भोजपुरका किसान चिराइतो खेतीतर्फ आकर्षित

हिमाल प्रेस २३ भदौ २०८० १४:५०
4
SHARES
भोजपुरका किसान चिराइतो खेतीतर्फ आकर्षित

भोजपुर- भोजपुरका किसानको रोजाइमा चिराइतो खेती परेको छ। बहुउपयोगी जडीबुटी चिराइतो खेती मकै आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि बढी हुने भएपछि किसानको रोजाइमा परेको हो।

चिराइतो बिक्रीबाट वार्षिक १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय किसान देवेन्द्र राउतले बताए। यस वर्ष आफ्नो बारीमा करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन हुने उनको भनाइ छ।

राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताए। ‘हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक चिराइतोको खेती गर्दै आएका छन्,’ उनले भने, ‘अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ।’

उनले यस वर्ष बजार मूल्य राम्रो भएमा १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको बताए। किसानले २० देखि ५० मन चिराइतो उत्पादन गर्दै आएका राउतको भनाइ छ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन्। लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ।

चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरू बताउँछन्। विगतको तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताए। ‘यसबाट राम्रो आम्दानी लिँदै आएको छु,’ उनले भने, ‘बर्सेनि मूल्यमा वृद्धि भइरहेको छ। त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन्।’

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा संकलन गर्नयोग्य हुने बस्नेतको भनाइ छ। आलु, मकैबाट वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा सोही बारीमा चिराइतो खेती गर्दा पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उनको भनाइ छ।

यस खेतीका लागि तालिम तथा आवश्यक ज्ञान पाएमा अझ प्रभावकारी हुने बस्नेतको भनाइ थियो। कृषकले चिराइतोलाई भदौ, असोज र कात्तिकमा संकलन गर्छन्। पछिल्लो समय यसको बजार मूल्य बढ्दै गएपछि धेरै किसान यस खेतीप्रति आकर्षित भएका कृषक गुणराज राउतले बताए।

‘विगत लामो समयबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु,’ उनले भने, ‘मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ।’ एकपटक संकलन गरेर बिक्री गरेपछि सानो बिरुवा उत्पादन योग्य हुन समय लाग्ने उनको भनाइ छ।

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगको लागि औषधिका रूपमा चिराइतो प्रयोग गर्न सकिने यहाँका किसानको विश्वास छ। किसानहरूका अनुसार यसको पात, डाँठ, जरा लगायत सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ। यहाँको चिराइतो भारत, चीन र बंगलादेश निर्यात हुने गरेको व्यवसायीहरूको भनाइ छ। रासस

प्रकाशित: २३ भदौ २०८० १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =