साहित्य महोत्सवमा बीपीलाई कसले कसरी चिनाए?

सुस्मिता बजगाईं २४ भदौ २०८० १८:५४
118
SHARES
साहित्य महोत्सवमा बीपीलाई कसले कसरी चिनाए? महोत्सवमा ‘बीपीको साहित्य सिर्जना र जीवन दर्शन’ बारे प्रस्तुति दिँदै समालोचक प्रा. अभि सुवेदी। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- विभिन्न राजनीतिक दलका नेता र साहित्यकारहरूले विश्वेश्वरप्रसाद कोइरालालाई राजनीतिज्ञभन्दा पनि साहित्यकारका रूपमा चिनाउने प्रयास गरेका छन्। कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले राजधानीमा आइतबार सुरु गरेको तीनदिने ‘बीपी साहित्य महोत्सव’ मा सभागीहरूले कोइरालालाई साहित्यमा विश्वेश्वरकै नामबाट चिनाउनुपर्नेमा जोड दिएका हुन्।

महोत्सवको पहिलो दिन ‘बीपीको साहित्य सिर्जना र जीवन दर्शन’, ‘बीपीका दृष्टिमा बीपी’, ‘बीपीका आख्यानमा मनोविश्लेषण’, ‘साहित्यमा पर्यावरण’ र ‘नेपालको मातृभाषा साहित्य’ शीर्षकमा भिन्नभिन्न सत्र सञ्चालन भएको थियो।

‘बीपीका आख्यानमा मनोविश्लेषण’ शीर्षकमा विमर्श गर्दै डा. कोमल फुयालले कोइरालालाई यौनमनोविश्लेषणका रूपमा चिनाए। आधुनिकताको प्रवेश गराएर अतियथार्थवादको जालोमा परेको नेपाली साहित्यमा कोइरालाले व्यक्तिभित्र वैकल्पिक आत्मा हुन्छ र अवचेत मनमा रहेका कुराले पनि मानिसलाई निर्देश गरिरहेकोे हुन्छ भन्ने कुरा पात्रमार्फत देखाएको फुयालको भनाइ थियो।

समालोचक साधना प्रतीक्षाले कोइरालाले लेखेका कोइरालाका नारी पात्रहरूको यौन मनोविज्ञानलाई सही ढंगले विश्लेषण नभएको बताइन्। चन्द्रवदन, श्वेतभैरवी, दोषी चश्माजस्ता कृतिका पात्रको उदाहरण दिँदै उनले नारी पात्रहरुको विश्लेषण नभएको बताएकी हुन्। ‘कोइरालाले कृतिमार्फत घुम्टो आन्दोलनको विद्रोह गरे। त्यसैले उनका कृति कालजयी छन्’, प्रतीक्षाले भनिन्।

अध्येता राम लोहनीले मनोविश्लेषणात्मक कथाकारका रूपमा सिग्मन्ड फ्रायडका कृतिको उदाहरण दिँदै कोइरालाका कृतिमा फ्रायडियन सिद्धान्त कम भएको औँल्याए। उनले कोइरालाका आख्यानमा नारी पुरुषको समर्पणको भाव रहेको बताए। उनले भने, ‘कोइरालाका कृतिमा यौन विषय कम र सामाजिक विषयवस्तु बढी छ।’

‘बीपीका दृष्टिमा बीपी’ शीर्षकको विमर्शमा बोल्दै भुवन ढुंगानाले कोइरालालाई विद्रोहीका रूपमा चिनाइन्। ‘कोइराला व्यक्ति एक र व्यक्तित्व अनेक भएका व्यक्ति हुन्’, उनले भनिन्। कोइराला साहित्यकार र राजनीति दुवै पक्षमा प्रबल रहेको उनको बताइन्। अहिलेका पुस्ताले कोइरालालाई बुझ्न नसकेको उनको भनाइ छ।

विश्लेषक सीके लालले साहित्यमा जटिल पात्रहरुको सिर्जना गरे पनि सबैभन्दा जटिल कोइराला स्वयं रहेको बताए। ‘संघर्षका समयमा हरेक क्रान्तिकारी प्रेमी र हरेक प्रेमी क्रान्तिकारी रहेको उनको रचनाले प्रस्ट्याएको छ’, लालले भने। कोइरालाका रचनामा रहस्यवाद, रोमाञ्चवाद र आदर्शवादको मिश्रण रहेको लालको निष्कर्ष छ।

बीपी साहित्य महोत्सवका सहभागी। तस्बिर : दिपेश श्रेष्ठ

अहिलेको पुस्तालाई कोइरालाका बारेमा बुझाउन प्रत्येक व्यक्तिको भित्री भय हटाएर उसभित्र ज्ञान हुनु आवश्यक रहेको लालले बताए। ‘जसका लागि आत्मचिन्तन र सम्बन्धित विषयको अध्ययन हुनुपर्छ’, उनले भने। कोइरालाले व्यक्तिको मनोभाव गहिरोसँग बुझेको लालले बताए।

राजनीतिशास्त्री कृष्ण खनालले कोइरालाको प्रस्तुतिमा मौलिकता रहेको बताए। ‘ठूलो होइन असल मान्छे बन भन्ने उनको मौलिकपन हो’, खनालले भने। कोइराला आफैंप्रति उत्तरदायी रहे पनि उनका अनुयायीमा त्यस्तो नभएको उनले बताए।

महोत्सवमा ‘बीपीको साहित्य सिर्जना र जीवन दर्शन’ मा समालोचक प्रा. अभि सुवेदीले सम्भाषण प्रस्तुत गरेका थिए। उनले नेपाली राजनीति र साहित्यमा सबैभन्दा बढी एकैसाथ नाम लिइने व्यक्ति कोइराला नै रहेको बताए।

‘कोइरालाले आफ्नो निर्वैयक्तिक देखिने लेखनमा निजत्व, निजात्मक, भावना र अनुभवजन्य व्यञ्जनाको प्रयोग गरेका छन्। साहित्यलेखनमा अत्यन्त मानवीय तरंग र विचारको संयोग उनकै भावना र विचारले बनेको पद्धति हो’, सुवेदीले भने।

सुवेदीले कोइरालाको साहित्य साधना र जीवन दर्शनमा अनेकौँ शक्तिको अनुशीलन गरिएको पनि बताए। उनले भने, ‘साहित्यको मीमांसाको आधार नै बहुल चेतनाको संगम हो। कोइरालाको जीवनदर्शन बृहत् थियो।’ उनका कृतिले बहुआयामिकता साथै महत्त्वपूर्ण स्वरुप सिर्जना गरेको धारणा सुवेदीको छ। कोइरालका कृतिले आधुनिकता ल्याउन खोजेको भन्दै सुवेदीले कोइरालाले साहित्य र राजनीतिलाई दौँतरीजस्तै मानेको बताए।

सुवेदीले भने, ‘कोइरालाले आफ्ना आख्यानमा मानिसका सूक्ष्म, सरल मनोभावदेखि तिनमा मिथकीय र भयानक स्वरूपका चित्रण गरेका छन्।’ बीपीको अध्ययनको मोडल सिद्धान्त पढ्ने नेताको जस्तोे नभएर साहित्यको जस्तो रहेको बुझाइ सुवेदीको छ। यस्तै कोइरालाको साहित्य कृतिमा अधिचेतना प्रयोग महत्त्वपूर्ण रहेको सुवेदीले बताए। सुवेदीका अनुसार कोइरालाका कृतिका पात्रले सरलताभित्र बृहत् चेतना बुझेका र तिनले अस्मिताका विभिन्न आयामलाई उजागर गरेका छन्।

महोत्सव उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले बीपीको विचारलाई कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका थिए।

दोस्रो दिन २५ गते आनन्द कुमारले ‘मार्क्स, गान्धी र बीपी क्वेस्ट फर डेमोक्रेसी सोसलिज टुडे’ शीर्षकमा विशेष प्रवचन दिनेछन्। त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन विषयमा छलफल हुनेछ। त्यस साँझ ३० जना गजलकारले गजल वाचन गर्ने कार्यतालिका छ।

तेस्रो दिन २६ गते केदारभक्त माथेमाले ‘बीपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला’ भन्ने विषयमा प्रवचन दिनेछन्। त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबार्ल्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी विषयमा विज्ञहरूबीच छलफल हुनेछ। सोही साँझ प्रसिद्ध सांगीतिक समूह कुटुम्बको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ।

महोत्सवमा फाइन आर्टका मूर्धन्य व्यक्तित्वहरूबाट प्रत्यक्ष कोरिएका चित्र प्रदर्शन हुनेछन्। यस्तै महोत्सवमा हाइज्याकिङ फर डेमोक्रेसी, वीर गणेशमान, तीन घुम्तीजस्ता वृत्तचित्र प्रदर्शनी गरिनेछ। साथै ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको समन्वयमा भएको हो।

प्रकाशित: २४ भदौ २०८० १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =