‘एमसीसी सम्झौता दुर्भाग्यपूर्ण मात्रै होइन, नेपालको निधारमा कालो टिका पनि लगाए’

हिमाल प्रेस ११ भदौ २०८० १६:१०
22
SHARES
‘एमसीसी सम्झौता दुर्भाग्यपूर्ण मात्रै होइन, नेपालको निधारमा कालो टिका पनि लगाए’ फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सम्झौता गर्नु नै देशका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। सोमबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा खनालले एमसीसी सम्झौता गरेर नेताहरूले नेपाल देशको निधारमा कालो टिका लगाएको बताएका हुन्।

‘यो एमसीसी सम्झौता नेपालको लागि दुर्भाग्यपूर्ण सम्झौता मात्रै होइन, नेपालका केही नेताले नेपालको निधारमा लगाएको कालो टिका पनि हो। यसले धेरै नकारात्मक असर गर्छ। नेताहरूले त्यो कुरा देख्न सकेनन्’ उनले भने।

उनले आफूलाई एमसीसी सम्झौताको विषयमा थाहै नदिइएको पनि दाबी गरे। एमसीसीको विपक्षमा एमाले नेता भीम रावल खरो उत्रिएको भन्दै उनले प्रशंसा पनि गरे।

‘एमसीसी सम्झौता भएको कुरा हामी कसैलाई थाहा थिएन। म पनि पार्लियामेन्टमा नै थिएँ, २०१७ सालमा सम्झौता भएको रहेछ। त्यो सम्झौता पनि अर्को सरकार आएपछि सुरुमा संसदमा ल्याउनुपर्ने भन्ने पनि रहेनछ,’ खनालले भने, ‘जब संसद्‌मा आउने कुरा भयो, स्वभाविक रुपमा संसद्‌मा आउने कुनै पनि विषयवस्तुमा अध्ययन नगरी निर्णय दिने कुरा आउँदैन। अमेरिकासँग यो सम्झौता भएको भन्ने सुन्नेबित्तिकै विशेषरुपले ध्यानाकर्षण गरेँ। मलाई राम्रोसँग साथ दिनुभएको साथी भनेको भीम रावल हुनुहुन्छ।’

प्रकाशित: ११ भदौ २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =