तस्करले सिध्याउन लागे रेडपाण्डा

हिमाल प्रेस १८ मंसिर २०७९ १५:३१
12
SHARES
तस्करले सिध्याउन लागे रेडपाण्डा

बागलुङ– विश्वमै दुर्लभ  हाब्रे (रेडपाण्डा) जोगाउन समस्या भएको छ। तस्करहरूले चोरी सिकारी गरेका कारण पश्चिम म्याग्दीको विभिन्न ठाउँमा पाइने रेडपाण्डाको संख्या यतिबेला निकै घटेको छ।

धौलागिरि गाउँपालिकाको गुर्जा, मुदी र लुलाङका जंगलमा पाइने हलुका रातो, सेतो र कालो रङको रेडपाण्डा यतिबेला निकै घटेका छन्।

जंगलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेरसमेत रेडपाण्डा सिकार गर्ने गरेका छन्। पाँच वर्षअघि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो।

उक्त अभियानले दुई वर्षयता निरन्तरता पाउन नसक्दा चोरी सिकारी गर्ने क्रम बढेको स्थानीय जसवीर विकले बताए। रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताले स्थानीयवासीलाई यसबारे जानकारी गराउनुको साथै वासस्थानसमेत देखाएपछि स्थानीयवासी यसको संरक्षणमा लागेका थिए।

धौलागिरि गाउँपालिका १ का वडाध्यक्ष झक छन्त्यालका अनुसार सिकारीले सिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएका स्थानमा रतुवा, घोरल, मृग, बँदेलसहित लोपोन्मुख रेडपाण्डाको सिकार गर्ने गरेका छन्।

‘रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा कडाइ गर्दै आए पनि यसको कडाइका साथ पालना भएको देखिँदैन,’ उनले भने।

पश्चिम म्याग्दीका जंगलमा प्रारम्भिक अनुसन्धानमा ५ वटा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा झण्डै २० वटा रेडपाण्डा रहेको अनुमान गरिएको छ।

समुद्री सतहबाट २ हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ।

निगालोको टुसा खाएर बाँचने रेडपाण्डासहित अन्य वन्यजन्तुको तस्करी नियन्त्रणका लागि धौलागिरि गाउँपालिकाकाले स्थानीयवासीलाई सहयोग गर्दैआएको गाउँपालिका अध्यक्ष प्रेम पुनले बताए।

म्याग्दीका साथै नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ, बागलुङलगायत जिल्लामा रेडपाण्डाको बासस्थान रहेको अनुसन्धाता सरोज श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १८ मंसिर २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =