बीपीलाई समाजसँग जोड्दै कांग्रेस

सुस्मिता बजगाईं २५ भदौ २०८० २२:२१
98
SHARES
बीपीलाई समाजसँग जोड्दै कांग्रेस नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित त्रि–दिवसीय बीपी साहित्य महोत्सवको दोस्रो दिनको दोस्रो सत्रमा ‘बीपीले नपाएका १५ वर्ष’ विषयक छलफलमा सहजीकरण गर्दै महामन्त्री गगनकुमार थापा र वक्ताहरु हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झालगायत। तस्बिर : राासस

काठमाडौँ- नेपाली कांग्रेसले ‘बीपी साहित्य महोत्सव’ मार्फत पार्टी नयाँ राजनीतिक दिशातर्फ अग्रसर रहेको सन्देश दिएको छ।  पार्टीका संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा मुलुकको कला, साहित्य, इतिहास, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्रजस्ता विषयका विज्ञहरूलाई एउटै मञ्चमा बहसमा उतारेर पार्टीले यस्तो सन्देश दिएको हो।

महोत्सवअन्तर्गत दोस्रो दिनको विभिन्न सत्रमा सहभागी विज्ञहरूले राजनीतिक दलको अगुवाइमा पहिलोपटक यस्तो सद्भावपूर्ण कार्यक्रम गरेर कांग्रेसले ऐतिहासिक कार्यको थालनी गरेको बताए। पत्रकार सुधीर शर्माको भनाइ आधार मान्ने हो भने राजनीतिक दलले यस्तो खालको कार्यक्रम गरेको पहिलोपटक हो। उनले भने, ‘आफ्नो पार्टी पंक्तिबाहेक आमसमाजसँग जोड्ने यस्तो अन्तरक्रियाको अहिले नेपाली राजनीतिमा खाँचो छ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विचार र राजनीतिको खडेरी परेका बेला यस्तो कार्यक्रम आयोजना गरेर आफ्नो पार्टीलाई मात्रै होइन, नेपाली राजनीतिलाई नै नयाँ दिशा दिन खोज्ने कार्य प्रशंसनीय रहेको बताए। यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बीपीलाई केन्द्र बनाई समकालीन मुद्दाहरूलाई बहसमा उतारेर कांग्रेसले उदाहरणीय कार्यको थालनी गरेको बताए।

तीनदिने ‘बीपी साहित्य महोत्सव’ को सोमबार ‘मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ ‘बीपीले नपाएका १५ वर्ष’, ‘बीपीका आख्यानमा मधेश’, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ र ‘युवा स्रष्टामा बीपी पठन’ शीर्षकमा विमर्श भएका छन्। ती सबै छलफलका सहभागीले बीपीलाई जोड्दै नेपाली राजनीति, कूटनीति, अर्थतन्त्रबारे बहस गरेका थिए।

पहिलो सत्रमा भारतीय विद्वान् प्राध्यापक आनन्द कुमारले ‘मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्दै बीपी जीवनभर संघर्षरत व्यक्ति रहेको बताए। मार्क्सवाद, गान्धीवादबाट प्रभावित बीपी पुँजीवादविरुद्ध लड्ने व्यक्ति रहेको कुमारको बुझाइ छ।

‘बीपीका आदर्श गान्धी हुन्’, कुमारले भने, ‘बीपीले विचार निर्माणको राजनीति गरका छन्।’ उनले मार्क्स, गान्धी र बीपीले विश्वमा तीन फरक वाद क्रमशः पुँजीवाद, साम्राज्यवाद र सामन्तवादविरुद्ध लडिरहेका व्यक्तिका रूपमा विभिन्न प्रसंगमार्फत प्रस्ट पारेका थिए। तीनैजना आफ्नो मातृभूमिमा बस्न नपाए पनि समाज परिवर्तनका रूपमा समर्पित व्यक्ति रहेको उनले उल्लेख गरे।

लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न र समता र सम्पन्नता बराबरमा लैजानु आवश्यक भए पनि सरकार र सत्तामा पुगेपछि समता भुल्ने गरेको उनले बताए। ‘अहिलेका नेता सम्पन्नता चाहन्छन् तर समता चाहँदैनन्’, कुमारले भने।

देश विकासका लागि सम्पन्नता र समता दुवै हुन आवश्यक रहेको कुमारमा उनले जोड दिएका छन्। ‘लोकतान्त्रिक समाजवादले शिक्षाको अधिकार महिलाको सुरक्षा गरे पनि नरनारी क्षमताको विना समाजवाद ल्याउन सकिँदैन’, उनले भने। चुनावमा पैसा र पुँजीवादले जित्ने प्रयास नगर्न पनि नेताहरूलाई आग्रह गरे।

काल्पनिक विषयमा सार्थक बहस

यस्तै कार्यक्रमको अर्को सत्रमा ‘बीपीले नपाएका १५ वर्ष’ मा बीपीले जीवनकालमा थप १५ वर्ष सत्तामा बस्न पाएका भए के गर्थे होलान् भन्ने काल्पनिक विषयमा बहस भएको थियो। यो सत्र बीपीले २०१६ सालतिर राजा महेन्द्रसँगको कुराकानीका विषयमा आधारित थियो।

महेन्द्रले बीपीलाई सोधेका थिए, ‘बीपीबाबु देश कसरी बदल्ने?’
मैले राजालाई भनेको थिएँ, ‘म विराटनगरको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ। खानलाउन पुग्ने परिवारको मान्छे हुँ। १५ वर्ष मैले पाउने भए प्रत्येक नागरिकलाई मध्यमवर्गको जस्तै खानलाउन पुग्ने बनाउने थिएँ।’

यस विषयमा राजनीतिशात्री हरि शर्मा, संविधानविद् विपिन अधिकारी, अर्थशास्त्री प्रा.डा. अच्युत वाग्ले, अध्येता मञ्चला झा र सहजकर्ताका रूपमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले विमर्श गरेका थिए।

राजनीतिशात्रस्त्री शर्माले भने, ‘यो कल्पना गर्ने प्रश्न हो। बीपीले पाउनुभएन। पाउनुभएको भए बीपीले आफ्नो शासनकालमा सुरु गर्नुभएको भूमिसुधार, न्यायपूर्ण समाज निर्माण, औद्योगिक विकास र परराष्ट नीतिका सन्दर्भजस्ता कार्यलाई थप बढाउनुहुन्थ्यो।’

अहिलेको राजनीतिक नेतृत्व बीपी जतिको ढङ्गको भए/नभएको देखिएको उनले शर्माले बताए। बीपीले आफ्नो शासनकालमा बिर्ता उन्मूलन, विदेशसँगको सम्बधलगायतका काम गरेर देखाएको शर्माले बताए। ‘बीपी चिन्तनमात्रै होइन कार्यक्रममा पनि प्रतिबद्ध हुनुहुन्थ्यो’, शर्माले भने, ‘उहाँमा केही गरौँ भन्ने हुटहुटी थियो।’

संविधानविद् डा. विपिन अधिकारीले बीपीले १५ वर्ष पाएको भए सामाजिक न्याय र आधारभूत शिक्षामा काम गरेर देखाउन सक्ने बताए। ‘त्यसबाट विधिको शासन लागू गरेर मुलुकको भविष्य कोर्ने थिए’, अधिकारीले भने।

बीपीले संगत गरेका मानिस कोही कमसल नभएको भन्दै उनले विश्वमा आइरहेको परिवर्तनसँग नेपाललाई जोड्ने उपाय बीपीले नै खोजी गरेको बताए। ‘विचार र गतिशीलताको दृष्टिले उनी चञ्चल थिए’, अधिकारीले भने। ‘बीपीले संसदीय व्यवस्थालाई रूपान्तरण गर्ने थिए।’

प्राध्यापक मञ्चला झाले बीपीले थप १५ वर्ष पाएको भए अहिले विमानस्थलमा रोजगारीका लागि विदेश जाने युवाको भीड नहुने, मिटरब्याज पीडित आन्दोलनमा होमिनु नपर्ने, पाँच किलो मलका लागि भारतीय प्रहरीको डण्डा खानुपर्ने जस्ता अवस्था देख्नु नपर्ने बताइन्।

‘बीपी कोइरालालाई सिद्धान्त र व्यवहारमा एक भएको देखेकी छु,’ उनले भनिन्, ‘प्रजातान्त्रिक समाजवाद व्यवहारमा लागू गर्न प्रयास गरेको देखेँ मैले। १८ महिनामा यति धेरै काम गरेको देखेको छैन। एक वर्षमा १६ सय विद्यालय स्थापना चानचुने थिएन।’ बीपीले समाजको विविधतालाई मनन गरेर नीति तथा कार्यक्रम ल्याउनुका साथै आन्दोलनलाई समानताका रूपमा लिएको झाले बताइन्।

उनले २०४६ सालको जनआन्दोलनपछि कांग्रेसले बीपीको समाजवादी सिद्धान्तलाई आम जनतासम्म पुर्‍याउन नसकेको टिप्पणी गरिन्। साथै उनले निरंकुश जहानियाँ राणाशासनबाट मुक्त समाज र निरंकुश राजतन्त्रको समयमा बीपीले गरेको कामलाई सबैले अंगीकार गर्न नसकेको उनको भनाइ थियो।

अर्थशास्त्री प्रा.डा. अच्युत वाग्लेले बीपीको आर्थिक पाटोको चर्चा हुन नसकेको बताए। उनले बीपीलाई प्रजातान्त्रिक समाजवादका रूपमा गोलमटोल गरिएको जिकिर गरे। बीपीले १५ वर्ष पाएको भए देश अर्कै हुने तर्क उनको छ।

‘दोस्रो पञ्चवर्षीय योजनामा बीपीले एक अर्ब ५२ करोड पुँजीगत खर्च गर्छु भन्नुभयो। उहाँको सबैभन्दा पहिलो काम भूमिसुधारमा सामन्तवाद अन्त्य गर्ने भन्ने थियो। जमिनका बारेमा तीनवटा शब्द भन्नुभएको छ। उत्पादकत्व वृद्धिमा जोड दिनुभएको छ’, वाग्लेले भने। बीपीको समाजवादलाई कांग्रेसले पर्याप्त छलफल नै नगरेको उनको टिप्पणी थियो।

‘बीपीको हुर्काइ मधेशमै भए पनि कृतिमा मधेशको वर्णन छैन’

‘बीपीका आख्यानमा मधेश’ विषयमा श्याम शाह, साहित्यकार नयनराज पाण्डे र प्राध्यापक सञ्जिता बर्माबीच विचार विमर्श भएको थियो।  साहित्यकार पाण्डेले बीपीको रचनामा आख्यानका पात्रहरु छेउकै पात्र हुन भन्ने भान हुने बताए। बीपीका सुम्निमा, नरेन्द्र दाइ, श्वेतभैरवीजस्ता कृतिमा समेटिएको मधेशको परिवेश आफ्नै परिवेशजस्तो लाग्ने पाण्डेले बताए। ‘बीपीको लेखनमा आफ्नो ठाउँ र परिवेशको कथा आउनुपर्छ भन्ने थियो’, उनले भने।

बीपी मधेशमा हुर्किएको, कार्य क्षेत्र मधेश नै भएको, बनारस बसेको, विहार, कोशीजस्ता ठाउँमा बिताएको भएर पनि आख्यानमा मधेशको केही पात्र आएको उनले बताए। ‘आफ्नो हुर्काइ पनि मधेशमै भएकोले केही प्रभाव परेको हो’, उनले भने, ‘बीपीले अझै मधेशका बारेमा लेख्नुपर्ने थियो।’ पाण्डेको बुझाइमा बीपीको साहित्यमा मधेश र त्यहाँको जनताको कुरा कम आएको छ।

‘मधेशतिर’ कथामा त्यतिबेला पहाडको समाजले मधेशलाई कसरी हेरेको छ भन्ने आँखीझ्यालका रूपमा आएको बीपीले लेखेको उल्लेख गरे। बीपीका थोरै कथाले पनि समृद्धिको आधार, आश्रय दिनेजस्ता कथालाई स्थापित गरिदिएको भनेर बुझाएको तर मधेशका समस्या कथामा नलेखेर अन्याय गरेको तर्क पाण्डको छ।

त्रिविका हिन्दी प्रमुख प्राध्यापक सञ्जिता बर्माले पनि बीपीको हुर्काइ मधेशमै भए पनि कृतिमा मधेशको वर्णन नआएको बताइन्। लामखुट्टे, कालाजार र मलेरियाको रूपमा परिचित मधेशलाई मोदी आइन र नरेन्द्र दाइजस्ता कृतिले चिर्न खोजेको छ’, उनले भनिन्, ‘बीपीले दोषी चश्मामा मधेशमा आउने बाढी प्रकोपलाई उठाएका छन्। पहाडबाट मानिस रोजगाार र गर्मी छल्नका लागि तराई बसाइँ सर्ने यथार्थ उतारेका छन्।’

मधेशका महिलालाई बीपीले असभ्य तरिकाले उजागर गरेको बर्माले बताइन्। उनले भनिन्, ‘बीपीले मधेशको संस्कृतिलाई भुलेर यौन मनोविज्ञानलाई जोड दिएका छन्।’

‘नेपाललाई विश्वव्यापी परिचय गराउने बीपी’

तेस्रो सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रदीप ज्ञवाली, अध्येता इन्द्र अधिकारी, पत्रकार सुधीर शर्माले ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा छलफल गरेका थिए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पनि आदर्श व्यक्ति भएको बताए। उनले भने ‘मार्क्स र गान्धीको विचारबाट प्रभावित भएका बीपीको विचारमा मार्क्सवाद र गान्धीको आर्थिक समाजवाद र अहिंसावादी व्यवहार झल्किन्छ। बीपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन्।’

भट्टराईले बीपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको रहेको स्मरण गदै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले संकटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर नेपाल आएको बताए।

भट्टराईले बीपीले राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको औँल्याए। उनले बीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताए। उनले नेपालमा दलहरुबीच कुर्सीमा बहेक सहमति नजुट्नु दुर्भाग्य भएको टिप्पणी गरे। उनले भने, ‘कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर बीपी भन्नुहुन्थ्यो।’

नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले बिपीको व्यक्तित्व अन्तराष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित अनि अतुलनीय थियो भन्दै बीपी पटनाबाट नेपाल आउँदा होस वा राजाले प्रधानमन्त्रीबाट हटाउँदा उनको पक्षमा जनसमर्थन र अन्तर्राष्ट्रिय समर्थन व्यापक रहेको बताए।

डा. खड्काले भने, ‘राजा महेन्द्रले बीपीलाई अपदस्त गरेपछि संयु्क्त राष्ट्रसंघको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नेबेल प्राइज विजेताले विरोध गरेको घटना ऐतिहासिक छ।’ खड्काले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेस गर्ने बीपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रको महत्त्वपूर्ण योगदान भएको बताए। खड्काले भने, ‘नेपालमा हालका राजनीतिक दल र नेताले परराष्ट्र क्षेत्रलाई प्राथमिकता नदिँदा, देशमा भ्रष्टाचार वृद्धि भएको, भद्रगोल र अस्थिरता देखिँदा नेपालले अन्तर्राष्ट्रिय फोरममा आफ्नो भनाइ राख्न सकेको छैन।’

महोत्सवका सहभागीहरू।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सम्वन्ध राख्दा भारतविरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनु पर्दैन भनेर लिएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय रहेको बताए। ज्ञवलीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिकभन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई बीपीले अस्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताका पक्षमा देखिने दोधारमा हुँदा बीपीले राष्ट्रियतालाई प्राथमिकता दिएको बताए।

उनले बीपीसँगको राजनीतिक लाईनमा समर्थन जनाउन नसकिए पनि कूटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्ने बताए। कूटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले बीपीले संयुक्त राष्ट्रसंघको १५औँ साधारणसभामा दिएको अभिव्यक्तिले उनलाई विश्व जगतमा चिनाएको बताइइन्। ‘बीपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकसित देशमा परिरहेकोले धनी र ठूला राष्ट्रले विकासशील राष्ट्रलाई सहयोग गर्नुपर्छ भनेर माग गरेका थिए’, उनले भनिन्, ‘सो अभिव्यक्तिबाट बीपीको उचाइले एक्कासि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो।’

‘समय सान्दर्भिक साहित्य स्रष्टा बीपी’

‘युवा स्रष्टामा बीपी पठन’ शीर्षकको विमर्शमा साहित्यकारहरू बुद्धि सागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराई र पत्रकार वसन्त बस्नेतले बहस गरेका थिए। साहित्यकार जोशीले युवामाझ बीपी जटिल देखिने बताए। ‘युवाहरुले प्रेमकथा धेरै मन पराउँछन्। उनीहरुलाई बीपी जटिल लाग्छन्’, जोशीले भने।

आफूले किशोर अवस्थामा बीपीको ‘आत्मकथा’ पढ्दा अदभूत क्षमता, चमत्कारी बालकका रूपमा पाएको उनले स्मरण गरे। ‘बीपीको कृति पढिरहँदा सामान्य समाज र पारिवारिक कुरालाई कला भरेर साहित्यको रूप दिन सकिँदो रहेछ भनेर बुझेँ र त्यसैबाट प्रभावित पनि भएँ’, जोशीले आफ्नो लेखनका प्रारम्भिक दिन सम्झिए।

साहित्यकार सरस्वती प्रतीक्षाले बीपीका कृति जति पढ्यो उति उनलाई बुझ्न सकिने बताइन्। उनले बीपीको ‘सुम्निमा’ आफूले तीनपटक पढेपछि मात्र उनलाई बुझ्न सकेको अनुभव सुनाइन्। ‘तेस्रोपटक पढ्दा जीवनदर्शन, मानवीय समाजको सूक्ष्म दर्शन पाएँ’, उनले भनिन्। बीपीका कृति समय सान्दर्भिक रहेको, सदाबहार र नौलो साहित्यकार भनेर नयाँ पुस्ताले चिन्न सक्ने खालको रहेको उनको भनाइ छ। यस्तै बीपीका कृतिले विद्रोह गर्न सिकाएको पनि प्रतीक्षाले बताइन्।

साहित्यकार बुद्धिसागरले पाठ्यपुस्तकमा बीपीलाई पढ्दा सुरुमा बुझ्न नसकेको बताए। उनले बीपीलाई आख्यानमा विश्वसाहित्य राम्रोसँग बुझेका साहित्यकारको रूपमा परिचित गराए। ‘बीपी पुस्तान्तरण भइरहने साहित्यकार हुन्’, उनले भने।

साहित्यकार सुविन भट्टराईले एलएलसीपछि बीपीका प्रायः आख्यान पढेको सुनाउँदै जति पढे पनि कोइरालाको लेखन नयाँ लाग्ने बताए। साहित्यकार कोइरालाप्रतिको श्रद्धा, प्रेम भावुकता र सम्मानको दृष्टिले आफूले कोइरालालाई ‘मानसपिता’ भनेका पनि उनले स्मरण गरे।

३० जना गजलकारको प्रस्तुति

सोमबारको साँझ गजल साँझको रूपमा रह्यो। त्यस अवसरमा ३० जना गजलकारले गजल प्रस्तुत गरेका थिए। विभिन्न सत्रहरुको बीचमा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएका थिए। पार्टीको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको कांग्रेसले जनाएको छ। महोत्सवका वक्ता, लाइभ आर्टका चित्रकार र गजलकारहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

मंगलबार बिहान ९ बजेदेखि १०:५० बजेसम्म ‘तीन घुम्ती’ चलचित्र प्रदर्शन गरिनेछ। बिहान ११ देखि १२ बजेसम्म चल्ने ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ सम्भाषणमा वक्ताका रूपमा केदारभक्त माथेमा र सहजीकरणमा डिल्लीराम सुवेदी रहनेछन्। त्यसैगरी १२:१० देखि १:१० बजेसम्म सञ्चालन हुने ‘समावेशिता, सामाजिक रूपान्तरण र बीपी’ शीर्षकमा चित्रलेखा यादव, आहूति र मोहना अन्सारी वक्ताका रूपमा रहनेछन्। लाइभआर्ट भने भीषण राजभण्डारीले गर्नेछन्।

अपराह्न १:२० देखि २:२० सम्म सञ्चालन हुने ‘समय र सबार्ल्टन’ मा शिव रिजाल, तारालाल श्रेष्ठ र धनकुमारी सुनार वक्ताका रूपमा रहनेछन्। लाइभ आर्ट नरबहादुर विकले गर्ने कार्यक्रम छ। २:३० देखि ३:४० सम्म चल्ने ‘बीपीका आख्यानमा नारी’ सत्रमा नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी वक्ताका रूपमा रहनेछन्। लाइभ आर्ट सुनिता थापा रहनेछिन्।

अन्तिम सत्र ३:५० देखि ५ बजेसम्म सञ्चालन हुनेछ। ‘परिवारले बुझेका बीपी विचारको सत्रको वक्ताका रूपमा पार्टीका केन्द्रीय सदस्यहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहनेछन्।

साहित्य महोत्सवमा बीपीलाई कसले कसरी चिनाए?

प्रकाशित: २५ भदौ २०८० २२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =