विकासको असफल उदाहरण

सात वर्षमा पनि पूरा भएन ३.५ किमि सडक, ठेक्का रद्द

विनोद परियार २८ वैशाख २०८१ ११:२०
18
SHARES
सात वर्षमा पनि पूरा भएन ३.५ किमि सडक, ठेक्का रद्द

लुम्बिनी- नेपालमा विकास निर्माणको अवस्था कस्तो छ? निर्माण व्यवसायीहरुले कसरी काम गर्छन्? भन्ने असफल उदाहरण बनेको छ बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किमि सडकखण्ड। ३० महिनामा पूरा गर्ने ३.५ किमि सडक पटकपटक म्याद थप्दा पनि पूरा नभएपछि अन्ततः ठेक्का सम्झौता रद्द गरिएको छ।

बुटवल राजमार्ग चौराहादेखि गोलापार्कसम्मको सडक निर्माण कम्पनीले काम नगरेपछि ठेक्का सम्झौता रद्द गर्नुपरेको सडक डिभिजन बुटवलले जनाएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक द कञ्चनजंघा/बिरुवा जेभीले २०७३ चैत १२ मा ३० महिनामा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। २०७१ फागुन ४ गतेको सूचनाअनुसार बिरुवा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको हो। आइतबार (वैशाख २३) मा सूचना निकाल्दै ठेक्का रद्द गरिएको डिभिजन बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए।

बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको तीन किलोमिटर तथा बेलहिया–भैरहवाको सुनौतीमा ७५० मिटर सडकको ठेक्का रद्द गरिएको हो। २०८० चैत ३० मा ठेक्का अन्त्य गर्ने आसयको पत्र पत्राचार गरिएकोमा निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको र कार्य सम्पन्न गर्न सक्ने अपडेट वर्क सेडुअल, स्रोत परिचालनको भरपर्दो योजना एंव प्रतिबद्धतासहित उपस्थित हुन आग्रह गरिए पनि तदारुकता नदेखिएपछि ठेक्का तोडिएको सडक डिभिजन बुटवलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) र (८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ। ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ८ प्रावधानबमोजिम कार्यसम्पादन जमानत, धरौटीबापतको रकम र यसअघि पेस्की जफत नगरेको भए पेस्की रकम जफत गरिनेछ’, सूचनामा भनिएको छ।

२०७३ सालमा सुरु भएको बुटवल बेलहिया व्यापारिक मार्गको काम पटकपटक म्याद थप्दासमेत ठेकेदार कम्पनीले सम्पन्न नगरेपछि ठेक्का तोडेर नयाँ प्रक्रियामा प्रवेश गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख विसुन दास लामाले बताए। समयमै काम नगर्ने कञ्चनजंघा–बिरुवा जेभी र बिरुवा कन्ट्रक्सन कम्पनी प्रालिलाई कालो सूचीमा राख्ने तयारी गरिएको समेत उनले बताए।
बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकका कारण बुटवलको मुख्य बजार क्षेत्र ७ वर्षदेखि धुलाम्मे र हिलाम्मय बन्दै आएको थियो।

यस अवधिमा तीन पटक म्याद थप गरिए पनि सडकको काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ। बुटवल राजमार्ग चौराहादेखि गोलपार्क र बेलहियाको ५५० मिटरको गरी क्रमशः २७ करोड र ९ करोड बजेट निर्माण कम्पनीले निकासा लगेको छ।

जनप्रतिनिधि र स्थानीयको पटकपटकको ताकेतापछि सडकको मेन क्याजवेयमा लेभल मिलाउने पिच मात्रै भएको छ। तर साइडकै काम अधूरै छ। सडकका कारण कैयौँ व्यापारीहरु विस्थापित भएका छन्।

२०७६ असोजमा काम पूरा गर्ने गरी सम्झौता भए पनि सुरुको दुई वर्ष स्थानीयहरुको विरोधका कारण काम रोकिएको थियो। २०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिला पटक म्याद थप भएको थियो। सो अवधिम पनि काम पूरा नभएपछि निर्माण कम्पनीका निवेदनअनुसार दोस्रो पटक म्याद थप भयो।

२०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो। साढे तीन किलोमिटर सडक विस्तारको कामका लागि सुरुमा ४७ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको थियो। निर्धारित समयमा निर्माण पूरा नभएपछि लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँ कायम गर्ने सम्झौता भएको थियो।

अन्तिम पटक २०८० असार २९ गतेसम्म शतप्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धतासहित ठेकेदार कम्पनी बिरुवा जेभीले सडक डिभिजन कार्यालय बुटवललाई कार्ययोजना पेस गरेको थियो। तर काम पूरा नगरेपछि ठेक्का सम्झौता रद्दको प्रक्रियामा गएको हो। अब छिट्टै प्रक्रिया मिलाएर पुनः नयाँ ठेक्का आह्वान गर्ने इन्जिनियर एवम् सूचना अधिकारी लम्सालले बताए।

बुटवल उपमहानगरको चासो, रिडिजाइन गर्न सुझाव

राजचौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण ठेक्का सम्झौता रद्द भएपछि बुटवल उपमहानगरपालिकाले पुनः डिजाइन गर्नका लागि कार्यदल गठन गरेको छ। उमहानगरपालिकाले सडक डिभिजन कार्यालय बुटवलका प्रमुखसहित सरोकारवाला निकायलाई बोलाएर सडक निर्माणलाई आवश्यक सहजीकरण गर्नका लागि नगरप्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा कार्यदल गठन गरको हो।

सडक डिभिजन कार्यालय बुटवल, नेपाल खानेपानी संस्थान,नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमका कार्यालय प्रमुख सदस्य र उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्य सचिव हुने गरी कार्यदल गठन गरिएको हो।

कार्यदलले सडकको केन्द्रबिन्दुदेखि प्रत्येक साइडतर्फ पैदलयात्रीका लागि तीन मिटर चौडाको फुटपाथ निर्माण, साइकल यात्रीका लागि दुई मिटरको साइकल लेन निर्माण, प्रति २०० मिटर लम्बाइतर्फ प्रति ७० मिटर लम्बाइमा हल्का सवारी पार्किङ र प्रति ३० मिटर लम्बाइमा पार्क तथा सौन्दर्य गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। यस्तै प्रत्यक पार्क र साइड सडकमा स्ट्रिट लाइट जडान, सडक फर्निसिङ्ग ट्राफिक संकेत, डिभाइडरमा टल्किने स्टिकर र सौन्दर्यकरणका लागि पेन्टिङ गर्ने निर्णयमा उल्लेख गरिएको छ।

यस्तै ट्राफिक चोक र गोलपार्क, बहुमुखी क्याम्पसमा आकाशे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने, राजमार्ग चौराह र हस्पिटल लाइनमा चारमुखे आकाशे पुल निर्माण गर्नका लागि कार्यदलले सहजीकरण गर्ने भएको छ। यस्तै दूरसञ्चारको तार व्यवस्थापन र अनावश्यक पोल हटाउने, सम्भव भएका स्थानहरुमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने, खानेपानीका पाइप लाइन व्यवस्थित गर्नको लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिक चोक, अमरपथ, संगमपथ, रामन्दिर लाईन, चौराहा र मिलन चोकको बजार प्रभावित हुन पुगेको उनले बताए।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बुटवल बजारलाई असर नपर्ने गरी सडकको डिजाइन गरिनुपर्ने बताए। उनले बुटवलमा बजार विस्तार भएपछि बल्ल सडक आएको ऐतिहासिक तथ्य रहेको बताउँदै बजारलाई असर नगर्ने गरी अब सडक निर्माण गर्नुपर्ने सुझाव दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =