कांग्रेस मुख्यालयमा तीनदिने बीपी साहित्य महोत्सव [तस्बिरहरू]

दिपेश श्रेष्ठ २४ भदौ २०८० १३:२५
6
SHARES
कांग्रेस मुख्यालयमा तीनदिने बीपी साहित्य महोत्सव [तस्बिरहरू]

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा तीनदिने ‘बीपी साहित्य महोत्सव’ आयोजना गरिएको छ। महोसत्वको उद्घाटन कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। उनले बीपी कोइरालाबारे नयाँ पुस्तालाई जानकारी दिन यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए।

महोत्सवमा प्रा. अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनबारे प्रस्तुति दिएका छन्। यस्तै पहिलो दिन आइतबार बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य विषयमा विभिन्न विज्ञ व्यक्तित्वहरूले प्रस्तुति दिनेछन् भने साँझ २० जना कविले कविता वाचन गर्ने कार्यक्रम छ।

दोस्रो दिन २५ गते आनन्द कुमारले ‘मार्क्स, गान्धी र बीपी क्वेस्ट फर डेमोक्रेसी सोसलिज टुडे’ शीर्षकमा विशेष प्रवचन दिनेछन्। त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन विषयमा छलफल हुनेछ। त्यस साँझ ३० जना गजलकारले गजल वाचन गर्ने कार्यतालिका छ।

तेस्रो दिन २६ गते केदारभक्त माथेमाले ‘बीपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला’ भन्ने विषयमा प्रवचन दिनेछन्। त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबार्ल्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी विषयमा विज्ञहरूबीच छलफल हुनेछ। सोही साँझ प्रसिद्ध सांगीतिक समूह कुटुम्बको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ।

महोत्सवमा फाइन आर्टका मूर्धन्य व्यक्तित्वहरूबाट प्रत्यक्ष कोरिएका चित्र प्रदर्शन हुनेछन्। यस्तै महोत्सवमा हाइज्याकिङ फर डेमोक्रेसी, वीर गणेशमान, तीन घुम्तीजस्ता वृत्तचित्र प्रदर्शनी गरिनेछ। साथै ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको समन्वयमा भएको हो।

 

 

प्रकाशित: २४ भदौ २०८० १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =