड्को मारिसक्थ्यो भनेर बहसमा सहभागीहरूले कोइरालाको प्रशंसा गरेका थिए। साथै कतिपय सहभागीले बीपीलाई केन्द्रमा राखेर कांग्रेसभित्रको विकृतिको पनि खुलेरै आलोचना गरे।

अन्तिम दिन ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’, ‘समावेशिता, सामाजिक रूपान्तरण र बीपी’,  ‘परिवारले बुझेका बीपी’ र ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ विषयमा सत्र सञ्चालन भएका थिए।

विश्वविद्यालयमा हस्तक्षेप नगरौँ : माथेमा

‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ प्रमुख वक्ताका रूपमा शिक्षाविद् केदारभक्त माथेमा थिए। उनले बीपी सिर्जनशील व्यक्ति रहेको बताए। बीपी भएको भए विद्यार्थीलाई चुनौतीसँग जुध्न सिकाउने खालको शिक्षणपद्धतिको विकास गर्ने अनुमान गरे।

नेपालमा धेरै वटा विश्वविद्यालय भए पनि त्रिभुवन विश्वविद्यालयमै विद्यार्थीको भीड लागेको अनि सबै विश्वविद्यालयमा एकै खालको पाठ्यक्रम र पाठ्यपुस्तक पढाउने गलत काम भइरहेको उनको भनाइ थियो।

‘नेपालमै यति धेरै विश्वविद्यालय छन् तर विद्यार्थीको कुरा गर्ने हो भने ७५ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा मात्रै जान्छन्’, उनले भने, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीको असन्तुलन छ। यसलाई हामीले सम्बोधन गर्नुपर्छ।’

यस्तै नेपालका अधिकांश विश्वविद्यालयमा एउटै पाठ्यक्रम र परीक्षा प्रणाली रहेको उनको भनाइ छ। माथेमाले भने, ‘नेपालभरिका करिब ११ सय क्याम्पसले विद्यार्थीलाई एउटै पाठ्यक्रम, पाठ्यपुस्तक पढाउँछन् र एउटै परीक्षा लिन्छन्। यस्तो शिक्षाले विश्वविद्यालयमा बीपीले खोज्ने सिर्जनशीलता, नवीनता, विविधता, पाइँदैन।’ साथै उनले विश्वविद्यालयमा कसैको पनि हस्तक्षेप हुनु नहुने बताए।

‘समेटिनुपर्ने विषयमा संविधान मौन छ’

‘समावेशिता, सामाजिक रुपान्तरण र बीपी’ विषयक सत्रमा नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधि सभाकी पूर्वउपसभामुख चित्रलेखा यादव, साहित्यकार आहूति र डा. लालबहादुर पुनले बहस गरेका थिए।

साहित्यकार आहूतिले संविधानले सामाजिक रुपान्तरण र आधारभूत परिवर्तन नगर्ने जिकिर गरे। बीपीले सबैभन्दा बढी जोड दिएका भूमिको मुद्दामा पनि संविधान नबोलेको उनको असन्तुष्टि छ।

उनले भने, ‘संविधानले आधारभूत रुपमा केही बोलेको छैन। जति पनि गर्नुपर्ने काम छ त्यो सबै निर्देशक सिद्धान्तमा मात्रै लेखिएको छ। जुन लागू गरे पनि हुन्छ र नगरे पनि हुन्छ।’

नेपाली समाजमा जति नै समानताको कुरा गरे पनि पुरुषसत्तात्मक सोच, जातीय विभेद र महिला हिंसा प्रत्येक घरमा धेरथोर रहेको उनले उल्लेख गरे। ‘पुरुषसत्तात्मक सोच, जातीय विभेद प्रत्येक घरमा छ। आदिवासी जनजाति, भोजपुरी–मैथिली आदिका संस्कृति, भाषा, जमिन लुटिएको छ’, उनले भने ‘यस विषयमा संविधान मौन छ। संविधानले यथार्थ नबोलेपछि कसरी समाधान गर्छ? यस्ता समस्या नेपाली समाजमा छ भन्ने अहिलेको संविधानले मान्दैन।’

संविधानले सार्वजनिक सम्पत्तिको रक्षा गर्न नसकेको साहित्यकार आहूतिले औँल्याए। ‘संविधानले व्यक्तिगत सम्पत्तिलाई अधिकार दिएको छ। त्यसैले त सार्वजनिक सम्पत्ति लुटिएको छ। संविधानले रक्षा गर्न नसकेको सार्वजनिक सम्पत्तिको रक्षा कसले गर्छ?

पूर्वउपसभामुख चित्रलेखा यादवले पहुँच भएकाको मात्र योजना, काम र मुद्दा सफल हुने गरेको बताइन्। ‘जसको सरकारमा पहुँच छ उसको क्षेत्रमा बजेट अत्यधिक छ। पहुँच नभएका ठाउँमा योजना शून्य छ। यही हो त समावेशी राजनीति र सामाजिक रूपान्तरण?’ उनले भनिन्।

डा. पुनले संविधानले समावेशिताको र सामाजिक रुपान्तरणको विषय उठान गरे पनि कार्यान्वयन हुन नसकेको बताए।

‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक सत्रमा नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओवादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दाबी गरे। उनले भने, ‘संविधान बनेपछि यसको कार्यान्वयनमा हामीले जोड दिन सकेनौँ, संविधान जारी भएपछि कार्यान्वयन गर्ने बेलामा २०७२ सालपछि कम्युनिस्टको सरकार बन्यो। केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले संविधान कार्यान्वयन गर्नभन्दा राज्यसत्ता कब्जा गर्ने नियत राखेको देखियो’, सिटौलाले भने।

सिटौलाले संविधान कार्यान्वयनका लागि संघीय संसद् र प्रदेशसभाका सांसदहरूको क्रियाशीलताको खाँचो रहेको धारणा राखेका थिए।
पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानमा धेरै मौलिक हक राखेर कार्यान्वयन गर्न नसक्नु सत्तारूढ दलकै कमजोरी भएको बताए।
उनको बुझाइमा अहिलेको संविधान माओवादीबाट ‘डोमिनेटेड’ छ। त्यसैले यसले मुलुकलाई निकास दिँदैन। ढुंगानाले भने, ‘बीपी स्टालिनको पालाको रुसको संविधानलाई उत्तम भन्नुहुन्थ्यो।’

संविधानसभा सदस्य तथा पूर्वमन्त्री नीलाम्बर आचार्यले संविधान जारी भएको तीन वर्षभित्रमा बन्नुपर्ने कानुन निर्माण नहुनु दुःखद् भएको बताए। ‘बीपीले भने जस्तै प्रजातन्त्र बलियो बनाउन आर्थिक समुन्नति चाहिन्छ। तर अहिले युवा पलायन वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोशको संकेत हो’, आचार्यले भने।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू संविधानसभामा चुप लागेर नबसेको भन्दै माओवादीले नमानेको बहुलवादलाई मान्न बाध्य बनाएको र अनेकौँ एजेन्डामा अडान लिएको दाबी गरे।

कांग्रेस अघि बढाउन परिवारका सदस्य एकजुट हुने प्रतिबद्धता

‘परिवारले बुझेको बिपी’ विषयक बहसमा नेपाली कांग्रेसका नेताहरू डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइरालाले बीपी कोइरालालाई चिनाएका थिए। त्यस क्रममा उनीहरूले कांग्रेस पार्टीलाई बलियो बनाउनु आफूहरू तीनै जना एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नेता डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताए।
देशभरका कार्यकर्ताको भावना र सुझावबमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताए। बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको उनको भनाइ थियो।

नेता कोइरालाले आफूहरू कोइराला परिवारका सदस्यलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर शशांक कोइराला र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताउनुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइरालाले कांग्रेसका लागि आफूहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए। कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ भनेर बीपीले आफूहरूलाई भन्ने गरेको घटना स्मरण गरेका थिए।

नेत्री सुजाता कोइरालाले कांग्रेसका केही जिल्लाका कार्यकर्ताले दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाट आफू दुःखी भएको बताइन्। उहाँले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रविन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीसँग आह्वान गरिन्।

प्रकाशित: ४ असोज २०८० ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =