अमेरिकी नागरिकता लिएर मानव तस्करी गर्ने गौतम प्रहरीको फन्दामा

हिमाल प्रेस २३ भदौ २०८० १४:२०
24
SHARES
अमेरिकी नागरिकता लिएर मानव तस्करी गर्ने गौतम प्रहरीको फन्दामा

काठमाडौँ- रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका रुकुमका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी मानव बेचविखन गर्ने गरेको पाइएको छ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा मानव तस्करका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिकता लिएका ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाएको खुलेको हो।

अमेरिका पठाउने क्रममा गौतमले २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको ब्युरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। उनको सुरुवाती घर भने रुकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड रहेको खुलेको छ।

गौतमका सहयोगी कमल तामाङसहितका तीन जनाविरुद्ध भने यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्युरोले अनुसन्धान थालिसकेको छ। उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई ५ जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (यूएई), सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलंका, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ।

उनीहरूबाट पीडित बनेका ४ जनाको उद्धार गरिएको छ। अझै २ जनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए। ‘बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी छ,’ उनले भने।

अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको प्रहरीको भनाइ छ। गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्‍याइ राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए।

एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचविखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ। गौतममाथि मानव बेचविखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस

प्रकाशित: २३ भदौ २०८० १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =